Worldlink ads

वर्षा र हावाहुरीले दुई सय हेक्टरको धानबालीमा क्षति

रासस
कार्तिक ६, २०७८

गलेश्वर । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका छवटै स्थानीयतहबाट सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार पाक्नै काटेर खेतमा सुकाएको धान पानीले भिजेर क्षति पुगेको छ भने पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर क्षति पुर्‍याएको छ । “प्रारम्भिक विवरणअनुसार २०० हेक्टर क्षेत्रफलमा क्षति देखिएको छ, थप विवरण पनि सङ्कलन गरिरहेका छौँ”, अधिकृत सिग्देलले बताउनुभयो ।

अधिकृत सिग्देलका अनुसार जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान पाँच दिनसम्मको लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

जिल्लाकारत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए तर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका हुन् ।

त्यसैगरी केन्द्रका अनुसार ५७ हेक्टर क्षेत्रफलको तरकारी खेतीमा पनि क्षति पुगेको छ । यस वर्ष म्याग्दीमा एक हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । दुई हजार ७०५ हेक्टरमा गरिएको कोदो खेतीमध्ये ८३ हेक्टरमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्र्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्र्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । गत वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन भएकोमा धान भित्राउने समयमा भएको मौसमी प्रतिकुलताका कारण उत्पादन घट्ने भएको छ ।

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने ३८८ मिटर लामो र १०० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा पुल निर्माण थालेको हो । रु तीन करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको हो ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो झोलुङ्गेपुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

प्रअ खत्रीका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटकको समेत वृद्धि हुने आशा गरिएको छ । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । “पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ”, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भन्नुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ ।

पुल दुई जिल्लाको मितेरी सीमा हुने सर्वसाधारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषिउपज, दूधलगायतका सामानलाई बजारीकरण र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने स्थानीयको विश्वास रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • बाली स्वास्थ्यसम्बन्धी प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      हेमजा । आइडिई नेपाल, क्याबी प्रालान्ट वाइज, कृषि ज्ञान केन्द्र कास्कीको सहयोग तथा ढिकुरपोखरी सामुदायिक विकास संघ (डिसिडिओ) को आयोजनामा…
    • स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

      रासस मंसिर ११, २०७८
      वालिङ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।…
    • पिँडालु खेतीबाट घर खर्च

      आदर्श समाज सम्वाददाता मंसिर १०, २०७८
      कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित भएका छन् । अन्य खेतीभन्दा पिँडालु…
    • गाेरखामा नमूना ग्रीन हाउस निर्माण

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      गोरखा।  कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने…
    • जलारी समुदायलाई जीविकोपार्जनकै धौ

      श्रीभद्र पौडेल मंसिर ६, २०७८
      हेमजा । पोखरा खपौदीकी ५२ वर्षे पार्वती जलारीलाई व्यवसाय जोखिममा पर्दै गएपछि अबका दिनमा कसरी जीविकोपार्जन गर्ने हो ? भन्ने…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग