शुभ अवसर ग्रामको तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
Suvagram

पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको तालिममा करिब ३० प्रशिक्षार्थीको सहभागिता थियो ।
तालिम समापन गर्दै पोखरा महानगरपालिका वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले संस्थाले गरेको कामको प्रशंसा गरे । उनले यसखालको कार्यक्रमले उत्साह थप्ने बताए । थोरै लगानीले पनि नयाँ निकासको बाटो मिल्ने तथा ठूलो प्रेरणा मिल्ने उनको भनाइ थियो । उनले वडाले पनि लघुबित्तको समन्वयमा ऋण लगानीको लागि पहल गर्ने आश्वासन दिए ।
अध्यक्षको आसनबाट संस्थाका उपाध्यक्ष विमला लामाले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने सुझाव दिइन् ।
संस्थाद्वारा सञ्चालित मानव बेचबिखनविरुद्ध परियोजनाका संयोजक अन्थोनिया सुसैले सेवाग्राहीलाई तालिमले ऊर्जा मिल्ने बताइन् । उनले व्यवसाय संचालनका क्रममा विभिन्न किसिमका अड्चन आए आफूहरुसँग समन्वय गर्नुपर्ने सुझाव दिइन् ।
तालिमका प्रशिक्षक निर्मल भण्डारीले नजानेको कुरा जान्न इच्छुक बन्नुपर्ने र योजना बनाएर व्यवसाय गर्नुपर्ने सुझाव दिए । व्यवसाय सञ्चालनक्रममा दैनिक हिसाबकिताब राख्नुपर्ने पनि उनको सुझाव थियो । तालिममा बजार व्यवस्थापन, वित्तीय योजना, व्यवसाय छनोट, प्राविधिक कुरा, पूर्वाधारको छनोटबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षार्थीको तर्फबाट शान्ति बिक, रजिनाकुमारी सार्की, श्रीतृषा खड्काले तालिम निकै फलदायी भएको बताए । उनीहरुले परियोजना आएपछि आफै जिविकोपार्जन गर्न सक्षम बनेको र आफैले व्यावसायिक योजना सकेको भन्दै खुसी व्यक्त गरे । तालिमको उद्घाटन पोखरा महानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्माले गरेकी थिइन् ।
२०५५ सालमा स्थापित शुभ अवसर ग्राम नेपालले मानव बेचबिखनको जोखिममा परेका, मनोरञ्जन क्षेत्रमा संलग्न दिदीबहिनीको हितमा काम गर्दै आएको संस्थाका सामाजिक परिचालक एवं मनोविमर्शकर्ता अम्बिका पौडेलले जानकारी दिइन् । उनका अनुसार संस्थाले बेलाबेलामा गरेको आर्थिक सहयोगबाट महिला दिदीबहिनीहरु व्युटीपार्लर, खाजाघर, तरकारी पसल, चुरामाला पसल, टेलरिङ लगायतका पसल सञ्चालन गरिरहेका छन् ।
तालिमको सहयोगी संस्था गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपाल हो । शुभ अवसर ग्राम नेपालको प्रधानकार्यालय काठमाडौंमा छ । संस्थाले पोखराको हेमजामा चाइण्ड प्रोटेक्सन होम समेत सञ्चालन गर्नुका साथै २०७३ सालदेखि मानव बेचबिखन परियोजना सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width