आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
nabaraj pahadi Aatnahatya 1

लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले आत्महत्या अमानवीय क्रियाकलाप भएको बताए । उनले मानिसले अचेल पूर्वीय दर्शनका मूल्यमान्यता भुल्दै गएको, बढी भौतिकवादी भएर सुख खोज्ने भएका कारणले पनि मानव जीवन समस्या जेलिने गरेको धारणा राखे । ‘हामीले आफ्नो लागि नभई अरुको लागि बाच्न सिक्यौं भने आत्महत्याका घटना हुने छैनन्,’ उनले भने, ‘नगरपालिका यस्ता कार्यक्रममा समन्वय र सहकार्य गर्न तयार रहेको र त्यसका लागि प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ पत्रकारिता जीवन जिउने कला हो भन्दै उनले अब्बल दर्जाको पत्रकार बन्न सबैमा अनुरोध गरे ।
कोशिस नेपालका मनोपरामर्शदाता सुदीप घिमिरेले आत्महत्या रोकथामका लागि संवेदनशील रिपोर्टिङबारे सञ्चारकर्मीका लागि अभिमुखीकरण विषयक कार्यपत्र पेस गरेका थिए । उनले कोभिडकालमा आत्महत्याका घटना झनै बढेर गएको तथ्यांक पेस गर्दै त्यस्ता घटना न्युनीकरणमा पत्रकारले महत्वपूर्ण भूमिका हुने बताए । उनले आत्महत्याका समाचार लेख्दा अपनाउनु पर्ने सावधानी तथा लेख्न हुने र नहुने विषयमा समेत जानकारी दिंदै पत्रकार आचारसंहिता,२०७३ बारे पनि प्रकाश पारेका थिए । उनले सन् २०३० सम्म सहश्राव्दी विकास लक्ष्य हासिल गर्न सरकारले लिएको लक्ष्य हासिल गर्न प्रतिदिन बढ्दा आत्महत्याका घट्नाले चुनौती थपेको बताए । गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा आत्महत्याका घटना बढी र मनाङमा सबैभन्दा कम रहेको बताए । उनका अनुसार गत वर्ष कास्कीमा १ सय ५५ जना र मनाङमा २ जनाले आत्महत्या गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीत नेपाली, पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष नवराज पहाडी लगायतले राज्य जिम्मेवार ढंगले अघि नबढ्दासम्म यस्ता घटनाहरू न्युनीकरण हुन नसक्ने बताए । उनीहरुले आध्यात्मिक साधना, सत्कर्म तथा जीवनप्रति आशावादी हुने हो भने आत्महत्याका घटना न्युनीकरण गर्न सकिने सुझाव दिए ।
पत्रकार महासंघ जिल्ला अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा कोशिस नेपालका परियोजना संयोजक विष्णु चिलुवालले कोशिसको संस्थागत चिनारी दिए । पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व सदस्य कमला केसी, पत्रकार महासंघका निवर्तमा उपाध्यक्ष कृष्ण आले, महासंघ जिल्ला शाखा उपाध्यक्ष अनुज अधिकारी, जिल्ला सचिव रुद्र ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width