मुख्यमन्त्री – युएनडिपी आवासीय प्रतिनिधि भेट

गरिबी निवारणका लागि सहकार्यमा जोड

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
cm undp rr meet photo

पोखरा । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले उक्त प्रतिबद्धता जनाएकी हुन् ।
गण्डकी प्रदेशका २ लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने आवासीय प्रतिनिधि आसायनीले बताएकी हुन् । उनले भनिन्, ‘२ लाख नागरिक गरिब रहेको तथ्यांक छ, उनीहरुलाई दैनिक कम्तीमा २ सय रुपैयाँ आम्दानी गर्ने बनाउनुपर्ने छ, यसका लागि हामी सहयोग गर्छौं ।’ मानव विकास सूचकांकमा गण्डकीको अवस्था राम्रो भएको भन्दै उनले यहाँका असल अभ्यासलाई लुम्बिनी र कर्णालीमा लागु गर्नुपर्ने भनाइ राखिन् ।
मुख्यमन्त्री पोखरेलले युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए । उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु । आवश्यक निर्णयका लागि डिआरआरसँग अनुरोध गर्दछु ।’
मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि जुन परियोजनामा सहकार्य गर्न इच्छा देखाएकोमा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाए । उनले भने, ‘नव प्रवर्र्तनका क्षेत्रमा, साना तथा मझौला उद्योगको विकासमा, कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहाना छ ।’
मुख्यमन्त्री पोखरेलले उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण, डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गरे । युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास लगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार यहाँहरुसँग सहकार्य गर्न इच्छुक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
दीगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणमा युएनडिपीको सहयोग बढाउन आवश्यक देखेको भन्दै उनले यसमा सहयोग प्राप्त हुने अपेक्षा मुख्यमन्त्रीले व्यक्त गरे । दीगो विकास लक्ष्यको स्थानीयकरण, एकीकृत तथ्यांक विकास तथा अनुगमन प्रणाली तयार पार्न र अत्यावश्यक क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्न साझेदारहरुको समन्वय युएनडिपीले गरिदेओस् भन्ने चाहना रहेको उनले बताए ।
आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरु सघाउन तयार रहेको भनाइ राखिन् । नेपाल आउनु अघि मोरक्कोमा रहेर काम गरेकी आसायनीले नर्थ अफ्रिकाका मुलकबाट समेत नेपालले सिक्नुपर्ने बताइन् । मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यासलाई अनुसरण गर्दै दीगो विकासका लक्ष्य प्राप्तिमा नेपाल र प्रदेश सरकार अगाडि बढ्न उनले सुझाव समेत दिइन् ।
पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) आवासीय प्रतिनिधि आसायनीले पर्यटन क्षेत्रमा थप ५ हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा ६५ सय घन्टा काम दिलाउन लक्ष्य रहेको सुनाइन् ।
मुख्यमन्त्रीसँगको कार्यक्रममा गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मी, योजना आयोगका उपाध्यक्ष डा. काफ्ले, युएनडिपीको रिजनल अफिस बुटवलका प्रमुख सुदीप अर्याल सहभागी थिए ।
साथमा तस्बिर छ ।

Related News

सम्बन्धित समाचार

hero news full width