सुइँखेतवासी ४० वर्षदेखि पानीको प्रतीक्षामा

श्रीभद्र पौडेल
असाेज ११, २०७८
news 10 shreebhadra hemaja

हेमजा । पोखरा–२५, सुइँखेतकी भगवती अधिकारी आइतबार बिहान निकै प्रशन्न देखिइन् । उनले गाउँको १ कार्यक्रममा सहभागी २० बढी अतिथिलाई पनि आफ्नै घरमा खाना बनाएर खुवाइन् ।
पिउने पानी अभावका बीच विगतमा घर पाहुना कम संख्यामा आइदिए हुन्थ्यो भन्ने लाग्ने अधिकारी आइतबार यतिका अतिथिलाई खुसीसाथ खाना खुवाउन किन तयार भइन् त? भन्ने विषय कतिपयका लागि अनौठो पनि लाग्यो । त्यसमाथि उनले प्रत्येक पाहुनालाई गिलासै भरि पानी पनि दिइन् ।
पाहुँनामध्ये गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल पनि थिए । उनले खाना खाइरहँदा मनमनै नेपाली ग्रामीण गृहणीलाई पानी तथा दाउराको समस्याले कसरी पिरोल्छ भन्ने सोचिरहे । त्यसपछि उनलाई लाग्यो आमा दिदीबहिनीलाई स–साना कुराले कतिको गहिरो प्रभाव पार्दछ भनेर ।
यो परिवेश आइतबार बिहान हेमजा, सुइँखेतको हो । विगत ४० वर्षदेखि पिउने पानीको समस्या झेल्दै आएको सो ठाउँमा गण्डकी प्रदेश सरकारको लगानीमा आइतबार खानेपानी योजनाको शिलान्यास गरियो । जसकारण समस्या समाधान हुने आशमा भगवतीले त्यतिमा मात्रामा अतिथिलाई खुसी साथ खाना खुवाउने वातावरण बन्यो ।
आफ्नो गाउँ नजिकैका मुहानबाट पानी अन्यत्रै लगिसके । अभावका बीच कतिपय परिस्थतिमा तिनै लगिएका पाइपबाट पानी खोल्नुपर्‍यो, पेटभरि पानी पिउन त धेरै परको कुरा कतिपय अवस्थामा महिना दिनसम्म पनि नुहाउन पाइएन, अभावकै कारण पशुवस्तु पाल्न पनि समस्या भयो, फोहोर कपडा पनि चैत, वैशाखतिर पुछेरै लगाउँदै हिँड्नु परेको सुइँखेतका अर्जुन अधिकारी बताउँछन् ।
आइतबार खानेपानी योजनाअन्तर्गत टंकीको शिलान्यास गर्दै प्रदेश अर्थमन्त्री बरालले सरकार जनताको आधारभूत खानेपानीको अधिकारप्रति सचेत रहेको सुनाए । आफू जनताको प्रतिनिधि भएको नाताले उनीहरुका समस्या समाधान गर्नु आफ्नो कर्तव्य भएको उनले स्पष्ट पारे ।
मन्त्री बरालले खानेपानी योजनामा रकम अभाव हुन नदिने पनि प्रतिबद्घता जनाए । त्यसका साथै सुइँखेत खोलामाथि झोलुंगे पुल निर्माण, खोला नियन्त्रण, आमा समूह भवनको मर्मतमा सहयोगका साथै सुइँखेतवासीलाई पायक पर्ने गरी मतदान केन्द्रको व्यवस्थापनमा पनि आफूले भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जा प्रमुख हरिप्रसाद तिमिल्सिनाले योजनाको बिस्तृत विवरण सुनाए । जसअनुसार दोस्रो चरणमा हुने यसपटकको कार्य अन्तर्गत तिनखोल्से बिमिरेघारीबाट पानी लगी १ सय घनमिटरको आरसिसी टंकी, आरसिसी इन्टेक, पाइपलाइन बिस्तार, मुहान संरक्षणका काम हुनुका साथै १ सय ४८ घरधुरीमा निजी धारा जडान गरिने उनले बताए ।
उनले निर्माणको गुणस्तरमा ख्याल गर्न स्थानीयवासी समक्ष आग्रह गर्दै कार्यालयबाट सक्दो सहयोग रहने प्रतिबद्वता पनि जनाए । वडाध्यक्ष शोभाकर तिम्सिनाले आगामी पुस्तालाई पनि ख्याल गरी योजना सम्पन्न गर्नुपर्ने बताए । उनले हेमजामा खानेपानी संस्थानले भ्रष्टाचारलाई प्रश्रय दिइरहेकोतर्फ संकेत गर्दै त्यस्तो गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारे ।
त्यस अवसरमा पार्टी प्रतिनिधिहरु एमालेका ऋषिराम पौडेल, कांग्रेसका मधुसुदन त्रिपाठी, नेकपा (माओवादी केन्द्र) का माधवशरण पौडेललगायत लौसीबोट खानेपानी समितिका उपाध्यक्ष दीपकबहादुर थापा, सिर्जनशील आमा समूहकी सचिव गीता अधिकारी, खानेपानीका अध्यक्ष तिलकराज अधिकारी, सचिव देवीप्रसाद अधिकारी, उपाध्यक्ष निरेश अधिकारी, कार्यक्रम संयोजक रमेश अधिकारी लगायतले पनि बोलेका थिए ।
उनीहरुले अधिकतम जनतालाई फाइदा पुग्ने गरी योजना सञ्चालन गर्नुपर्ने, निर्माण सामग्री र गुणस्तरमा चनाखो रहनुपर्ने, जनप्रतिनिधिले जनताको पिर मर्का बुझनुपर्ने लगायत धारणा राखे ।
तीन चरणमा सम्पन्न हुने उक्त योजनाको कुल लागत ४ करोड ८२ लाख ६ हजार ३ सय १ छ । जसमार्फत ४ सय घरधुरीका कुल २ हजार १ सय ४८ जना लाभान्वित हुनेछन् । पहिलो चरणअन्तर्गत बाँसबोटमा १ घर १ धारा योजना सम्पन्न भइसकेको छ भने अब अम्बिका चोक (माँझभाटी) मा मात्रै काम सुरु हुन बाँकी छ । योजना निर्माण सुरु भएसँगै वर्षै अघिदेखिको खानेपानी समस्या समाधान हुने आशा पलाएको स्थानीय गीता अधिकारी बताउँछिन् ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width