नदी कटानले विद्यालय र बस्ती जोखिममा

साधन राम्जाली
असाेज ६, २०७८
basti and school and jokhimma

म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।
बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताए । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छोड्न बाध्य भएको उनले दुखेसो सुनाए । यस्तै, स्थानीयको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयबासी त्रासमा बस्न बाध्य भएको स्थानीय अगुवा टेकबहादुर फगामीले बताए ।
जेठ ३१ र असार १ मा आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढी कटानले विद्यालयको क्यान्टिन समेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवन समेत उच्च जोखिमा परेका छन् । वर्षातका कारण नदी कटानको जोखिम नरोकिएकोले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रअ सुरत बानियाँले बताए । उनले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय र नगरपालिकालाई जनाकारी गराएपछि डिपिआरको काम भइरहेको जानकारी दिए ।
वडा कार्यालयका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये ८ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँ, जिल्लास्थित नेपाली कांग्रेस र एमाले लगायत विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडा अध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार म्याग्दीमा यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १ सय ७७ बढी घर उच्च जोखिम र ७३ घर कम जोखिममा परेका छन् । यस्तै, बाढीपहिरोले २ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार र मृतक २ जनाका परिवारलाई ३ लाख राहत उपलब्ध गराएको छ ।
५ जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र त्यसभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २ सय ४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले ४० वटा घर बनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width