सरकारी गठबन्धन छिट्टै चकनाचुर हुन्छः पोखरेल

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७८
uml~prakash

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार बनाउन गरिएको गठबन्धन अपवित्र भएको भन्दै छिट्टै चकनाचुर हुने बताएका छन् । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमोर्चा लगायत दलको सरकार बनेको छ । नयाँ सरकार बनाउन माधवकुमार नेपाल समूहले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेको छ । नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई कटाक्ष गर्दै पोखरेलले अहिलेको गठबन्धन एमालेविरुद्ध भएको बताए । ‘नयाँ सरकार एमालेविरुद्धको गठबन्धन हो । यो धेरै टिक्नेवाला छैन । छिटै चकनाचुर हुनेवाला छ,’ उनले भने, ‘यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धरासायी बनाउनका लागि हो ।’

पोखरेलले विशेष परिस्थितिका कारण एमाले सरकार ढले पनि नयाँ चुनावपछि स्थायी सरकार गठन हुने दाबी गरे । ‘एमालेको सरकार ढलाउन विभिन्न शक्तिहरु लागे । देशभित्रका मात्रै होइन, बाहिरका पनि लागे,’ उनी भन्छन्, ‘जनताको समर्थन हुँदाहुँदै एमालेको सरकारलाई अपदस्थ गरियो । तर हामी जहाँ भए पनि आर्थिक विकास र समृद्धिको मुद्दालाई कहिलै छाड्दैनौं ।’ नयाँ सरकार अदालतको परमादेश आधारमा बनेको भन्दै एमाले सरकारले गरेको विकास प्रक्रिया नरोक्न उनले चेतावनी दिए । नेपाल समूह छिट्टै परास्त हुने पनि उनको टिप्पणी छ । ‘एमालेको सरकार थियो । आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीलाई सरकार बुझाए,’ उनले थपे, ‘एमालेको शक्ति कमजोर बनाएर, टुक्र्याएर जुन रुपमा अक्षम्य अपराध गरेका छन्, उनीहरु छिटै समाप्त हुन्छन् ।’

एमालेको शक्ति कमजोर बनाएर, टुक्र्याएर जुन रुपमा अक्षम्य अपराध गरेका छन्, उनीहरु छिटै समाप्त हुन्छन् ।

एमाले कास्कीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान सरकार विदेशीको अगाडि घुँडा टेक्ने भएकोले देशको हितमा केही काम नगर्ने आरोप लगाए । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारले दलाल नोकरशाही पुँजीवादको नेतृत्व गरेको भन्दै कम्युनिष्ट पार्टी भन्ने माओवादी र एकीकृत समाजवादी पार्टी पनि त्यही बाटोमा लागेको आरोप लगाएका छन् । ‘एकीकृत समाजवादीले दलाल नोकरशाही पुँजीपतिहरुको संरक्षणमा लागेको छ । माओवादी पनि त्यही बाटोमा छ,’ उनले भने, ‘कालो धनलाई सेतो बनाउन विस्थापन ऐन ल्याउने यो सरकार दलाल नोकरशाही पुँजीवादीहरुको सरकार हो । एमाले यसको विरुद्धमा लाग्नुपर्छ ।’ माओवादी र समाजवादी पार्टीले कम्युनिष्टको नाममा कम्युनिष्टको आदर्श समाप्त पार्न लागि परेको गुरुङको आरोप छ ।

उनले एमालेको सत्ताविना देशमा लोकतन्त्र र संघीयता संस्थागत हुन नसक्ने बताए । ‘संसदीय प्रणालीमा अब २ धार रहन्छ । कांग्रेसले दक्षिणपन्थी धारको नेतृत्व गर्छ, एमालेले बामपन्थी धारको नेतृत्व गरिरहेको छ,’ उनले थपे, ‘अरु कम्युनिष्टहरु एमालेको पछिपछि हिड्नुपर्छ । बामपन्थीहरुलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेको छ ।’ पूर्व गृहमन्त्री खगराज अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै कुनै हालतमा स्वीकार नगर्ने बताए । एमालेको तल्लो तहको अधिवेशन सुरु भएको भन्दै उनले भुइँबाटै मजबुत बनेर आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गरे ।

चियापान कार्यक्रममा सबै पार्टीलाई निम्तो गरिएको भए पनि एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गरिएको थियो । एमाले कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर बैरागीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width