मानवअधिकार सवालमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
असाेज १, २०७८
INSEC – Bhadra 2

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानवअधिकारको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, मानवअधिकार पैरवी तथा प्रलेख प्रमुख श्रीराम बजगाईं लगायतको टोलीसँग मुख्यमन्त्री निवासमा भएको भेटमा उनले गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतिका घटना हुन नदिन सरकारले मानवअधिकारसम्बद्ध संस्थासंग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
राजनीतिक दलमा क्रियाशील रहँदा र सरकारको नेतृत्वमा रहेपछि भूमिका फरक हुने बताउँदै उनले सरकारका तर्फबाट मानवअधिकार उल्लंघन भए पनि आवाज उठाउन आग्रह गरे ।
इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठ मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकारसँग सहकार्य गर्नका लागि इन्सेक तयार रहेको बताइन् । नागरिकको अधिकारलाई संरक्षण र न्यायका लागि सरकारसँगै नागरिक संस्थाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।
इन्सेक मानवअधिकार पैरवी तथा प्रलेख प्रमुख श्रीराम बजगाईंले मानवअधिकार उल्लंघनका बारेमा इन्सेकले आवाज उठाउँदै आएको बताए । उनले अधिकारको सुनिश्चित गर्न सके लोकतन्त्र बलियो बन्ने बताए ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले मानवअधिकारका सवालमा इन्सेक र प्रदेश सरकारबिच सहकार्य आवश्यक रहेको बताए । उनले मानवअधिकारका विषयमा सरकार र नागरिकबीचको सम्बन्ध बढाउन प्रदेश सरकारबाट मानवअधिकारमैत्री कानुन र गुनासो सुन्ने गरी मुख्यमन्त्रीसँग मानवअधिकार कार्यक्रम सञ्चालनका लागि अनुरोध गरे ।
यसैबीच, इन्सेक गण्डकीको आयोजनामा जिल्ला प्रतिनिधि मानवअधिकार प्रलेखीकरण, पैरवी र डिजिटलाइजेसनका विषयमा पोखरामा तालिम सुरु भएको छ । तालिम २ दिन चल्नेछ ।
तालिम उद्घाटन गर्दै इन्सेक अध्यक्ष डा. श्रेठले नेपाल पक्ष राष्ट्र भएका महासन्धिसँग रहेर इन्सेकले आफ्नो अभियान अगाडि बढाइरहेको बताइन् । उनले इन्सेकको मानवअधिकार अभियानको महत्वपूर्ण खम्बाको रुपमा जिल्ला प्रतिनिधि रहेको बताउँदै तालिमबाट जिल्ला प्रतिनिधिमा मानवअधिकार प्रलेखीकरण, अनुमगनका विषयमा धेरै बुझ्ने र सिक्ने अवसर मिल्ने अपेक्षा राखेको बताइन् ।
इन्सेक पूर्व महासचिव डा कुन्दन अर्यालले प्रभावकारी ढंगबाट मानवअधिकारका सवालहरुलाई अभिलेखिकरण गर्न सकिन्छ भन्नेबारे तालिम केन्द्रित रहने बताए । तालिममा मानवअधिकारको आधारभूत विषय, मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धि, मानवअधिकार प्रलेखीकरण साथै समाचार सम्प्रेषणका विषयमा छलफल हुने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width