एमसिसी बोकेर हिंड्नेहरु भस्म हुन्छन्ः विप्लव

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
biplap photo by photo milan~final

नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पोखरामा बुधबारदेखि सुरु २२ औं राष्ट्रिय सम्मेलनमा नेकपा महासचिव विप्लवसहितका अतिथि । तस्बिर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज ।

पोखरा  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी बोकेर हिड्नेहरु भस्म हुने चेतावनी दिएका छन् । एमसिसीसँग अमेरिकन साम्राज्यवाद छिर्ने उनको तर्क छ ।
‘एमसिसीको नाममा डलर बोकेर आउँदैछन् । योसँगै भित्रबाट अमेरिकन साम्राज्यवादका दाह्रानङ्ग्रा यहाँ घुस्दैछन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ,’ पोखरामा बुधबारदेखि सुरु अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘यो कुरा सत्तामा बस्ने पार्टीहरुले किन नबुझेको ? पार्टीहरुले किन नबुझेका ? रकमी भाषा किन प्रयोग गर्ने ? एमसिसी बोकेर हिंड्नु भनेको आगोको भुङ्ग्रो बोकेर हिंडेजस्तै हो । कसैले एमसिसी जबर्जस्ती लाद्छु भन्यो भने त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्ने छ ।’
कुनै हालतमा एमसिसी लागु हुन नदिने विप्लवको चेतावनी छ । ‘नेपालको भाँडभैलोमा अमेरिकाले ठूलो फाइदा उठाउन चाहन्छ । देश र पार्टी कमजोर बनाएर लुट्ने साम्राज्यवादीहरुको नीति हो,’ उनी भन्छन्, ‘जनतालाई निराश बनाउने, फुटाउने र देशमाथि घोडा चढ्ने साम्राज्यवादीहरुको चरित्र हो । यसको प्रतिरोध जनताले गर्नेछन् ।’ डलरको लोभमा नफस्न उच्च पदस्थ कर्मचारी र नेताहरुलाई उनको आग्रह छ । ‘आज गण्डक सम्झौताले कस्तो असर गरेको छ ? कोशी सम्झौताले के गरेको छ ?,’ उनले थपे, ‘विदेशी सहयोग यस्तै हो । हामी देशभित्र एनसेलको बक्यौता उठाऔं । बेरुजु फिर्ता गराऔं । यसैमा हीत हुन्छ ।’
विप्लवले अहिलेको संसदीय व्यवस्था असफल भैसकेको भन्दै जनमत संग्रहमा आउन सरकारलाई चुनौती दिएका छन् । ‘यो व्यवस्था चलेन नि त । हामीले ७३ सालमै भनेको हो । त्यतिबेला कसैले सुनेन,’ उनले भने, ‘हामी देशको भविष्य बोकेर हिंडेका हौं । खुट्टा कमाउँदैनौं । केही साथीहरुले तपाईंहरु जित्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । नेपालमा जनमत संग्रह सुनिश्चित गरौं, हामी जित्छौं । एक प्रतिशत पनि नघटाएर भन्छु, हामी जित्छौं ।’
आफूहरु सरकारसँग गरेको तीनबुँदे सहमतिमा इमानदार भए पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको उनको गुनासो छ । ‘तीनबुँदेमा हामी सहमत छौं, लागु गर्छौं । त्यो हामीलाई स्वीकार छ । तर सरकारले सम्झौता लागु नगरेर अर्को शर्त थुपारिन्छ भने त्यो घेरा तोडिदिन्छौं । सरकारलाई हेक्का होस्,’ विप्लवले भने,’ ‘सहमति गर्ने लागु नगर्ने, वचन दिने पालना नगर्ने, सहकार्य गर्ने धोका दिने संसदीय व्यवस्थाको चरित्र हो भने हामीले बुझ्नुपर्छ । हामीले केपी ओलीसँग विश्वास गरेर सहमति गर्‍यौं । शेरबहादुर देउवाजीसँग पनि भेटेर कुरा ग¥यौं । सहमति कार्यान्वयन हुन्छ भन्नुभएको छ । तर भएको छैन ।’ सम्मेलनले नयाँ नेतृत्व छनोट गर्नुका साथै नयाँ शिक्षा प्रणालीको प्रस्ताव तयार गर्नेछ ।

नेकपा महाधिवेशन फागुनमा
नेकपाको महाधिवेशन आगमी फागुनमा हुने भएको छ । बन्दीपुरमा बसेको पार्टीको ११ औं केन्द्रीय कमिटी बैठकले जनयुद्ध दिवस अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो ।
असोज १ देखि सुरु प्रशिक्षण र बैठकले पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको जिल्ला सहइन्चार्ज नीरु थापाले जानकारी दिइन् ।
उनले भनिन्, ‘जनयुद्ध सुरु गरिएको फागुन भएको हुनाले सोही महिनामा महाधिवेशन गर्ने निर्णयसहित तयारी गरेका छौं । गते भने यकिन छैन,’ उनले भनिन्, ‘महाअधिवेशन गर्नुपूर्व कात्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने समेत पार्टीको बैठकले निर्णय गरेको छ ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक बन्दीपुरमा बसेको बैठकले मंसिर ८ मा पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुनर्गठन गर्ने समेत निर्णय गरेको छ । ७६ केन्द्रीय सदस्यको उपस्थिथिमा भएको बैठकले भ्रष्टाचारविरुद्ध भण्डाफोरको लागि सडकमा प्रदर्शन गर्ने, स्वास्थ्य सामग्री खरिदका समयमा बाहिर आएका अनिमितता घटनाप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width