विश्व हिन्दु महासंघमा विवाद

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
Hindu Sangh Photo

पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ गर्ने भनिएपछि महासंघ फुटको संघारमा पुगेको छ ।
गत वैशाख ८ गते विश्व हिन्दु महासंघ र विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको नेपाल समितिबीच एकीकरण घोषणा गरिएको हो । नेपालका सबै हिन्दु धर्मावलम्बीहरूलाई गोलबन्द गर्दै नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग राख्दै उनीहरु एक भएका थिए । कात्तिक ८ गते महासंघका मानार्थ सभापति राजेन्द्रकुमार भण्डारी पक्षले पोखरामा महायज्ञ आयोजना गर्ने बताएको छ । यससम्बन्धी असोज २४ गते पत्रकार सम्मेलन गरेर जानकारी समेत जानकारी गराएको थियो ।
सञ्चार माध्यममार्फत् विश्व हिन्दु महासंघले महायज्ञ गर्ने जानकारी पाएपछि कार्यकारी सभापति डा. रामचन्द्र अधिकारी पक्षले सशक्त विरोध गरेका छन् । भण्डारी पक्षले विश्व शान्ति र धर्म रक्षाका लागि महायज्ञ आयोजना गरिएको जनाएको छ भने महासंघका अधिकारी पक्षले भने पत्रकार सम्मेलन नै गरेर कानुनी उपचार खोज्ने चेतावनी दिएको छ । यो पक्षले संस्थालाई आँच आउने कुनै पनि हर्कत सह्य नहुने बताए । अधिकारीले पक्षले कात्तिक १ गते विज्ञप्ति जारी गरेरै विरोध जनाएका छन् । उनले महायज्ञका विषयमा भ्रम नछर्न महासंघको स्वीकृति बिना कुनै गतिविधि नगर्न आग्रह गरेका छन् ।
अधिकारी पक्षको विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन संस्थाको नाममा कुनै महायज्ञ नगरिएको जनाएको छ । सक्रिय संस्थाको नाम राखेर महायज्ञ आयोजना गरिएको भन्दै प्रचार गरिएकोप्रति संस्थाले आपत्ति प्रकट गरेको छ । संस्थाकी अध्यक्ष पार्वता पौडेलले आफूहरु पवित्र कार्य महायज्ञको विरोधी नभए पनि संस्थाको नाम नै राखेर प्रचार गरिएपछि बाध्य भएर विरोध गर्नुपरेको बताइन् । यस विषयमा कानुनी उपचार खोज्नका लागि आफूहरु आइतबार प्रशासनमा जाने उनले स्पष्ट पारिन् । अध्यक्ष पौडेलले संस्था दर्ता र आधिकारिताबारे पनि चर्चा सुरु भएकाले यस विषयमा बहस गर्न आवश्यक नभएको बताइन् । क्रियाशील संस्था महासंघले महायज्ञ आयोजना नगरेको स्पष्ट पार्दै अध्यक्ष पौडेलले यसमा भ्रममा नपर्न आग्रहसमेत गरिन् ।
राष्ट्रिय ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायण अधिकारीले विश्व हिन्दु महासंघलाई पछिल्लो समयमा जुन आरोप लगाइएको छ त्यो आरोप सरासर गलत भएको भन्दै प्रतिवाद गरे । राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पं. तारानाथ आचार्यले हिन्दु धर्ममा सबैतर्फबाट प्रहार हुन थालेकाले सतर्क हुनुपर्ने अवस्था आएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width