प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
itf~prakash 2

पोखरा  । बागलुङको विकट क्षेत्र बोबाङमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता भएको छ । ढोरपाटन ८, बोबाङमा पहिलो प्रदेशस्तरीय तथा दोस्रो बागलुङ जिल्लास्तरीय प्रतियोगिता भएको हो ।
गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद र युवाका लागि आफ्नो मन्त्रालयले अधिकतम प्रयास गरेको बताए । ‘हाम्रो मन्त्रालयको काम नै युवालाई रोजगारी सिर्जना गर्ने हो । अझ खेलाडीलाई उत्पादनमा जोड्न लागेका छौं,’ उनले भने, ‘खेल क्षेत्रको विकासमा विज्ञहरुको सुझाव लिएका छौं । जहाँ पूर्वाधार छैन, त्यहाँ पूर्वाधार विस्तार गर्ने छौं ।’
गण्डकी खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङले राज्यले नै खेल क्षेत्रको महत्व नबुझेको गुनासो गरेका छन् । धेरै खेलको सम्भावना नेपालमा भए पनि आवश्यक संरचना बनाउन सरकारले ध्यान नदिएको उनले सुनाए । ‘खेलाडीहरु कुनाकाप्चामा छन् । उनीहरुलाई खेल्ने मन छ । तर खेल्ने ठाउँ र सामग्री छैन,’ उनले भने, ‘गण्डकी सरकारसँग धेरै स्रोत त छैन तर भएको स्रोतको उच्चतम उपयोग गरेर आवश्यक्ताका आधारमा वितरण गर्छौं ।’ पूर्वाधार र खेल सामग्रीको अभाव भएको भन्दै उनले सकेजति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारले खेलाडी दुर्घटना भए त्यसको उपचार निशुल्क गर्ने व्यवस्था मिलाएको छ । पोखराको अन्नपूर्ण अस्पतालमा खेलाडीको स्तरअनुसार छुटमा उपचार हुन्छ । अन्तर्राष्ट्रिय खेल खेलेकालाई सत्प्रतिशत निशुल्क छ भने राष्ट्रिय खेल खेलेकालाई ५० प्रतिशत शुल्क छुट हुने गुरुङले जानकारी दिए ।
आइटिएफका गण्डकी अध्यक्ष घमबहादुर थापाले सबैखाले एकताको स्रोत खेलकुद भए पनि खेल क्षेत्रमा राज्यको नजर नपुगेको बताए । ‘विश्वभर विभाजन छ विभिन्न नाममा । तर खेल क्षेत्र मात्रै यस्तो हो, जहाँ एकता मात्रै हुन्छ,’ उनले भने, ‘हामी एकताका लागि मिहिनत गरिरहेका छौं । धेरै युवाहरु कुलतमा फसिरहनुभएको छ । उनीहरुलाई खेल क्षेत्रमा जोड्न सके समाज राम्रो बन्छ ।’ निसीखोला र तमानखोला गाउँपालिकाका अध्यक्षहरुले ग्रामीण पूर्वाधारमा साथ दिन आग्रह गरे । बागलुङबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि त्यसअनुसार पूर्वाधार नभएको उनीहरुको गुनासो छ । प्रदेशका ६ जिल्लाको प्रतिनिधित्व रहेको खेलमा जिल्लास्तरीय प्रतिस्पर्धामा ९ टीमले भाग लिएका थिए । प्रतियोगिता २ दिन चलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width