दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

साक्षर प्रदेश घोषणा सभामा २०७८ असोज २४ गते गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्तव्यको पूर्ण पाठ

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७८
cm krishna chandra pokhrel

तस्बिर : राधिका कँडैल

पोखरा । सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खर मात्र गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नु भएको छ । यस अवसरमा प्रधानमन्त्रीज्यू प्रति गण्डकी प्रदेश सरकार र प्रदेशबासीका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । यो ऐतिहासिक र सुखद् क्षणमा समग्र प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

गण्डकी प्रदेशलाई साक्षर बनाउने अभियानमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद् व्यक्त गर्दछु । आजको यस गरिमामय कार्यक्रममा सम्मानीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिज्यूको उपस्थितिले हामीलाई अत्यन्त उत्साहित बनाएको छ ।

शिक्षा देश विकासको महत्वपूर्ण आधारशीला हो । देशको सामाजिक आर्थिक तथा भौतिक प्रगति शिक्षामा नै निर्भर हुन्छ । शिक्षाले नै मानव सभ्यतालाई उन्नति र प्रगतिको शिखरमा पु¥याएको हो । विश्वमा भएका चमत्कारिक उपलब्धि शिक्षाबाट नै सम्भव भएको हो ।

राणा शासनको अन्त्यसँगै मुलुकमा सर्बसाधारणका लागि शिक्षा खुला भयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला नेतृत्वको सरकारले शिक्षालाई जनस्तरमा पु¥याउन खेल्नुभएकोे महत्वपूर्ण भूमिका स्मरणीय छ । विपी कोइरालाले सुरु गरेका समाजवादी कार्यक्रममध्ये सबैभन्दा अग्रगामी कदम शिक्षा क्षेत्रको विकास र विस्तार नै हो । तर २०१७ को राष्ट्रघाती कमदपछि उक्त अभियान अबरुद्ध भयो ।

२०४६ सालको परिवर्तन पश्चात् नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारले सबै नागरिकलाई साक्षर बनाउनु पर्छ भन्ने दायित्वबोध गरी आवश्यक ऐन, नियमावली र संस्थागत व्यवस्था समेत गरी साक्षरता अभियानलाई द्रूत गतिमा अगाडि बढायो ।

सबैका लागि शिक्षा भन्ने अन्तर्राष्ट्रिय मान्यतामा नेपाल सदैव प्रतिबद्ध रहँदै आएको छ । शिक्षाको क्षेत्रमा सहश्राब्दी विकास लक्ष्यमा नेपालले उत्साहजनक सफलता हासिल गरेको छ । दिगो विकास लक्ष्य हासिल गर्नका लागि गण्डकी प्रदेश सरकार पूर्ण क्षमताका साथ क्रियाशील रहँदै आएको व्यहोरा अवगत गराउँदै प्रदेश सरकारले साक्षर गण्डकी प्रदेश घोषणा गरी राष्ट्रिय दायित्व पूरा गरेको महशुस गरेका छौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू
यहाँ समक्ष अब म गण्डकी प्रदेशको समग्र अवस्थाबारे अवगत गराउन चाहन्छु । यो सम्भावनै सम्भावनाले भरिएको प्रदेश हो । प्राकृतिक सुन्दरता, जैविक विविधता, साँस्कृतिक विविधतामा एकता, स्थिर तथा समावेशी विकास यस प्रदेशको विशिष्टता हो । यहाँ पर्यटन, ऊर्जा, कृषिको क्षेत्रमा व्यापक सम्भावना छ । उद्योगको विकास यस प्रदेशको अर्को सम्भावनाको क्षेत्र हो ।

दक्षिण छिमेक भारत र उत्तर छिमेक चीनसँग जोडिएको यस प्रदेशले अन्तर्राष्ट्रिय व्यापारका माध्यमबाट पनि समृद्धि हासिल गर्ने पर्याप्त सम्भावना छ । यहाँको हावापानीको अनुकुलता र विशिष्टताले गर्दा यस प्रदेशले शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बन्न सक्ने क्षमता राख्दछ । हामीसँग ऊर्जावान युवाको बहुलता छ । उत्साही र परिपक्क निजी क्षेत्र छ । मानव विकास सूचकांक र धेरै सामाजिक विकासका सूचकमा यो प्रदेश राम्रो मानिन्छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू
यावत सबल एवम् उत्साहजक पक्ष रहँदा रहँदै पनि यस प्रदेशको समृद्धि र यहाँका नागरिकको विकास आवश्यकता पूरा गर्नका लागि धेरै काम गर्न बाँकी छ । मैले यहाँसमक्ष राखेका प्रदेशका सम्भावनाबाट हामीले लाभ लिनका लागि दुरगामी महत्वका सडक सञ्जाल जस्तै यो प्रदेशको लाइफलाइनको रुपमा रहेको त्रिवेणीदेखि कोरला सम्मको मार्ग निर्माणमा उच्च प्राथमिकता दिनु आवश्यक छ । खैरेनीदेखि भीमाद हुँदै चोरमारासम्मको सडकलाई २ लेनको द्रुत मार्ग बनाउनु पर्ने छ । यो सडकको दुम्कीवास देखि त्रिवेणीसम्मको १८ किलोमिटरमध्ये बीचको ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जमा पर्ने हँुदा सडक निर्माणमा अवरोध आएको छ । संघ सरकारले कि उक्त स्थानमा सडक निर्माणका लागि अनुमति दिनु प¥यो कि उक्त खण्डमा सुरुङ मार्ग निर्माण गर्न आवश्यक सहयोग उपलब्ध गराउनु प¥यो । यसका लागि प्रदेश सरकारले यस अघि पनि लिखित रुपमा संघ सरकारको ध्यानाकर्षण गराइसकेको छ । यो सडकको निर्माणले प्रदेशको समृद्धि र अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण योगदान पुग्नेछ ।

यस्तै गरी काठमाडौंदेखि पोखरा २ घन्टामा आउन सकिने गरी उच्च प्रविधियुक्त सडकको निर्माण, पोखराबाट लुम्बिनी १ घन्टा ३० मिनेटमा पुग्न सकिने छोटो दुरीको सडक, पोखरा लुम्बिनी र चितवनबीच दु्रत सडक सञ्जाल विकास हुनु पर्दछ । यस प्रदेशको समग्र सडक सञ्जालको विकास र आधुनिकीकरणमा संघीय सरकारको सहयोगको अपेक्षा गरेको छु । बेशीशहर–मनाङको बाटोलाई स्तरोन्नती गरी २ लेनको बनाइ नियमित यातायात सेवा चल्ने बनाउन आवश्यक छ । अहिलेको विपत्तीको कारण गोरखाका विभिन्न भागमा खाद्यान्न आपुर्तिमा समस्या परेको छ । सामागाउँ र छेकम्पार लगायतको क्षेत्रमा चीन तर्फका दुईवटा भञ्ज्याङबाट विगतमा खाद्यान्न आपुर्ति हुँदै गरेकोमा कोरोनाका कारण ती नाका बन्द हुँदा खाद्यान्न आपुर्तिमा समस्या भएको छ । प्रदेश सरकारको तर्फबाट उक्त नाका खोल्न पत्राचार भएता पनि अहिले सम्म खुल्न नसकेकोमा प्रधानमन्त्रीज्यूले यसमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।

साथै पोखरा क्षेत्रीय विमानस्थल यो प्रदेशको लागि निकै महत्वको आयोजना हो । यसलाई समयमा सम्पन्न गर्न यहाँबाट यथासम्भव छिटो अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि समन्वय जरुरी छ ।

विमानस्थल निर्माण हुँदै गरेको स्थलमा कृषकको सिँचाई सुविधा सहज बनाउन, खानेपानीको आपूर्ति गर्न, भलपानीको व्यवस्थापन गर्न थप रकमको व्यवस्था गर्न संघ सरकारकै सहयोगबिना सम्भव छैन । बागलुङको अर्नाकोटमा विमानस्थल बनाउनु पर्ने छ ।

पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्डको स्तरोन्नति हुँदैछ । पोखरा क्षेत्रीय विमानस्थलको नजिकमा रहेको पृथ्वी राजमार्गको चाउथेदेखि पृथ्वीचोकसम्मको खण्डको पहिलो चरणमा काम गर्नका लागि सम्बन्धित ठेकेदारलाई निर्देशन दिन म सम्माननीय प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु । यसो गर्न सकेमा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका यात्रुहरु सहजताका साथ लेकसाइडसम्म जानसक्ने अवस्था निर्माण हुनेछ ।

नेपालकै पर्यटकीय राजधानीका रुपमा परिचित गण्डकी प्रदेशको राजधानी पोखराको आकर्षणको केन्द्रको रुपमा रहेको फेवातालको संरक्षणका सन्दर्भमा विज्ञको टोलीबाट प्रतिवेदन तथा गुरुयोजना प्रदेश सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पेश भई सकेको छ । फेवातालको विकास सौन्दर्यीकरणका लागि तालभित्र पर्ने दुषित जग्गाको दर्ता बदर गर्ने पहिलो आवश्यकता त छँदैछ त्यसको अतिरिक्त वरिपरिको जग्गा अधिग्रहण, भौतिक सीमांकन र आधुनिक पर्यटकीय पूर्वाधार निर्माण तथा उक्त गुरुयोजनाको कार्यान्वयनमा संघ सरकारको सहयोगको अपेक्षा गर्दछु ।

खेलकुदतर्फ फुटबलको अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र निर्माणको प्रक्रिया कास्कीको मााछापुच्छ«ेस्थित भेडाबारीमा सुरु भएको छ । यसमा फिफाले समेत लगानी गर्नका लागि चासो देखाएको व्यहोरा अनुरोध गर्दछु । यो परियोजनालाई प्रभावकारिताकासाथ कार्यान्वयनमा लैजानका लागि ठूलो धनराशी आवश्यक पर्ने हुँदा संघ सरकारले यसमा सहयोग उपलब्ध गराउनेछ भन्ने विश्वास लिएको छु ।

गत वर्ष पोखरामा साउथ एसियन गेमका विभिन्न विधाका खेल सञ्चालन गरेको सुखद र सफल अनुभव छ । पोखरा रंगशाला देशकै ठूलो रंगशाला पनि हो । यो रंगशालामा रात्रिकालीन खेल सञ्चालनका लागि आवश्यक बत्तीको प्रबन्धका साथै अन्य आधुनिक पूर्वाधार र उपकरण जडान गर्नका लागि प्रदेशसँग स्रोतको अभाव भएकाले यसमा केन्द्रको सहयोगको अपेक्षा गरेका छौ ।

नवलपुरमा बिपी अन्तर्राष्ट्रिय खेल मैदान निर्माण आयोजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । नारायणी नदीमा तटवन्ध गर्ने, उक्त जमीन सर्वप्रथम सरकारको नाउँमा ल्याई प्रदेश सरकारलाई हस्तान्तरण गरेमा मात्र प्रदेश सरकारले खेल मैदान निर्माण कार्य अगाडि बढाउन सक्ने हुँदा त्यसमा संघीय सरकारको सहयोगको अपेक्षा गरेको छु ।

यसैगरी प्रदेशभित्र बहुसास्कृतिक ग्राम, लामेआहालको प्रदेशस्तरीय बसपार्क, पोखरा चक्रपथ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदेशको एकीकृत प्रशासनिक केन्द्र निर्माण, नवलपुरको लोकाहा खोला र कास्कीको पुँडिटार औद्योगिक क्षेत्र निर्माण आदि जस्ता योजनामा जमीन प्राप्त हुन नसक्दा समस्या भएको छ । जमीन नै प्राप्त नहुँदा प्रदेशका गौरव, रुपान्तरण तथा रणनीतिक महत्वका आयोजनहरु सञ्चालनमा कठिनाइ भएको छ । प्रदेश सरकारको अनुरोधमा सहजताका साथ जमीन प्राप्त हुने व्यवस्थाका लागि प्रधानमन्त्रीज्यूसँग अनुरोध गर्दछु ।

यो प्रदेशको सबैभन्दा कान्छो जिल्ला नवलपुरको सदरमुकाम कावासोतीमा एकीकृत नमुना सदरमुकाम बनाउन जमीन प्राप्त भएको छ । निर्माणको लागि डिजाइन समेत तयार भएको छ । तर निर्माण कार्य अघि बढाउन रकमको अभाव रहेको र साथै निर्माण प्रक्रिया समेत आरम्भ गर्ने सम्बन्धमा तत्काल रकम व्यवस्था र निर्माण कार्य अघि बढाउन सहजीकरण गरिदिनका लागि अनुरोध गर्दछु । साथै प्रदेश र स्थानीय तहसमेतको सहभागितामा धौवादी फलाम खानी पनि तत्काल सुरु गर्नुपर्ने छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू
कालिगण्डकी गण्डकी प्रदेशको सभ्यताको आधार हो । कालिगण्डकी नदी केबल नदी मात्र होइन, आस्था हो, सभ्यता हो । गजेन्द्रमोक्ष धाम, देवघाट, केलादी, राम्दी, सेतीबेनी, कागबेनी, दामोदर कुण्ड जस्ता महत्वपूर्ण धार्मिक स्थल छन् । धार्मिक महत्वका अतिरिक्त यसको प्राकृतिक, वातावरणीय, सास्कृतिक र आर्थिक महत्व छ । यसमा पाइने दुर्लभ शालिग्राम, धार्मिक पिठ तथा पवित्र स्थलहरु र ऐतिहासिक महत्व समेतको आधारमा यसलाई विश्व सम्पदा सूचीमा पार्न सकिने सम्भावना रहेकाले त्यस तर्फ प्रदेश सरकारले थालेको प्रयासमा संघ सरकारको तर्फबाट पनि सहयोग गरिदिनु हुन अनुरोध छ ।

कालिगण्डकी डाइभर्सनका सम्बन्धमा प्रारम्भदेखि नै सम्पूर्ण प्रदेशवासी र प्रदेश सरकारको विरोध रहँदै आएको छ । कालिगण्डकी क्षेत्रको विकास र संरक्षण तथा त्यसलाई यस प्रदेशको आर्थिक उन्नयनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गर्न प्रदेश सरकारले विज्ञहरुको टोली बनाएको छ । उक्त टोलीले ३ महिनामा प्रतिवेदन बुझाउँदै छ भन्ने व्यहोरा अनुरोध गर्न चाहन्छु । यस प्रदेशका गौरवका रुपमा रहेका सम्पदाहरु लोमान्थाङ, क्होलासोथर, गोरखा दरबार, तनहुँसुर दरबार क्षेत्र आदिलाई समेत विश्व सम्पदा सूचीमा पार्न पहल गरिदिनुहुन अनुरोध गर्दछु । यसै अवसरमा पोखरा र पुण्यक्षेत्र मुक्तिनाथ जोडने संसारको सबैभन्दा लामो केबलकार निर्माणमा रहेको अलमल अन्त्य गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूले यहि १४ गते मन्त्रीपरिषदबाट उक्त योजना अघि बढाउन गर्नुभएको निर्णयका लागि हार्दिक आभार व्यक्त गर्दछु ।
साथै गण्डकी प्रदेशमा ५ वटा महत्वपूर्ण नदी प्रणाली मादी भ्याली, कालीगण्डकी, मस्र्याङदी, बुढीगण्डकी, सेती छन् । यस्ता यी जलाधार क्षेत्रमा आधारित भएर विकास अघि बढाउन आवश्यक छ । यस्ता नदी प्रवाह क्षेत्रको वृहत्तर विकासमा प्रदेश सरकार र संघीय सरकारका बीचमा सहकार्यको लागि अनुरोध गर्दछु । साथै हाइ अल्टिच्युडमा रहेकोे गोरखाको चुम भ्याली मा फिल्म सिटीको निर्माण र मनाङ र मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान आदि निर्माणका लागि विशेष सहयोगको अपेक्षा छ ।
भारत र चीनसँगको व्यापार विस्तारका लागि यस प्रदेशमा उच्चमूल्यका वस्तु उत्पादन तथा निर्यातका लागि संघ सरकार र प्रदेशबीच सहकार्य आवश्यक भएको व्यहोरा समेत अनुरोध गर्दछु । यसै प्रदेशमा पर्ने गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना बन्द अवस्थामा छन् । यी उद्योग प्रदेशमा हस्तान्तरण गरी सञ्चालन गर्ने अनुमति दिनका लागि अनुरोध गर्दछु ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणमा संघ सरकारले तदारुकता देओस् भन्ने प्रदेशवासीको अपेक्षा छ । विभिन्न वस्तुमा अतिरिक्त कर लगाई जलविद्युत आयोजना संचालन गर्न प्रधानमन्त्रीज्यूले अगाडी सार्नु भएको सोचलाई कार्यान्वयन गरी बुढी गण्डकी आयोजना संचालनमा लैजान अनुरोध गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यू संघीयताको कार्यन्वयनमा प्रभावकारिता ल्याउन प्रदेशलाई थप स्रोत साधन सम्पन्न बनाउनु आवश्यक छ । विद्यमान राजस्व वाँडफाँडको प्रणालीमा परिमार्जन गरी प्रदेशलाई थप राजस्व प्राप्त हुने व्यवस्था मिलाउन अनुरोध गर्दछु ।

नेपालको संविधानले सामाजिक सास्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सक्ने व्यवस्था धारा ५६ मा गरेको छ । राष्ट्रिय रुपमा चौथो स्थानमा रहे पनि थारु जातिको जनसंख्या यस प्रदेशमा १.७ प्रतिशतमात्र छ । थारु, बोटे, माझी, मुसहरसमेतको बस्ती रहेको क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारसँग अनुरोध गर्दछु ।

सम्माननीय प्रधानमन्त्रीज्यू
कोरोना महामारीसँग जुध्न यहाँ नेतृत्वको सरकारले उपलब्ध गराउँदै आएको सहयोगको लागि धन्यवाद् दिन चाहन्छु । यस प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङले कोभिड विरुद्ध पूर्ण खोप प्राप्त गर्न सफल भएका छन् । नेपाल सरकारले विशेष महत्वदिई यस प्रदेशलाई खोप उपलब्ध गराउँदै आएकाले कास्की जिल्ला समेत केही दिनमा नै पूर्ण खोप युक्त हँुदैछ । नेपाल सरकारबाट खोप प्राप्त हुँदै आएकामा केन्द्र सरकारबाट थप खोप पनि उपलब्ध भै सबै नागरिकले समयमा नै खोप पाउने व्यवस्था लागि समेत अनुरोध गर्दछु ।

कोभिडले थला परेका सामाजिक, आर्थिक क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले १ अर्बको व्यवसाय जीवन रक्षा कोष खडा गरेको छ । मझौला र ठूला व्यवसायीका लागि संघ सरकारले ध्यान पु¥याउनु सम्माननीय प्रधानमन्त्रीज्यूसँग अनुरोध गर्दछु ।

प्रदेश राजधानी पोखरामा अन्तर्राष्ट्रिय पर्यटन दिवस असोज ११ गतेका दिन नेपालमा रहको विदेशी कुटनीतिक नियोगका प्रमुख, विकास साझेदार र दातृ संस्थाका नेपाल प्रमुखलाई आमन्त्रण गरी भव्य कार्यक्रम प्रदेश सरकारले आयोजना गरेको थियो ।

गण्डकी प्रदेश सरकारको आग्रहमा साथै प्रदेश २ का माननीय मुख्य मन्त्री नेतृत्वको टोलीले समेत पोखरा भ्रमण सम्पन्न गरेको छ । त्यसले पोखरा खुला रहेको र पर्यटकलाई स्वागत गर्न पोखरा आतुर रहेको सन्देश दिएको छ । त्यसमा उपस्थित हुने सबै पाहुनाका प्रति आभार व्यक्त गर्दछु ।

उक्त कार्यक्रममा निजी क्षेत्रको संलग्नता निकै सह्रानिय थियो । उपस्थित पाहुनासँग हामीले विकासका सहकार्यका क्षेत्रहरुबारेमा छलफल गरेका थियौ । गण्डकी प्रदेशमा विकासमा सहकार्य गर्न मित्रराष्ट्रहरु, विकास साझेदार र दातृ संस्थालाई उत्प्रेरित गरिदिनु हुन सम्माननीय प्रधानमन्त्री समक्ष अनुरोध गर्दछु ।

लोकतन्त्रको जग मजवुद् बनाउन समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न तथा नेपालको सार्वभौमसत्ताको सम्वद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा सुशासन प्रवद्धर्नमा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकार सफल हुनेछ भन्ने विश्वास लिएको छु । यहाको कुशल नेतृत्वमा मुलुकले स्थिरता र अग्रगमनको बाटो समात्ने छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू
गण्डकी प्रदेश सभाको भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र यसका लागि ७५ करोड लाग्ने देखिन्छ । प्रदेशका रणनीतिक महत्वका (स्थानीय तहको केन्द्र जोड्ने ) सडकमध्ये ३ सय ३९ किलोमिटर निर्माणाधीन अवस्थामा छन् । निर्माणका लागि डिपिआर भइसकेको २ सय ८७ किलोमिटर सडक रहेको र यी दुवै खालका सडक निर्माणका लागि १४ अर्ब ३५ करोड रुपैयाँ चाहिनेमा बहुवर्षे प्रकृतिका यी योजनाका लागि चालु आवमा ३ अर्ब आवश्यक पर्दछ ।

डिपिआर भइसकेका ५० मोटरेबल पुलका लागि अनुमानित बजेट ३ अर्ब लाग्नेमा यस आवका लागि ७० करोड रुपैयाँ प्राप्त भएमा काम सुरु गर्न सकिन्छ ।
प्रदेशमा ठेक्का लागिसकेका कार्यक्रम सम्पन्न गर्न ७ अर्ब आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि ४ अर्ब अपुग रहेको छ । उक्त आयोजना सम्पन गर्न रकम प्राप्त हुने विश्वस लिएको छु । संघले हतान्तरण गरेका योजनाका लागि ५ अर्ब रुपैयाँमध्ये न्यूनतम हालका लागि कम्तीमा पनि ३ अर्ब रुपैयाँ आवश्यक छ ।
प्रदेशले सञ्चालन गरेका र गर्ने योजनाका लागि २९ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि थप ११ अर्ब ४५ करोड रुपैयाँ आबश्यक भएकाले सो रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।

आज प्रदेश साक्षर घोषणा भएको छ । हामी अझ महत्वकांक्षी योजनाका साथ अघि बढ्ने छौ । अब प्रदेश सरकार सबैलाई गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा र प्रविधिमैत्री शिक्षा प्रदान गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्रियाशील रहने छ । आजको यस समारोहमा म प्रदेशलाई शिक्षा स्वास्थ्य र आर्थिक अवस्थामा अब्बल बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रदेशलाई साक्षर घोषणा गर्न आज प्रमुख अतिथिको रुपमा पाल्नु हुने सम्माननीय प्रधानमन्त्रीज्यूमा सम्पूर्ण गण्डकी प्रदेशवासीको तर्फबाट कृतज्ञता ज्ञापन गर्न चाहन्छु । साथै यस अभियानका अभियान्ता शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सामुदायिक सिकाइ केन्द्रका परिचालक, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, गैरसरकारी संस्था, सञ्चारकर्मी, उद्यमी व्यवसायी, निजी तथा सरकारी विद्यालय आवद्ध संघ संगठन, अन्तर्राष्ट्रिय समुदाय र नागरिक समाज प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै आजको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न अहोरात्र खट्ने माननीय शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसहित मन्त्रिपरिषदको पूरै टिमलाई धेरै धन्यवाद् । यस कार्यक्रममा पाल्नु भएका सम्पूर्ण महानुभावमा आभार व्यक्त गर्दै आजको कार्यक्रम समापन भएको जानकारी गराउदँछु ।
धन्यवाद । जय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width