सरकारी जागिरलाई निशुल्क तयारी कक्षा

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
lok sewa~2

वालिङ । वालिङ नगरपालिकाले लोक सेवा आयोगको निशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्युनीकरणमा जोड दिंदै शुक्रबारदेखि स्वास्थ्य सेवातर्फ अहेव/अनमीको एकमहिने निशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो ।
‘मानव संशाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूलनारा आत्मसात गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन थालेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका साथै पहिचानलाई जोगाइराख्न लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेका हौं,’ प्रमुख खाँणले भने, ‘आगामी दिनमा वालिङका नागरिकलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौं ।’
नगरपालिकाले लोक सेवा आयोगले हाल माग गरेको अहेव/अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । गत वर्ष समेत नगरपालिकाले नायब सुब्बा र खरिदारको तयारीका लागि निशुल्करुपमा प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।
‘पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निशुल्करुपमा तयारी कक्षा सञ्चालन गर्‍यौं,’ प्रमुख खाँणले भने, ‘त्यसको उपलब्धि राम्रो देखियो । तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाका लागि कक्षा सञ्चालन सुरु गरेका हौं ।’
नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरुका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख खाँणले जानकारी दिए ।
नगरभित्रका शिक्षित युवा लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गरिन् ।
नगरका शैक्षिक बेरोजगार जनशक्तिका लागि आयोगको तयारीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।
पायोनियर एकजुकेसन एकेडेमीका प्रिन्सिपल मेघराज गैह्रेले वालिङ नगरपालिकाले यहाँका युवा लक्षित गरेर थालेको यो अभियान स्वागतयोग्य रहेको बताए । उनले शैक्षिक योग्यता हासिल गरेर बेरोजगार रहेकाका लागि एउटा अवसर भएकाले मिहिनतसाथ लाग्न पनि सहभागीलाई सुझाव दिए ।
तयारी कक्षा सञ्चालनका लागि काठमाडौं, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रम आधारमा तयारी कक्षा सञ्चालन गरिने पायोनियर एजुकेसन एकेडेमीका प्राविधिक कक्षा प्रमुख हिमनिधि पंगेनीले जानकारी दिए । यो अभियान नगरपालिकामै पहिलो भएको उनको दाबी छ । तयारी कक्षाका लागि प्राप्त आवेदन आधारमा हाल महिला पुरुष गरी ८० जना प्रशिक्षार्थी सहभागी रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width