पोखरा। पिर्के पिङमा आवश्यक सबै सामानको नाम कण्ठै छ, स्याङ्जा हरिनास १ स्थित मन्दिरचोक युवा क्लब (हट्टिया) का युवालाई । क्लबका सबै सदस्यले नछुटाई भन्न सक्छन्–मुल खामो, मारुनी, मुल पँखेटा, छोरे पँखेटा, घुर्रा, डाँडी, पिर्का, बाँसको बाँ र ठेडी । ती सामान कहाँ कसरी फिट गर्ने उनीहरुलाई सिकाउनै पर्दैन ।
गत वर्ष कोरोनाका कारण गाउँमा पिङ हाल्न नपाएका युवाले यो साल फूलपातीको अघिल्लो दिन नै पिङ तयार पारे । परम्परा अनुसार फूलपातीको दिन पूजा गरेर मात्र पिङ खेल्ने चलन छ । सोही अनुसार गत वर्षको नियास्रो मेटिने गरी पिङ खेल्नका लागि तयार भयो । आफ्नै गाउँका मात्र नभई पर परका गाउँकाहरु पनि पिङ खेल्न झुम्मिन्छन् । जब पिङबाट ‘चचहुई’ आवाज कानमा ठोक्किन्छ, उनीहरुले पिङ हाल्दा पाएको दुख सबै भुल्छन् ।
आठपिर्के पिङ राख्न क्लब सदस्यको खटाई घटस्थापना अघिदेखि नै हुन्छ । २०६३ सालदेखि पिङ हाल्न सुरु गरेको बताउने क्लबका पूर्व अध्यक्ष लोकेन्द्र मानन्धर सबै काम पूरा गर्न २० दिनभन्दा बढी लाग्ने बताउँछन् । ‘गाउँमा पहिला बाउबाजेले हाल्नुहुन्थ्यो । केही वर्षदेखि रोकिएको काम २०६३ सालदेखि फेरि हामीले सुरु गरेको हौं,’ उनले भने, ‘सबै काठ नयाँ फेर्नु प¥यो भने त एउटा पिङ तयार गर्न २० दिनभन्दा बढी लाग्छ ।’
यो वर्ष पनि १५ दिनसम्म समय लागेको मानन्धरले जानकारी दिए । टाढाटाढाबाट काठ बटुल्नुपर्ने कारण झन्झटिलो भएको उनको भनाइ थियो । तर वर्षमा एक पटक आउने दसैंमा संस्कृति जोगाउन सबैले मन लगाएरै काम गर्ने गर्छन् । दसैंमा हालिएको पिङ उनीहरुले तिहारसम्मै खेल्ने गर्दछन् । तिहारपछि भने अर्को वर्षका लागि सामान स्याहार्छन् र अर्को वर्ष पनि काम लाग्ने भएमा त्यही प्रयोग गर्छन् । पुरानै सामानले काम चलेमा केही सहज हुने नभए सबै नयाँ काम प्रयोग गर्नुपर्ने मानन्धरले जानकारी दिए ।
गाउँका युवा पलायन नभएका कारण पनि काम सम्भव भएको क्लब अध्यक्ष श्रीकृष्ण प्रधानले बताए । ‘अरु ठाउँमा त लोप भइसके यस्तो पिङ,’ प्रधानले भने, ‘पढ्नका लागि सहर बसेकाहरु र कमाउन विदेश पसेकाहरु दसैंमा गाउँ फर्कन्छन्, हामीलाई काम गर्न जनशक्तिको अभाव छैन ।’ पिङ बनाउने काममा बूढापाकाहरुले पनि सहयोग गर्ने उनले बताए । दसैंमा एकपटक धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास जीवितै राख्न पनि क्लबका सदस्य जोसिन्छन् । २०६३ सालमा चारपिर्केबाट सुरु गरिए पनि ६४ सालदेखि अहिलेसम्म आठपिर्के हालिरहेको अध्यक्ष प्रधानले जानकारी दिए ।
दसैंमा एकपटक धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास जीवितै राख्न पनि मन्दिरचोक युवा क्लबका सदस्य जोसिन्छन् ।
पिङको मज्जा लिन युवायुवती, बालबच्चादेखि वृद्धवृद्धासम्म पछि पर्दैनन् । पिङले गाउँमा दसैंको रौनक नै बेग्लै बनाएको स्थानीय ख्यामनारायण मानन्धर बताउँछन् । बडादसैंको फूलपातीदेखि पूर्णिमासम्म पिङ खेल्नेको भीड हुन्छ । दशमीमा टीकाको दिन त पिर्कामा बस्न पालो नै पाइँदैन । सारुथर गाउँ र भोजप्रकाश माविको खेल मैदानमा लिंगे पिङ र हट्टियामा पिर्के पिङ देख्दा खुसी लागेको काठमाडौं बस्ने उनले बताए । ‘पहिला जस्तो गाउँ–गाउँमा पिङ देखिन छाडे,’ मानन्धरले भने, ‘हट्टिया र छिमेकी गाउँका युवाले परम्परालाई निरन्तरता दिँदै आएका छन्, खुसी लाग्छ ।’ कोरोना जोखिम मत्थर भएपछि यस वर्ष युवादेखि पाका पुस्तासम्मले जाँगर निकालेका छन् । पाका पुस्ताबाट युवाले पिङ राख्ने ‘कला’ सिकेका छन् । यसरी नै सीप हस्तान्तरण जरुरी रहेको उनी बताउँछन् । परम्परादेखिको प्रचलन र त्यसको निरन्तरतामा युवाको सक्रियता आवश्यक रहेको उनको भनाइ छ । पिङमा केही नकारात्मक पक्ष पनि रहेको उनी बताउँछन् । बच्चाका लागि यत्तिकै छाड्नु, मन नभएकालाई कर गर्नु, दुव्यर्सनीमा लागेका युवाको जमघटको थलो बन्नु पिङका नकरात्मक पक्षमा ध्यान दिएर पिङ संस्कृति जोगाउनु चुनौतीपूर्ण रहेको उनको धारणा थियो ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
कथा सुन्न भक्तजनको आकर्षण
कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१