मस्जिदमै कक्षा सञ्चालन

रासस
असाेज ६, २०७८

पर्वत । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो ।

ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो । मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आइएको छ । बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो ।

“मस्जिदमा प्रार्थना गर्न आउने हो । यहाँभित्र छिर्न निश्चित पोसाक ताकिएको हुन्छ । तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ । हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन,” मौलाना ९शिक्षक० मोहम्मद अकबर अलीले भन्नुभयो, “हामी थोरै सङ्ख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो ।”

विसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।

मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउनुहुन्छ । मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उहाँले बताउनुभयो । “नगरपालिकाले वर्षको एकपटक एक लाख रुपैयाँ दिने गरेको छ । त्यसले त शिक्षकलाई ६ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ,” उहाँले भन्नुभयो, “हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एकजना शिक्षक चाहिएको छ ।”

कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिनुभयो । विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक रु एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप रु दुई लाख ४१ हजार दिइएको उहाँको भनाइ छ ।

“विसं २०६८मा अनुमति पाएको विद्यालय अहिले पनि उस्तै किन रु किनकि राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि मात्र अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयको नाम के हो भन्ने थाहा छैन, विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटर प्याड र छाप पनि छैन । बिहान र बेलुका आफ्नो तरिकाले यहाँ पढाइ भएको छ । तर १० देखि ४ बजेसम्म पढाइ हुनुपर्छ ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन् । अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्मावासी सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

कुश्माको मदरसामा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरु बिहान–बेलुकाको समयमा उर्दू भाषा सिक्ने र दिउँसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् । पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन् । कुश्माबाहेक जलजला गाउँपालिकाका वारि बेनीमा रहेको छ । वारि बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदायसमेत लागिपरेका कारण त्यहाँ भने समस्या देखिएको छैन ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width