जिप दुर्घटनामा २ को मृत्यु, १७ घाइते

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
noida_road_accident

वालिङ । वालिङ १०, मदिखोला नजिकै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार दुर्घटनापछि वालिङस्थित गहाैं प्राथमिक अस्पताल लगिएकोमा उनीहरु दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो ।

वालिङबाट गल्याङ नगरपालिका १०, लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ कच्ची उकालो बाटोबाट झन्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ जना यात्रुहरु थिए ।

दुर्घटना हुँदा जिपमा सवार गल्याङ १० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल बिक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली घाइते भएका छन् । यस्तै, सोही ठाउँका ५६ वर्षीया रीता गाहा, २ वर्षीय एञ्जल गाहा, २२ वर्षीया पूष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, ३ वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका १० बझाकोटकी २४ वर्षीया सपना थापा, २ वर्षीय नवीन थापा घाइते भएका हुन् ।

मध्यम घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइतेको गह«ौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

चालकको अवस्था सामान्य छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । दसैंको बेला वालिङ बजारबाट गाउँतर्फ फर्केका एउटै वडाका धेरै बासिन्दाहरु परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width