कांग्रेस पोखरा महानगर नगर सभापतिमा सुरेन्द्रमान विजयी

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
01 Surendra Man Bijukchhe Photo

पोखरा, १० असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छेले बाजी मारेका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । उनी यसअघि नगर उपसभापति थिए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव समेत रहेका बिजुक्छेले अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका छन् । शनिबार भएको मतदानमा १ हजार ३ सय ७० मतदातामध्ये १ हजार ३ सय ४४ खसेको थियो ।

यसैगरी सभापतिकै उम्मेदवार पोखरा ९का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन् ।

नगर उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भए । चुनावमा ६ प्रतिस्पर्धी थिए । सचिवमा टुवराज बास्तोला विशाल र गणेशबहादुर थापा निर्वाचित भए । निर्वाचन समितिले भने आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।

को हुन् सुरेन्द्र ?
बिजुक्छे २०३६ सालमा पृथ्वीनारायण क्याम्पस पढ्दा नै नेविसंघमा लागेका उनी पञ्चायतकै बेला वडा २ को सभापति भएका थिए । लामो समय क्रियाशील रहेर पनि उनी लाभको पदबाट वञ्चित छन् । आन्दोलनमा लाग्दा उनी जेल जान पनि तयार भए । कोषाध्यक्षहुँदै उपसभापति बनेका उनी आर्जेको अनुभव सभापतिको रुपमा पार्टीकै हितमा प्रयोग गर्ने एजेन्डासहित चुनावी मैदानमा थिए ।

आफूले कांग्रेसलाई दिने काम मात्रै गरेको तर लिने काम नगरी लाभको पद नलिएको उनको भनाइ छ । आउँदो स्थानीय चुनावमा भाग नखोजी क्रियाशील अरुलाई अगाडि सार्ने उनको योजना छ । पार्टी बलियो बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको समेत उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघ महासचिव बिजुक्छेमा यसअघि नगर उपसभापतिको पनि अनुभव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width