चलचित्र पत्रकारिता सतहीमात्रै

धनबहादुर गुरुङ
असाेज २१, २०७८
Film Photo 1

पोखरा । ‘चलचित्र पत्रकारिता धेरै भयो तर गम्भीरखालको पत्रकारिता भएन’ चलचित्र समीक्षक तथा लेखक सामीप्यराज तिमिल्सेना पछिल्ला समय यही विषयले चिन्तामा छन् । नेपालमा २०११ सालदेखि सुरु भएको चलचित्र पत्रकारिता अझै परिपक्व हुन नसकेको उनको गुनासो सधैं रहन्छ । अहिलेको चलचित्र पत्रकारिता कलाकारले के गर्‍यो, कहाँ गयो, के भन्यो भन्नेमै अल्झिएको उनको आरोप छ । ‘पत्रकारिताको मुख्य विषय भनेको फिल्म हो, त्यसलाई हामीले आर्टको रुपमा बुझ्नुपर्‍यो,’ उनले भने, ‘फिल्मले दिन खाजेको सन्देश के हो ? भन्ने कुरामा चलचित्र पत्रकारितामा इतिहासदेखि नै जागरुक नभएको अवस्था छ ।’
गसिपको पछि लागेर नभएको विषयलाई भए जसरी लेख्ने प्रवृति हावी भएको उनी बताउँछन् । जसले तत्कालीन रुपमा पाठक, दर्शक भेटे पनि त्यसको दीर्घकालीन असर भने शून्य रहने तिमल्सेनाको भनाइ छ । आफ्नो पेसाप्रतिको इमानदारिता नभएसम्म चलचित्र क्षेत्रको पत्रकारितामा गम्भीरता नभेटिने हुँदा न्यायपूर्ण धर्म निभाउन उनको आग्रह थियो । उनको भनाइ थियो,‘फिल्म पत्रकार त्यो हो जसले कलाकारको व्यक्तिगत जिन्दगी र हिरो हिरोइनको रोमान्सलाई मात्र प्रकाशन गर्दैन, कलाको साधनाबाट नाम र इज्जत कमाउने साधकलाई दर्शकसम्म पुर्‍याउन पुलको काम गर्दछ ।’
चलचित्र पत्रकारिता गम्भीर नहुनुमा नेपाली फिल्मको पनि भूमिका रहेको समीक्षक तथा निर्देशक दीपेन्द्र लामा बताउँछन् । ‘यसमा फिल्म मेकरहरु पनि हात छ, मेकरहरु पनि आफ्नो काममा सिरियस हुनुपर्‍यो,’ उनले भने, ‘मेकरहरुको औपचारिक तथा अनौपचारिक भेटमा फिल्मसम्बन्धी छलफल भएमा पत्रकारले पनि आफ्ना विषयमा गहिराइमा डुबेर लेख्न सक्छन् ।’ पत्रकारको मिहिनतसँगै चलचित्रका क्षेत्रहरु सुधार भएमा चलचित्र पत्रकारिता राम्रो हुन सक्ने उनको अनुमान छ । पछिल्ला दिनमा मिडिया क्षेत्रमा लागेकाहरुको अध्ययन कम र परिपक्व नभएको उनको भनाइ थियो । ‘पछिल्ला दिनमा कुनलाई पत्रकारिता भन्ने कुनलाई नभन्ने छुट्याउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘कसैले अनलाइनमा लेख्यो, कसैले युट्युब चलायो भन्दैमा त्यसलाई पत्रकारिता नै भन्न जरुरी छैन ।’ आचारसंहिताभित्र रहेर मात्र सभ्य पत्रकारिता गर्न उनको आग्रह थियो ।

पत्रकारिताले कलाको साधनाबाट नाम र इज्जत कमाउने साधकलाई दर्शकसम्म पुर्‍याउन पुलको काम गर्दछ

चलचित्र पत्रकार संघ, कास्कीले आयोजना गरेको ‘चलचित्र समीक्षा कार्यशाला’ मा प्रशिक्षकहरुले समीक्षाका साथै चलचित्र पत्रकारिताबारे चर्चा गरेको थिए । २ दिनसम्म चलेको कार्यशालाको प्रशिक्षकमा तिमल्सेना र लामासँगै फिल्म लेखक राजेश गोंगजु पनि थिए । गोंगजुले पनि नेपाली चलचित्र र यसमा कलम चलाउनेहरु समय अनुसार परिपक्व हुन नसकेको बताए । विदेशी चलचित्र २/३ पटक हेरेर त्यसको सन्देश बुझिए पनि नेपाली फिल्म आँखा चिम्म गरेर सुनेमात्र प्रष्ट बुझ्न सकिने उनको भनाइ थियो ।
सो कार्यशालामा प्रशिक्षक गोंगजुले कसरी फिल्म हेर्ने, कसरी बुझ्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए भने तिमल्सेनाले चलचित्र पत्रकारिता र यसको इतिहाससहित समीक्षाका विषयमा प्रशिक्षण दिएका थिए । कार्यशालाको अन्तिम सेसनमा प्रशिक्षक दीपेन्द्र लामाले फिल्म समीक्षा किन गर्ने, समीक्षकको चरित्र, समीक्षकका गल्ती, समीक्षा कसरी गर्ने, समीक्षाको संचरना, समीक्षा राम्रो बनाउने उपाय र कमजोर पक्षबारे प्रशिक्षण दिएका थिए ।
संघका केन्द्रीय अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे । संघका कास्की शाखा अध्यक्ष अरुण गिरीले चलचित्र समीक्षा गर्ने संस्कृति थप स्थापित र फराकिलो बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा पोखराका ४५ जना पत्रकारको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width