Worldlink ads

शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
shaligrams-stone

रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् ।

दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्षण गरेर राख्न थालेका छन् । हिजोआज शालिग्रामको चर्चा संसारभरि हँुदै जाँदा यसको महत्व बुझ्न थालेपछि स्थानीयवासीले नदी किनारमा खोजेर संरक्षण गरेर राख्ने गरेको पाइएको छ ।

रामपुरको धार्मिक क्षेत्र रामघाटमा करिब पाँच हजारको सङ्ख्यामा शालिग्राम सङ्कलन गरेर राखिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष वृद्धिप्रकाश रेग्मीले बताउनुभयो । “धार्मिक नगरी रामघाट क्षेत्रलाई शालिग्राम संरक्षण क्षेत्र र शालिग्रामको महत्व अबका पुस्तामा चिनाउन कालीगण्डकीको तिरमा फेला परेका शालिग्राम शिला बटुलेर यहाँ ल्याएर राख्ने गरिएको छ, स्थानीयवासी तथा धार्मिक अगुवाले पनि आफूले फेला पारेका शालिग्राम यहाँ लिएर आउनुहुन्छ”, उहाँले भन्नुभयो ।

स्थानीय जोकोहीले पनि बाटोमा यात्रा गर्ने क्रममा होस् या नदी किनारमा स्नान गर्न जादा, धार्मिक तीर्थस्थलमा पुग्दा फेला परेका शालिग्रामलाई नदीसँग जोडिएका धार्मिक तीर्थस्थलमा बुझाउने गरेका छन् । रामपुर नगरपालिका– १ स्थित टापुधाम क्षेत्रमा शालिग्राम संरक्षण गर्न सङ्ग्रहालय नै स्थापना गरिएको छ । यहाँ पर्यटन बोर्डबाट रु पाँच लाख र रामपुर नगरपालिकाबाट रु पाँच लाख सहयोगमा सङ्ग्रहालय निर्माण गरी अहिले शालिग्रामलाई सुरक्षित साथ राखिएको छ ।

स्थानीयवासीको सक्रियतामा नदी किनारमा खोजेर सङ्ग्रहालयमा शालिग्राम ल्याएर राख्न थालिएको समितिका अध्यक्ष रत्ना थापाले बताउनुभयो । “सङ्ग्रहालय बनाउन थालेपछि दुई÷चार दिनको समय लगाएर स्थानीयवासी मिलेर कालीगण्डकीको किनारमा पुगेर शालिग्राम खोजेर ल्यायौँ, यस अभियानमा सबैले सहयोग र साथ दिएकाले सङ्ग्रहालय स्थापना गरेर सुरक्षितरुपमा राखिएको छ”, उहाँले भन्नुभयो । हाल यहाँ करिब एक हजार शालिग्राम संरक्षण गरिएको छ ।

यसैगरी कालीगण्डकीकै उत्तरबाहिनी क्षेत्रमा पनि शालिग्राम संरक्षण गरिएको छ । यो सँगसँगै कालीनदीका किनारमा अवस्थित धार्मिक तीर्थस्थलमा प्रायगरी शालिग्राम सङ्कलन गरेर राख्ने गरिएको छ । शालिग्राम भगवान्को अवतार हो भन्ने जनविश्वास छ । शालिग्रामले कालीगण्डकी नदीको छोरा बन्न पाउँ भनेर आशीर्वाद पाएको किंवदन्ती छ । त्यस्तै श्रीस्वस्थानी व्रतकथामा पतिव्रता बृन्दाले श्राप दिएकाले भगवान् विष्णु कालन्तरमा शालिग्राम बन्नु परेको उल्लेख छ । त्यसैले शालिग्राम भगवान्को अवतार हो भन्ने हिन्दू धर्ममा आस्था राख्नेको विश्वास रहेको पाइन्छ ।

शालिग्रामको विशेष महिमा रहेकाले यसको नित्य पूजा गर्नाले पनि करोडौँ यज्ञको फल मिल्ने धार्मिक विश्वास रहिआएको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “शालिग्रामको महत्व रहे पनि यसलाई पहिचान गर्न नसक्दा त्यत्तिकै खेर गइरहेको छ, हिजोआज भने यसको महत्वलाई बुझेर युवापुस्ताले पनि संरक्षण गर्नुपर्छ भनेर लागेको देखिन्छ ।” भिन्नभिन्न चक्र र आकृतिकअनुसार भगवान्का भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ ।

शालिग्रामको महत्व

कालीगण्डकीको किनारमा पाइने ढुङ्गा । औसतका ढुङ्गाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्री भागमा सुन लगायत धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुङ्गा शालिग्राम हो । चार रङमा पाइने शालिग्राम कालोको महत्व छ । जसलाई हिन्दू धर्मावलम्बीले पुज्छन् ।

चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचार भएकोसमेत देखिन्छ । दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएकी कालीको सङ्गम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा पाइने भएकाले शालिग्राममा अदृश्य शक्ति रहेको स्पष्ट हुने धार्मिक अगुवाको भनाइ छ । शालिग्रामलाई जिउँदो भगवान्का रूपमा पुजिने गरिन्छ । शालिग्रामको महत्व नेपालमा मात्र नभई भारतलगायत संसारभर बढिरहेको छ । शालिग्रामप्रति हिन्दू मात्र नभई संसारका बौद्ध धर्मावलम्बीले पनि पूजा गर्छन् ।

शालिग्राम नदीको निरन्तर कटानपछि बन्ने शालिग्राम ढुङ्गा मात्र होइन । धातुको चक्रसहित विभिन्न रङका हुन्छन् । विश्वमै कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने दाबी छ । कालो, सेतो, निलो र पहँेलो रङको भए पनि कालो शालिग्रामलाई विश्वभरका मानिसले पूजा गर्छन् । हिन्दू संस्कृतिमा पाञ्चायन पूजादेखि हरेक क्षेत्रमा शालिग्रामको प्रयोग हुने र गण्डकीको किनारमा जन्मेका लाखौँ मानिसले शालिग्राम नदेखेको र कतियपले देखेर पनि महत्व नबुझेर पनि त्यत्तिकै खेर गइरहेका छन् ।

शालिग्राम दुई प्रकारका हुन्छन् । चिल्ला र खस्रा । पानीमा भएका चिल्ला र जमिनमा भेटिने खस्रा हुन्छन् । यो बन्न लाखौं वर्ष लाग्छ । पछिल्लो समय शालिग्रामको चोरी तस्करी, बेचबिखनमा वृद्धि भएको छ । यसलाई फोडेर धातु मात्र जम्मा पारेर औँठी, मालाजस्ता वस्तु बनाएर लाखौँमा बेच्छन् । सिङ्गो शालिग्रामकैरूपमा पूजा गर्न खरिद गर्ने पनि छन् । भारतका अधिकांश स्थानमा महँगो शुल्क तिरेर शालिग्राम किनबेच हुन्छ । रासस

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग