रुपामा चाडवाडको अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
anugaman~prakash

पोखरा । बडादसैं सुरु भएसँगै कास्कीको रुपा गाउँपालिकाले बजार क्षेत्रको अनुगमन गरेको छ । चाडवाड मौकामा मिति गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री हुन सक्ने भन्दै अनुगमन सुरु गरेको हो ।
शुक्रबार पालिकाभित्रका सबै पसलहरुको अनुगमन गरिएको पालिकाले जनाएको छ । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नेतृतवमा ३ समूह बनाएर वडाध्यक्ष र जनप्रतिनिधि तथा कर्मचारी समेतको उपस्थितिमा अनुगमन गरिएको हो । ‘चाडवाडमा अखाद्य बस्तुको व्यापार हुन सक्छ । त्यसलाई रोक्नुपर्छ । व्यापारीले मौका छोप्छन्,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘अनुगमनले व्यवसायी पनि सचेत हुन्छन् । उपभोक्ता ठगिन पाउँदैनन् ।’
सहरी क्षेत्रका व्यवसायीले गाउँमा अनुगमन नहुने भएकोले म्याद सकिएका सामान पठाउने गरेको ओझाको आरोप छ । ‘गाउँमा अनुगमन हुँदैन भनेर म्याद सकिएका सामान पठाएको भेटेका छौं । हामीले डीपो र डिलरहरुलाई पनि चिठी लेखेर गुणस्तरहीन सामान नपठाउन भनेका छौं,’ उनले भने, ‘आजभोली त्यस्ता सामान खासै फेला परेका छैनन् । परे भने सचेत गराउने र जरिवानासमेत तिराउने गरेका छौं ।’
अनुगमनमा गएको टोलीलाई व्यवसायीहरुले उल्टै सुझाएर पठाएका छन् । ‘मूल्यले दिनदिनै नयाँ रेकर्ड राख्छ । बरु बजारतिर गएर कम्पनीलाई मूल्य नबढाउनु भनिदिनुप¥यो, सग्रबासका व्यवसायी तिलक थापामगरले भने, ‘उताबाटै दिनदिनै मूल्य बढेर आउँछ । यता मूल्य बढाउँदा उपभोक्ताले हामीलाई गाली गर्छन् ।’ अनुगमनले आफूहरुलाई पनि सचेत हुन सहयोग पुग्ने उनले सुनाए । उनले गाउँपालिका क्षेत्रभित्रका व्यवसायीले बेच्ने सामानको मूल्य तोकिदिनुपर्ने बताएका छन् ।
पालिकाले वर्षमै २ पटक अनुगमन गर्ने भएकोले म्याद गुज्रिएका र गुणस्तरहीन सामान भने नभेटिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बताए । अनुगमनसँगै पालिकाले दर्ता छुटेका पसलहरुको नयाँ दर्ता गराएको छ भने दर्ता भएकाहरुको नवीकरण गरिदिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width