Worldlink ads

पर्यटन क्षेत्रमा ‘चाँदीको घेरा’, आन्तरिक पर्यटकले ‘हाउसफुल’

धनबहादुर गुरुङ
कार्तिक ४, २०७८
Tourist Photo 1

पोखरा । पोखरा घुम्न आएकाहरु आजभोलि लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधा सम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटकहरु गाँउसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँंग रमाउन थालिसकेका छन् । कोरोनाले उकुसमुकुस भएका पर्यटक पोखरा आएर खुट्टा तन्काउन डाँडा चढ्ने योजना बुनिहाल्छन् ।

पछिल्ला दिनमा कोरोना कहरलाई बिर्साउने गरी पोखरामा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । दसैँलगत्तै देश दौडाहमा लागेकाहरुले पोखराको लेकसाइडका गल्ली भरिभराउ छन् । पोखराको ताल, गुफा, मठ मन्दिर चाहारेर उनीहरु डाडाँ उक्लिनसम्म भ्याएका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस, ताङतिङ लगायत गाउँहरुमा पर्यटक भरिभराउ छन् । घान्द्रुकमा दैनिक १ हजारको हाराहारीमा पर्यटक पुग्ने गरेको लामा अमृत फाउन्डेसनका संस्थापक अमृत गुरुङले जानकारी दिए । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ असोज १ गते देखि खुल्ला गरिएको उनको भनाइ छ ।

घान्द्रुक भएरै अन्नपूर्ण बेस क्याप पुग्न सकिने भएकाले असोज ६ गतेदेखि त्यो रुट पनि खुल्ला गरिएको थियो । पर्यटकका लागि खुल्ला गरिएपछि फाट्टफुट्ट पर्यटक पुग्ने गरेकोमा घटस्थापनादेखि पर्यटकको चहलपहल ह्वात्तै बढेको गुरुङले जानकारी दिए । ‘केही दिन देखि पानी परेको कारण केही अप्ठेरो भयो तर पनि पर्यटक आउन छोडेका छैनन्,’ उनले भने, ‘हामी कहाँ यो साल आन्तरिक पर्यटकहरु नै आएका छन्, दिनमा लगभग २ सय जती जीप छुटेका छन् । १२÷१५ वटा बस आउछ अनि प्राइभेट जीप, मोटरसाइकल भरिभराउ छ ।’ घान्द्रुकले एकदमै घुइँचो भएको सयमा दैनिक १ हजार २ सय सम्म व्यवस्थापन गर्न सक्छ । अहिले दैनिक १ हजार कै संख्यामा पर्यटक पुगेका छन् । घान्द्रुक पुगेकाहरु र अर्को बाटो प्रयोग गर्दै दैनिक ३ देखि ४ सय अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेको उनले जानकारी दिए । यसरी आन्तरिक पर्यटकहरुको आवागमन बढ्दा सुस्ताएको पर्यटन क्षेत्र उकासिने आशा पलाएको उनको भनाइ थियो ।

यसैगरी सिक्लेसमा पनि दैनिक १ हजार ५ सयको संख्या पर्यटक पुग्ने गरेको स्थानीय देवीजंग गुरुङ बताउँछन् । दसैंको टीकाको दिन देखि नै सिक्लेस उक्लनेहरु बढेको उनले जानकारी दिए । ‘सिक्लेसमा ४०÷५० जना सम्म राख्नसक्ने होटलहरु ११ वटा छन्, दर्ता भएको होमस्टे २४ वटा छन्,’ उनले भने, ‘होटल र होमस्टेमा गरेर दैनिक १ हजार ५ सय देखि २ हजारसम्म राख्न सकिन्छ । यति बेला सबै प्याक छन् ।’ सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उतिकै संख्यामा पर्यटकहरु पुग्ने गरेको गुरुङले बताए । सिक्लेस हुँदै क्हपुचे ताल र कोरी जान सकिने भएका कारण पनि पर्यटकहरु १ रात सिक्लेस मै बिताउने गर्छन् । सिक्लेससम्म गाडीमा गएकाहरु अर्को दिनदेखि हिँडेरै क्हपुचे देखि कोरी सम्म पुग्छन् । सिक्लेस पुगेकाहरुमध्ये दैनिक ७/८ सय लेकतिर उक्लन्छन् ।

पोखरा झरेकाहरु मध्ये धेरै ट्रेकिङका सौखिन हुन्छन् । उनीहरु हिमाल टेक्न ठडिन्छन् । हिमाल टेक्ने चर्चित रुटहरु पनि अहिले भरिभराउ नै छन् । अन्नपूर्ण वेसक्याम्पमा दैनिक ४ सयको हाराहारीमा जाने गरेको घान्द्रुकका अमृत गुरुङले बताए । ‘अहिले हिड्नेहरु बढेका छन्, पहिला दैनिक २ सय जति जान्थे अहिले त एक दिनमा ४ सय जति हुन्छन् । बेसक्याम्पका सबै होटल भरिभराउ नै छन्,’ उनले भने ।

हिमाल पुग्ने अर्को छोटो र चर्चित रुट हो, मर्दी ट्रेक । मर्दी ट्रेकमा पनि दैनिक २ सय जना पुग्ने गरेको मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यावसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । ‘विषेश गरी आन्तरिक पर्यटकको गतिविधि तीब्र रुपमा बढेको छ,’ उनले भने, ‘१ दिनमै २ सयभन्दा बढी आएका छन्, आज त ४ सय भन्दा बढी नै देखिएको छ ।’ मर्दीको हाइक्याम्प नै बास बस्ने अन्तिम स्थान हो, त्यहाँ अहिले १२ वटा होटल छन् । टीकाको दिनपछि सबै होटल हाउसफुल रहेको गौतमले बताए । अत्याधिक पर्यटकहरु पुग्दा बाटोमा फोहर बढेकाले पदयात्रासँगै प्रकृति जोगाउनु आफूहरुमा चुनौती थपिएको उनी बताउँछन् । त्यसलाई छिट्टै व्यस्थापन गर्दै कोरोना थलिएको पर्यटन व्यावसाय उकास्ने गरी योजना बनाउनु आवश्यक रहेको उनले बताए ।

पोखरामात्र होइन अहिले आसपासका पर्यटकीय केन्द्र पनि हाउसफुल छन् ।

गाउँ जाने पर्यटकहरुको १ रातको बसाई पोखरामा हुने गर्छ । त्यसमा पनि लेकसाइडमा रम्नेहरु धेरै छन् । अहिले पोखराको होटेल अकुपेन्सी ४० प्रतिशत हाराहारी रहेको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पछिल्ला समय केही आशा जगाएको छ,’ उनले भने, ‘ठूला होटलमा ५० प्रतिशत जति थियो सानामा २५÷३० प्रतिशत, त्यो हिसाबले एभरेजमा ४० प्रतिशत अकुपेन्सी छ ।’ ती मध्ये ८५ प्रतिशत आन्तरिक, १० प्रतिशत भारतीय र ५ प्रतिशत अरु देशका पर्यटक रहेको उनी बताउँछन् । ६०÷७० प्रतिशत अकुपेन्सीको आशा गरे पनि झरीका कारण केही समस्या भएको सुवेदीको भनाइ थियो । समग्रमा व्यवसायीहरू निकै नै उत्साहित रहेको उनले सुनाए । उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखराका होटेलमा दिनमै ३० हजारको हाराहारीमा पर्यटक राख्न सक्ने क्षमता छ । यहाँ पर्यटकीयस्तरका होटेलहरू ७ सयभन्दा बढी छन् ।

दसैँलगत्तै आफूहरूमा उत्साह आउने गरी पर्यटकको आवागमन भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । दोस्रो लकडाउनपछि भ्याक्सिन लगाएर पर्यटन क्षेत्र चलायमान बनाउने कुरामा सरकारसँगै राम्रै सहकार्य भएको उनले सुनाए । त्यसरी भ्याक्सिनेटेड भएर खुल्ला गरिएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको सहभागिता रहँदा खुसी लगेको उनको भनाइ थियो । अहिले ९५ प्रतिशत आन्तरिक पर्यटक र ५/१० प्रतिशत बोर्डर हुँदै भित्रिएका विदेशी पर्यटक पोखरामा आएको उनले बताए । ‘यसले केही सहज हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं,’ उनले भने, ‘अब घरभाडा तिर्ने, स्टाफ खर्च धान्दै बैंकको ब्याजसमेत तिर्ने आशा जागेको छ ।’
कोरोनाको अर्को भेरियन्ट नआएको खण्डमा पर्यटन क्षेत्र चलायमान भयो है भन्ने सन्देश गएको उनी बताउँछन् ।

अहिले भइरहेको पर्यटकलाई जोगाउन घोषणा गरिएका प्याकेज लागु गर्ने र नयाँ योजना बनाउनुपर्ने चुनौती रहेको भट्टराईले बताए । संरचना बनाउनेतर्फ निजी तथा सरकारी पक्ष लाग्नुपर्ने उनको भनाइ थियो । ‘अहिले आउटडोरका प्याराग्लाइडिङ, बन्जी, डुंगा, क्यानोनिङ, ट्रेकिङ सबै प्याक छन्,’ उनले भने, ‘संग्राहलय, पुस्तकालय, इन्टरटेनमेन्ट सेन्टर जस्ता इन्डोरका क्षेत्रहरु पनि बन्नुपर्छ ।’ यसका अलवा सरकारले घोषणा गरेको कर्मचारी बिदा लगायतका कार्यक्रमहरु कार्यान्वयन गर्ने हो भने अहिले भइरहेको अवस्था जोगाउन सहज हुने उनको धारणा थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग