विभाजन रोज्दैन मुस्ताङ, मनाङ एक ढिक्का

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
UML

पोखरा । आजभन्दा २४ वर्षअघि एमाले विभाजन भएर २ पार्टी बन्दा देशभरि छुट्टाछुट्टै कमिटी गठन भए । एकले अर्कालाई सिध्याउने राजनीति पूर्ववतः एउटै पार्टीमा हुन थाल्यो । त्यसको नराम्रोसँग पराजय एमालेले भोग्यो पनि । दुवै पार्टीले अपेक्षाकृत नतिजा ल्याउन सकेनन् । देशभर छुट्टाछुट्टै पार्टी बन्दा मुस्ताङ मात्रै एउटा जिल्ला उदाहरण बन्यो, जहाँ एमाले विभाजन भएन । पछि पार्टी एकीकृत भयो । एमालेले खासखास समयमा विजय पनि हासिल ग¥यो । १२ वर्षमा खोलो फर्किने नेपाली उखान गलत सावित गर्दै १२ वर्षमा एमालेभित्र उर्लिएको खोलो सर्लक्कै फर्कियो । दुइतिहाई नजिकको पार्टी विभाजन भएर अहिले प्रतिपक्षमा बसेको छ ।
पार्टी विभाजन भएपछि निर्वाचन आयोगले भदौ २२ सम्म प्रदेश र स्थानीय जनप्रतिनिधिलाई पार्टी रोज्ने समय दियो । गण्डकीका ३ जिल्लामा विभाजनको सनाखत शून्य भयो । लमुजङ, मनाङ र नवलपुरका कसैले पनि विभाजन रोजेनन् । मुस्ताङमा पनि १ जनाले मात्रै एकीकृत समाजवादी रोजिन् । गण्डकीका सबै जिल्लाबाट ४० जना जनप्रतिनिधि मात्रै विभाजनको पक्षमा उभिए । त्यसमाथि प्रभावशाली नेताहरुले माधवकुमार नेपालसँगको साथ छोडे । नेपाललाई समानान्तर गतिविधि गर्न उक्साउने नेताहरु एमालेमै रहे ।
२०५४ को विभाजनले बारम्बार नतिजा गुमाएको पीडा उनीहरुलाई ताजै छ । अरु जिल्लामा सामान्य प्रभाव विभाजनले पारे पनि मनाङ र मुस्ताङ पार्टी फुटको विपक्षमा छ । ९ जिल्लामा नेकपा (एकीकृत समाजवादी) ले पार्टी बिस्तार गरिसक्दा मनाङ र मुस्ताङमा कमिटीमा बस्ने मान्छे पनि पाएको छैन । ‘समानान्तर कमिटी दबाबका लागि थियो, विभाजनका लागि थिएन । क्षमता भएका तर अवसर नपाएकाहरु त्यो कमिटीमा हुनुहुन्थ्यो,’ प्रभावशाली नेतृ श्रीमाया थकाली भन्छिन्, ‘मुस्ताङमा मैले नै फुटाउन मानिनँ । मान्छे मात्रै उभ्याएर भएन, त्यसले लिने नीति, त्यसको गति कहाँसम्म जाने हो ?’ ११ जिल्लामध्ये मनाङ र मुस्ताङको परिवेश अरुभन्दा फरक भएकोले विभाजन नहुने उनको भनाइ छ ।

समाजवादीले अधिकांश जिल्लामा समानान्तर कमिटीलाई नै मूल पार्टीको मान्यता दिएको छ

समाजवादीले अधिकांश जिल्लामा समानान्तर कमिटीलाई नै मूल पार्टीको मान्यता दिएको छ । कास्कीमा धनराज आचार्यको अध्यक्षतामा १ सय ८५ सदस्यीय कमिटी गठन भएको छ । म्याग्दीमा कृष्णकुमार श्रेष्ठ, पर्वतमा मोती पौडेल, तनहुँमा शंकरनारायण श्रेष्ठ, गोरखामा यादव बस्नेत, नवलपुरमा शालिकराम भट्टराई, लमजुङमा रामबावु अधिकारी र बागलुङमा लालबहादुर थापाको नेतृत्वमा १ सय ५१ सदस्यीय जिल्ला कमिटी बनेको छ । आरसी भट्टराईले नेतृत्व गरेको स्याङ्जामा १ सय ५५ सदस्यीय छ । समाजवादीले पोखरा महानगरमा पनि छुट्टै कमिटी गठन गरेको छ । मुक्तिनाथ पौडेलको अध्यक्षतामा १ सय ४१ सदस्यीय कमिटी गठन भएको प्रदेशका सहसचिव श्रीनाथ बरालले जानकारी दिए । मनाङ र मुस्ताङमा पनि केही समयभित्रै पार्टी गठन हुने उनले दाबी गरे । ‘साथीहरुसँग कुरा भैरहेको छ । अहिले बाढीपहिरोले त्यता जान सक्ने अवस्था बनेको छैन,’ बरालले भने, ‘छिट्टै सबै जिल्लामा पार्टी बिस्तार हुन्छ ।’ उनका अनुसार ३ महिनाभित्र सबै तहका कमिटी बनाइसक्ने निर्णय छ ।
केन्द्रीय समितिमा गण्डकीको उपस्थिति सामान्य
समाजवादीको केन्द्रीय कमिटी बैठकले केही जिम्मेवारीहरु थपेको छ । गण्डकीबाट प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठलाई केन्द्रीय उपाध्यक्ष बनाइएको छ भने तुलबहादुर गुरुङ र शारदाप्रसाद सुवेदी स्थायी कमिटी सदस्य बनेका छन् । यस्तै, चूडामणि जंगली, प्रतापलाल श्रेष्ठ, श्रीनाथ बराल, दीलुकुमारी पन्त र विजय गुरुङ पोलिटव्युरो सदस्य चयन भएका नेता बरालले बताए । गण्डकी यसै पनि माधव नेपाल समूहको कमजोर प्रदेश हो । यहाँका २७ प्रदेश सांसद र प्रतिनिधिसभा सांसदमध्ये कोही पनि विभाजनमा गएका छैनन् । गाउँपालिका र नगरपालिकातर्फ पनि आँधिखोला गाउँपालिका उपाध्यक्ष मात्रैले विभाजन रोजिन् । विभाजनमा लाग्नेहरु अधिकांश वडाध्यक्ष र सदस्यहरु छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width