मस्र्याङ्दी गाउँपालिकामा स्थानीय पाठ्यक्रम

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७८
Sthaniya pathyakramssss

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका स्थानीयस्तरमा पाठ्यक्रम बनाउने दोस्रो पालिका बनेको छ । यसअघि जिल्लाको मध्यनेपाल नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।
‘मस्र्याङ्दी गाउँपालिका भूलभूले लमजुङ’ नामक मस्र्याङ्दी गाउँपालिकाद्वारा नवनिर्मित पाठ्यक्रमको संविधान सभा सदस्य जमिन्द्रमान घलेले विमोचन गरे । घलेले स्थानीय विषयवस्तुका आधारमा निर्मित पाठ्यक्रमअनुसार पठनपाठन हुँदा बालबालिकालाई आफ्नो गाउँपालिकाबारे जानकार हुन पाउने अवसर मिल्ने बताए
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले शिक्षकलाई पाठ्यक्रमअनुसार अध्यापन गराउन निर्देशन दिएको बताए । उनले पाठ्यपुस्तकमा आफ्नो गाउँपालिकाभित्रका बालबालिकालाई गाउँपालिकाको समग्र वस्तुस्थिति भेषभूषा, धर्म, संस्कृति, कला, भूगोल, विभूतिलगायत समेटिएको जानकारी दिए । कक्षा १ देखि ५ कक्षासम्मका बालबालिकाका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ थियो ।
सोही पाठ्यक्रम अनुसार चालु शैक्षिक सत्रदेखि नै विद्यालयमा अध्यापन गराउने तयारी भएको गाउँपालिकाले जनाएको छ । शिक्षा शाखा प्रमुख देवराज पौडेलले अब हरेक विद्यालयमा पाठ्यक्रम पुग्ने र सोहीअनुसार शिक्षकले विद्यार्थीलाई अध्यापन गराउने जानकारी दिए
विद्यार्थीले आफ्नै गाउँ, आफ्नै ठाउँको बारेमा जानकारी पाउन सकून् भनेर र उनीहरूमा ज्ञान बढोस् भन्नका लागि गाउँपालिकाले पाठ्यक्रम बनाएको सो गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । उनकाअनुसार स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुख पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनेको थियो ।
मस्र्याङ्दी गाउँपालिकामा ५५ वटा विद्यालय छन् । यसमा ५३ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय छन् । ९ वटा माध्यमिक विद्यालय छ । माध्यमिक विद्यालयमा ८ वटा सामुदायिक र १ संस्थागत विद्यालय छ ।

Related News

सम्बन्धित समाचार

hero news full width