सुशासनका लागि संविधानको सही कार्यान्वयन जरुरी : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
CM Krisna Chandra

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान राज्य व्यवस्था सञ्चालन गर्ने साधन मात्र होइन साध्य बन्न सक्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले त्यसो भएमा मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुन सक्ने बताएका हुन् ।

सन्देशमा उनले उल्लेख गरेका छन्, ‘संविधान दिवसको यस अवसरमा देशको राजनीतिक प्रणालीलाई दिशा निर्देश गर्ने काममा सफलता मिलोस् भन्ने कामना गर्दछु ।’ राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था बृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानु आजको आवस्यकता रहेको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘संविधानको सही कार्यान्वयन बिना सुशासन कायम हुन सक्दैन । त्यसैले संविधानलाई सुशासनको वाहक बनाउन कानुनी शासन र संविधानवाद् मार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्न म आग्रह गर्दछु ।’

संविधान कार्यान्वयनका सन्दर्भमा राज्यका ३ वटै अंगप्रति केही प्रश्न अवश्य उठेको भन्दै उनले सरकार गठन सन्दर्भ र संसदको विघटन सम्बन्धमा केही समय नेपालको राजनीतिक प्रक्रिया प्रभावित भएको बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ । आगामी दिनहरुमा अब यस्ता बिबाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलहरुले प्रतिबद्धता जनाउन जरुरी छ ।’

लामो संघर्षबाट प्राप्त संविधान रक्षा गर्दै यसको पूर्ण कार्यान्वयन गर्दै संघीयतलाई थप मजबुत पार्न म सम्पूर्ण प्रदेशवासीमा उनले अनुरोध गरेका छन् । गण्डकी प्रदेशमा निर्माण भएका कानुन आवश्यकता अनुसार परिमार्जन गर्दै जाने प्रतिबद्धता पनि उनले जनाएका छन् । सहिद र योद्धाहरुको बलिदानी र त्यागको परिणामलाई संस्थागत गर्नेतर्फ सबै सरोकारवाला एक भएर अगाडि बढ्न मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width