लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७८

गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो । खेतपाती हुने स्थानमा बाँदरको बिगबिगीका कारण अदुवा मात्रै खेती गरेका कारण अदुवाबारी भएको उक्त स्थानको अहिले मुहारै फेरिएको छ । यहाँ यही पुलकै कारण पर्यटककको घुइँचो पनि लागेको छ ।

तीतेपातीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ । बागलुङको बाङ्गेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिएपछि अहिले व्यावसायिक चहलपहल बढ्दो छ ।

अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु सञ्चालन हुन थालेका छन् । घर भवनहरु निर्माण भइरहेका छन् । केही वर्षअघि सम्म अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयवासीले नसोचेको बताउँछन् । डरलाग्दो भिरमाथिको टाकुरोमा झोलुङ्गे पुल बनाएपछि यसले पर्यटक पनि आकर्षित गरेको छ ।

पुलले स्थानीयवासीलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नाका साथै सिङ्गो धौलागिरिको पर्यटन क्षेत्रमा पनि रौनक थपेगको छ । कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । पुलमा दैनिक चारदेखि ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । मानिसहरुको आगमन बढेसँगै पुलको पारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेको छ । किराना पसल, होटल तथा रेष्टुरेन्टलगायत व्यवसाय गर्ने सङ्ख्या र लगानी बढ्दो छ ।

पुल निर्माणसँगै फेरिएको अदुवाबारीमा व्यवसायको राम्रो सम्भावना रहेको अदुवाबारीका होटल व्यवसायी गोपाल रिजालले बताउनुभयो । उहाँले गत वर्षदेखि होटल सञ्चालन गरेकामा कोरोना सङ्क्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताउनुहुन्छ ।

“पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पूरै ठाउँ नै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ,” उहाँले भन्नुभयो ।

स्थानीय गोम माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउनुहुन्छ । यस ठाउँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकामा अहिले दैनिक सयौँ मानिस आउँदा पर्यटन र अरू व्यापारका सम्भावना बढेको देखिन्छ ।

पुल खुलेपछि माझीले व्यवसाय सुरु गर्नुभएको हो । आफ्नो व्यवसाय अहिले राम्रो भएको उहाँ बताउनुहुन्छ । पुलको मुखमै उहाँको पसल छ । माझीले अहिले दैनिक सयौँ मानिसलाई पानी र सामान्य खाजा बिक्री गर्नुहुन्छ ।

यस क्षेत्रमा व्यावसायिक रुपमा स्विङ पनि सञ्चालनमा ल्याइएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले यस स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माण गरिने बताउनुभयो ।   रासस
–––

Related News

सम्बन्धित समाचार

hero news full width