च्याङ्ग्राको भाउ चुलिँदा खसीबोकातिर भीड   

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७८
Chyangra

फाइल फोटो

कास्की ।  दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पु¥याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्र्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।

मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन । च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दसैँका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दसैँमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताउनुभयो ।

खसीबजारमा भेटिनुभएका उहाँँले भन्नुभयो, “विगतका दसैँमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।” पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दसैँमा खसीको माग बढेको बताउनुभयो । माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उहाँले जानकारी दिनुभयो । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।

“विगतका वर्षलाई हेरेर यस वर्ष व्यवसायीले दसैँमा छ हजार ५०० हाराहारीमा खसीको व्यवस्था गरेका थियौँ ।” उहाँले भन्नुभयो, “फूलपातीको एक÷दुई दिनअघि नै सबै बिक्री भएपछि बजार खाली राख्नु भएन भनेर थप दुई हजार ५०० खसी ल्याउँदैछौँ ।” च्याङ्ग्राको मूल्यवृद्धि भएकाले खसीको माग यस वर्ष अत्यधिक बढेको उहाँले बताउनुभयो ।

बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दसैँमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन् ।

जिउँदो खसी प्रतिकेजी रु ६०० देखि ६४५ सम्ममा यस वर्ष बिक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकामा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अहिले नेपालकै उत्पादनले बजार धान्ने गरेको उहाँ बताउनुहुन्छ । व्यवसायीले विशेषगरी पाल्पा, नवलपरासी, सुर्खेत, तनहुँ, स्याङ्जा र दाङलगायतका जिल्लाबाट खसी ल्याउने गरेका छन् ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउनुहुन्छ । दुई÷तीन दिनदेखि च्याङ्ग्रा र खसी बजारको नियमित अनुगमन गरिएको बताउँदै उहाँले यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआएकाले समेत मूल्य उच्च भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा नेपालका हिमाली जिल्लासहित चीनको तिब्बतबाट दसैँमा ठूलो सङ्ख्यामा भेडा, च्याङ्ग्रा आपूर्ति हुने गरेको थियो । तर यस वर्ष कोरोनाका कारण सीमानाका नखुल्दा तिब्बतबाट व्यापारीले ल्याउन सकेनन् । जसको प्रभाव बजारमा उच्च परेको छ । मूल्य धेरै नै वृद्धि भएको छ ।”

शाखा प्रमुख अधिकारीका अनुसार सोमबारसम्म पोखरामा हिमाली क्षेत्रबाट ९४ जना व्यापारीले १५ हजार ५० च्याङ्ग्रा र एक हजार ३०० भेडा बिक्रीका लागि ल्याएका छन् । विगतमा २० देखि २५ हजारसम्म भेडा/च्याङ्ग्रा ल्याउने गरिएको थियो । हिमाली च्याङ्ग्राको मुख्य बजार पोखरा तथा यस आसपासको क्षेत्र हो । केही व्यापारीले काठमाडौँ, नारायणगढसम्म पनि च्याङ्ग्रा लैजाने गर्दछन् ।  रासस

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width