पोखराको पर्यटनमा ग्रीन सिग्नल !

प्रकाश ढकाल
असाेज ११, २०७८
rajdut Final

पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजनासहित पोखरा र आसपासका सबै होटल रेस्टुरेन्टहरु खुलेका छन् । यो वर्ष गण्डकीका हिमाल चढ्नेहरुको उत्साह निकै धेरै छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएका २३० मध्ये २१४ जनाले गण्डकीका ३ हिमाल चढ्दै छन् । ८१६७ मिटर अग्लो धवलागिरिमा ४ टोलीबाट २८ पुरुष तथा १२ महिला गरी ४० जनाले अनुमति लिएका छन् भने ८१६३ मनास्लुमा १७ टिमबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जनाले आरोहण अनुमति लिएका छन् ।
७२४६ मिटरको पुथा हिमाल चढ्न ३ जनाले अनुमति पाएका छन् । उनीहरुको आरोहणबाट ३ करोड २ लाखभन्दा बढी आम्दानी भएको छ । हिमालमा मात्रै होइन पदमार्गहरुमा पनि बिस्तारै पर्यटक देखिन थालेका छन् । ‘मर्दी हिमाल ट्रेकिङ गर्नेहरु अलिअलि आउन थालेका छन्,’ त्यहाँका व्यवसायी सुदीप गौतमले भने, ‘पर्यटक देखेपछि ऊर्जा आएको छ । अब सहज होला भन्ने आश छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत जोमसोम हुँदै थोरङ पास गर्नेहरु जान थालेका एक्यापका जोमसोम अधिकृत ऋषि बरालले बताए ।
‘मुस्ताङ छिर्न पिसिआर अनिवार्य छ । तर पनि पर्यटक आइरहनु भएको छ,’ उनले भने, ‘दिनमा ८–१० जनाले इन्ट्री गर्छन् । उनीहरु कोही धवलागिरितिर गएका छन् भने कोही लोमान्थाङ उक्लिएका छन् ।’ मनाङले पर्यटक डाक्न गन्तव्यहरुको रेकी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण पदमार्गको अनुगमन गरेको हो ।
बाढीपहिरोका कारण पदमार्गमा क्षति पुगे पनि मर्मतसम्भार गरेर पर्यटकलाई सहज बनाउने उनले बताए । ‘कोरोना अलि घटेकोजस्तो छ । अब त पर्यटक आएनन् भने मनाङीहरु भोकै हुन्छन्,’ उनले भने, ‘गन्तव्यहरुमा समस्या छैन । बाटो कतैकतै बिग्रिएको छ । तत्कालै मर्मत टोली खटाउँछौं ।’ मनाङ ङिस्याङ गाउँपालिकाले विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल पुग्ने बाटो मर्मत गरेको छ । त्यसबाहेक सार्वजनिक शौचालय पनि निर्माण भएको छ । तल्लो मनाङमा सडक मर्मत चलिरहेको छ । बाढीका कारण अधिकांश सडक बगेपछि तीनै तहको सरकारले मर्मत सुरु गरेको हुन् ।

गण्डकी सरकारको समन्वयमा ११ देशका राजदूतसहित उच्च पदाधिकारीहरु ४१ औं विश्व पर्यटन दिवसमा पोखराको पाहुना बनेका हुन्

सोमबार विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको छ । थलिएको पर्यटन उकास्न कोभिडकै बीचमा पोखराका पर्यटन व्यवसायीहरुले ५ घन्टाको सडक महोत्सव आयोजना गरेका छन् । निजी क्षेत्रले मात्रै होइन, सरकारले पनि पर्यटनको पुनरुत्थानमा प्रयास देखाएको छ । गण्डकी सरकारको समन्वयमा ११ देशका राजदूतसहित उच्च पदाधिकारीहरु पोखरा भ्रमणमा आएका छन् । आइतबार पोखरा आइपुगेका उनीहरु २ भ्रमणमा रहनेछन् ।
विश्व पर्यटन दिवसको अवसरमा पोखरा खुलेको सन्देश दिन राजदूतको भ्रमण गराइएको हो । भ्रमणमा युएई, कतार, फिनल्यान्ड, दक्षिण कोरिया, साउदी अरेबिया, श्रीलंका, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मन र मलेसियाका राजदूत सहभागी छन् । ४१ औं विश्व पर्यटन दिवस मनाउनकै लागि राजदूहरु पोखराको पाहुना बनेका हुन् ।
राजदूतका साथमा कुटनीतिक नियोगका पदाधिकारीसहित २५ जनाको टोली छ । उनीहरुको भ्रमणले लामो समयदेखि थलिएको पर्यटन व्यवसाय उकासिने व्यवसायीहरुको अपेक्षा छ । भ्रमणदलले सोमबार बिहान धार्मिक तथा प्राकृतिक सम्पदाहरुको भ्रमणसँगै हाइकिङ गर्ने छन् । अन्नपूर्ण गाउँपालिकास्थित नाउँडाडाबाट लन्चका लागि सराङकोट पुग्नेछन् । त्यसपछि सरकारी प्रतिनिधिसहितको उपस्थितिमा कास्कीकोटको भुजेल गाउँदेखि दरबार हुँदै कश्यप तालसम्म हाइकिङ हुनेछ ।
दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्ने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले जानकारी दिए । लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।
‘बिस्तारै खुल्दै छ पोखरा । नेपाल सुरक्षित छ । त्यसैले पर्यटक डाक्न प्रवद्र्धनको काम गरेका हौं,’ उनले भने, ‘लामो समय स्थिर रहेको पर्यटनमा यसले पक्कै उत्साह भर्छ । कोभिडको रेट घटेको छ । धेरैले भ्याक्सिन लगाएका छन् । घुम्दा सुरक्षा अपनाउनुपर्छ, तर अब नेपाल असुरक्षित छैन भन्ने सन्देश दिन लागेका हौं ।’ उनले छिमेकी मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा जान यो कार्यक्रम सबैभन्दा प्रभावकारी हुने बताए ।
‘निजी क्षेत्र लागेको छ । सरकारले साथ दिएको छ । हाम्रा विदेशी पाहुनाहरुको भ्रमणबारे मिडियामा जाँदा ठूलो प्रचार हुन्छ । उपलब्धि राम्रो हुन्छ भन्ने विश्वास छ,’ भट्टराईले भने, ‘अहिले आन्तरिक पर्यटकको चहलपहल अलि बढेको छ । बिस्तारै भाइब्स आइरहेको छ अब छिमेकी मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा जान यो माध्यम राम्रो हुन्छ ।’ केही दिनअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको टोलीले समेत पोखराको औपचारिक भ्रमण गरेर फर्किएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width