माइक्रोसफ्ट च्याम्पियनसिपको विजेता घोषणा

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
microsoft award news winner

पोखरा । सूचना प्रविधि क्षेत्रको विश्वको सबैभन्दा ठूलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ नेपालको राष्ट्रिय विजेता घोषणा तथा अवार्ड वितरण गरिएको छ ।
माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दीप आइटी एन्ड एजुकेसनल कन्सल्टेन्सी पोखराको आयोजनामा भएको प्रतियोगितामा माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावर पोइन्टको २०१६ र २०१९ को एसोसियट लेभलको ६ विधामा राष्ट्रिय विजेता घोषणा भएको हो ।
प्रतियोगिताको माइक्रोसफ्ट अफिस पावरपोइन्ट–२०१६ नेपाल च्याम्पियन–२०२१ उपाधि विश्व आदर्श विद्यालय, सुनसरीका गौरव चौधरी, माइक्रोसफ्ट अफिस पावरपोइन्टको–२०१९ नेपाल च्याम्पियन–२०२१ उपाधि हेटौडाका आयाम अवलले जिते । यस्तै, माइक्रोसफ्ट अफिसवर्ड–२०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि स्काई राइडर मावि, चितवनकी दीपिका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड–२०१९ नेपाल च्याम्पियन–२०२१ उपाधि सगरमाथा जनता मावि, ओखलढुंगाका दीपेश श्रेष्ठले हात पारे । माइक्रोसफ्ट अफिस एक्सल–२०१६ नेपाल च्याम्पियन–२०२१ उपाधि सिन्धुपाल्चोकका अभिनाश गुरागाईं र माइक्रोसफ्ट अफिस एक्सल २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि एग्रिकल्चर र फरेष्टी विश्वविद्यालयमा अध्ययनरत ताप्लेजुङ्गका जेशिस ओझाको पोल्टामा पर्‍यो । विजेताले नोभेम्बरमा १ सय ३० भन्दा बढी राष्ट्रका राष्ट्रिय विजेतासँग अन्तर्राष्ट्रिय राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१६ मा करुणानिधि सेकेन्डरी, पोखराका ऋतेश कार्की, माइक्रोसफ्ट अफिस पावरपोइन्ट–२०१९ गरिमा आवासिय विद्यालय बाग्लुङकी जयन्ति आचार्य दोस्रो भए । माइक्रोसफ्ट अफिस वर्ड २०१६ मा हिमालयन दर्शन कलेज, विराटनगरका अनिशभक्त जोशी, माइक्रोसफ्ट अफिस वर्ड–२०१९ मा मकालु इङ्लिस बोर्डिङ, इटहरीका आसुतोस बस्नेत द्वितीय भए ।
यसैगरी, माइक्रोसफ्ट अफिस एक्सल–२०१६ मा जैन विश्वविद्यालय, चितवनका असिम तार पाठक, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ मा कालीगण्डकी एकेडेमीका सफल आचार्य दोस्रो बने ।
विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रम पूर्व गृहमन्त्री खगराज अधिकारी, माइक्रोसफ्ट अमेरिका, माइक्रोसफ्ट न्युजिल्याण्ड, सर्टिपोर्ट अमेरिका, संकल्प वल्र्ड च्याम्पियनसिप भारत, प्याब्सन नेपालका उपाध्यक्ष टुकाराम ढकाल, क्यान महासंघ सचिव शेखरनाथ दुलाल समेतको भर्चुअल उपस्थितिमा माइक्रोसफ्ट टिममार्फत भएको हो ।
देशभरबाट सहभागी विद्यार्थीमध्ये राष्ट्रिय चरणको लागि ८३ जना छनौट भएको दीप आइटी एन्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले बताए । विजेताले उपाधि मेडल, ट्रफीसँगै माइक्रोसफ्ट अफिस स्पेसलिस्ट एक्सपर्ट लेभलमा तयारी, मोक टेस्ट भौचर र सर्टिफिकेसनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । त्यस्तै दोस्रो र तेस्रोले मेडल, ट्रफी र २५ हजारसम्मको अन्तर्राष्ट्रिय सर्टिफिकेसन कोर्समा छात्रवृत्ति पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width