म भन्छु–‘गो राइनोज गो’

विनोद लामिछाने
असाेज ११, २०७८
go rhino go

नेपाली क्रिकेट प्रेमीहरुले लामो समयदेखि धैर्यताका साथ प्रतीक्षा गरिरहेको एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ । नेपाली क्रिकेटमा व्यवसायिकताको सुरुआत गरेको एउटा प्रतियोगिता, जसको अघिल्लो संस्करण कोरोना संक्रमणका कारण अन्तिम समयमा आएर रोकिएको थियो । प्रतियोगिता हुन नसक्दा टी–ट्वान्टे फर्मेटको यो लिग खेल्ने धोको पालेका धेरै नेपाली खेलाडीहरुको सपना तुहेको थियो । तर यसपटक स्वास्थ्य मापदण्डका विभिन्न उपायहरु अबलम्वन गरेर यो प्रतियोगिता सुरु गरिएको हो ।
५० लाखसहितको उपाधिका लागि यसपटक पोखरा राइनोजसहित काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमनेसामने हुँदै छन् । सहभागी सबै टिमले नेपालका विभिन्न सहरहरुको प्रतिनिधित्व गर्दै मैदान उत्रँदा एउटा टिम पोखरा राइनोजले पोखरालाई छातीमा टाँसेर मैदान उत्रँदै छ । त्यसैले एक पोखरेली भएको हुनाले पनि यो संस्करणको उपाधि हाम्रै टिमले जितोस् भन्ने चाहना हो ।
टिम म्यानेजर दीपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दाबी गरेका छन् । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखि नै ध्यान पुर्‍याएका छौं, टिममा अलराउन्डर खेलाडीको वर्चश्व छ,’उनले भनिन् ।
‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’–टिम वनरसमेत रहेकी अग्रवालले बताइन् । उनले राइनोजले सुन्दर सहर पोखराको प्रतिनिधित्व गर्दै मैदान उत्रन लागेको बताइन् । पोखरेलीहरुको साथ र माया पाउने उनको अपेक्षा छ । उनी थप्छिन्, ‘टिम राइनोज पोखराकै हो, हामी भन्न चाहन्छौं ।
त्यसो त प्रतियोगिता सुरु हुनु अगावै पोखरामा क्रिकेट क्याम्प लगाउने राइनोजको योजना थियो । तर कोरोना बाधक बन्न पुग्यो । पोखरामा केही सामाजिक काम गर्दै यहाँको क्रिकेट संस्कृतिको विकासमा केही इँटा थप्ने राइनोजको प्रयास हो । यद्यपि राइनोजको यो प्रोरेक्ट खेर नजाने अग्रवालको भनाइ छ । ‘हामीले सुन्दर पोखरालाई हराभरा सहर बनाउन आधुनिक ढंगबाट वृक्षरोपणको कार्यक्रम ल्याउने छौं, यसका लागि एउटा सफ्टवेयरको विकास गर्दै छौं, यो सफ्टवेयरले कसले कहाँ वृक्षरोपण गर्न चाहेको छ, त्यहीं वृक्षरोपण गर्न पाउँछ र त्यो वृक्षको अवस्था घरमै बसेर पनि थाह पाउन सक्छ, जसले गर्दा त्यसको संरक्षण रोपण गर्ने स्वयंले गर्न सक्छ,’उले भनिन् ।
हुन त पोखरामा गैंडा छैन । गैंडा नभएको सहरको नाम गैंडासँग जोड्नु पनि केही नमिल्दो लाग्न सक्छ । तर राइनोजको प्रतिनिधित्व गर्दै पोखराको जर्सी लगाउनेहरु नै पोखराका गैंडा हुन् भन्ने सन्देश पनि यो टिमले दिएको छ । यो टिम पोखरेलीकै हो भन्ने सन्देश दिन राइनोजको टिम भदौको अन्तिम साता यहाँ आएको थियो । त्यतिबेला टिम व्यवस्थापन पक्षले पोखराका व्यवसायी, उद्योगी, समाजसेवी, लब्धप्रतिष्ठित व्यक्तित्व, क्रिकेट संघका पदाधिकारी, खेलाडी, खेलप्रेमी, नागरिक समाज लगायतसँग भेटघाट गरी राय सल्लाह सुझावसमेत संकलन गरेको थियो ।
गत वर्ष पोखरामै सम्पन्न क्षेत्रीय क्रिकेट लिगमा उत्कृष्ट खेल पस्कँदै सारा पोखरेलीको मन जित्न सफल १५ वर्षीय युवा खेलाडी अर्जुन कुमाललाई राइनोजले आफ्नो टिममा राखेको छ । त्यस्तै पोखराकै स्पिनर विपीन खत्री पनि यही टिममा छन् भने लामो समयदेखि पोखराको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पु¥याएका खेलाडी रिजन प्रजु यो टिमको फिल्डिङ कोचमा छन् ।
राइनोजले नेपाली मार्की खेलाडी राष्ट्रिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेस्ट इन्डिजका केसरिक विलियम, श्रीलंकाका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेश गरेको छ । टिमका अन्य खेलाडीमा सुनील धमला, रीत गौतम, विपीन रावल, लोकशबहादुर बम, रवीन्द्र शाही, विवेककुमार यादव, सुसान भारी, किशोर महतो, विक्रम शोव, नन्दन यादव र देव शाह छन् । टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन विनोद भण्डारी, बलिङ कोच शक्ति गौचन रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width