वाईसिएल अध्यक्षको चेतावनी–फेवाताल मिच्नेलाई चैनले सुत्न दिँदैनौं

प्रकाश ढकाल
असाेज २, २०७८
suman 2

पोखरा, २ असोज । नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था योङ्ग कम्युनिष्ट लिग (वाइसियल) संयोजक सुमन देवकोटाले फेवातालको जमिन मिच्नेलाई सुत्न नदिने चेतावनी दिएका छन् ।
‘प्राकृतिक स्रोत र सम्पदाको संरक्षणका लागि लड्छ । फेवाताल मिचेर खानेहरुले चैनको निन्द्रा सुत्न सक्दैनन् । सरकारसँग त्यस्ता व्यक्तिलाई कारबाही गर्न विनम्रताका साथ आग्रह गर्छौं,’ उनले भने, ‘माग सम्बोधन भएन भने हिजोकै रुपमा अत्याचारीहरुलाई सडकमा निकाल्ने काम वाईसिएलले गर्छ ।’

कोभिड १९ का बेला अघिल्लो सरकारले चरम भ्रष्टाचार गरेको र त्यसकै कारण देश आर्थिक संकटमा फसिरहेको उनको आरोप छ । ‘सिटामोल र रुघाखोकीको औषधीमा समेत भ्रष्टाचार भयो । ३२ पैसामा पाउने मास्कलाई ३२ रुपैयाँमा किन्न आफ्ना आसेपासेलाई सरकारले ठेक्का दियो,’ उनी भन्छन्, ‘यी सबै भ्रष्टाचार उदिनेर जनतामाझ ल्याउँछौं । वाईसिएलले त्यसै छोड्दैन ।’ प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय भूमिका तुच्छ भएको भन्दै सुधार्न उनले चेतावनी दिए ।

प्रेस संगठन नेपाल कास्कीको आयोजनामा पोखरामा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो संगठनको अबको काम नै भ्रष्टाचारविरुद्धको अभियान भएको बताए । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचारविरोधी काम हो,’ देवकोटा भन्छन्, ‘कसले कति खायो । विकासको अवस्था कस्तो छ । हामी खोज्छौं र निकाल्छौं ।’

फरक प्रसंगमा उनले एमसिसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाईसियल पनि एमसिसी यही हालतमा स्वीकार्न सक्दैन ।’ उनले युवालाई लगानीमा जोड्ने योजना सुनाए ।

‘वाईसिएलकै प्रस्तावमा सरकारले युवाउद्यमी कार्यक्रम ल्याएको छ । अब सबै वडामा ५ सयका दरले युवालाई बिनाधितो व्याज अनुदानमा बैंकबाट लगानी हुन्छ । गण्डकी प्रदेशमा कम्तीमा ५ हजार युवालाई स्वरोजगार बनाउने अभियान चलाउँछौं,’ देवकोटाले भने, ‘अहिले बन्द भएका उद्योगहरु खोल्छौं र युवालाई रोजगारी दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्छौं ।’

गण्डकीमा भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने उनको भनाइ छ । उनले दल विभाजनसम्बन्धी अध्यादेशको भने विरोध गरे । ‘मेरै पार्टी सरकारमा छ । तर अध्यादेश हिजो पनि गलत थियो र आज पनि गलत छ,’ उनले भने, ‘यसले देशमा अस्थिरता बन्छ ।’ देवकोटाले माओवादीको आन्दोलनबाट प्राप्त उपलब्धि प्रचारप्रसार गर्ने र चुनावी तयारी गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width