मन्त्री डोबाटे विश्वकर्मा : न मन्त्रालयमा दाबी, न कसैसँग गुनासो

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७८
dobate (1)

पोखरा । गत साउन ८ मै मन्त्री बन्नुपर्ने डोवाटे विश्वकर्मा गत असोज २५ मा मात्र मन्त्री बने । उनलाई दसैंको मुखमा आएर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् । कांग्रेसभित्र गुटगत विभाजनका कारण यसअघि उनी मन्त्रीको सूचीबाट हटेका थिए । डोबाटे कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । डोवाटे मन्त्री बन्ने चर्चाबीच नियुक्ति नपाएपछि सञ्चारमाध्यमले संवैधानिक व्यवस्थादेखि समानुपातिक समावेशी सिद्धान्तका विषय उठाए । डोबाटे अन्ततः मन्त्रीमा नियुक्त भए । तर मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

‘पहिले नै मन्त्री बन्छु भन्ने लागेको थियो । त्यतिबेला के कुराले मिलेन । अहिले पार्टीले आवश्यकता महसुस गर्यो‍ र मन्त्री बनें,’ शुक्रबार पोखरामा पत्रकारसामु उनले भने, ‘म खुसी छु । कसैसँग मेरो गुनासो छैन । यो पार्टीको आन्तरिक कुरा हो भन्ने लागेको छ ।’

उनलाई मन्त्री नियुक्त गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएको छ ।

उनले पहिले मन्त्री नबनेकोमा गुनासो त गरेनन्, आफूलाई यो मन्त्रालय चाहियो भनेर दाबी पनि देखाएनन् । ‘मुख्यमन्त्रीले जे काममा उचित देख्नुहुन्छ त्यही मन्त्रालयको जिम्मा दिनुहोला,’ उनले भने, ‘मलाई यही मन्त्रालय दिनुस् भनेर दाबी गरेको छैन र गर्दिनँ पनि ।’

उनले मन्त्री बनाउन मिडियाको ठूलो भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘संविधान कार्यान्वयन हो । सबै वर्ग र समुदायको प्रतिनिधित्व संविधानले स्पष्ट गरेको छ । सरकार गठनमा केही कमीकमजोरी भएको हो । मिडियाले त्यो उजागर गरिदियो,’ उनी अघि भन्छन्, ‘धेरै सांसद भएपछि मन्त्रीको रेसमा धेरै हुनुहुन्थ्यो । म धेरै दौडिन सकिनँ र पछि परें । तर मिडियाकै बलले फेरि मन्त्रीमा नियुक्त भएको हुँ । मिडियालाई धन्यवाद छ ।’

उनले मुख्यमन्त्रीको निर्देशनअनुसार काम गर्ने बताए । तर हालसम्म कामको जिम्मेवारीबारे आफूलाई ज्ञान नभएको डोवाटे बताउँछन् । ‘मुख्यमन्त्रीको निर्देशन पालना गरेर काम गर्ने हो । मेरो कुनै असन्तुष्टी र गुनासो छैन । मन्त्री हुने वित्तिकै दसैं लाग्यो । मन्त्रालय आएको २ दिन भयो,’ उनले थपे, ‘जिल्लाको कार्यक्रममा पनि जानै प¥यो । अहिलेसम्म मेरो जिम्मेवारी बुझ्ने मौका पाएको छैन ।’ उनलाई मन्त्री नियुक्त गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएको छ । डोवाटेको सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी भएन । तर आफ्नो नियुक्त सत्ता साझेदार दलको समेत सहमतिमा भएको उनको दाबी छ । उनले आफू प्रदेशको हित र विकासमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।

‘सत्तारुढ सबै दलको केन्द्रीय नेतृत्वसँग समझदारी गरेरै मैले नियुक्ति पाएको हुँ,’ उनले भने, ‘मलाई सबैको साथ र सहयोग छ ।’ डोबाटे अहिले मुख्यमन्त्री कार्यालयकै एउटा कोठामा बसेर दैनिकी बिताइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width