नेपाल टेलिकमको नमस्ते पे एप

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७८
NTC Photo

पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप सुरु गरिएको हो ।
टेलिकमको ६२ प्रतिशत र बैंकको ३८ प्रतिशत लगानीमा एप सञ्चालन भएको सहप्रवक्ता रञ्जित रैयाँले जानकारी दिए । उनका अनुसार नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले एप सञ्चालनमा ल्याएको हो । सहकार्य अनुसार टेलिकमले २५ करोड ८८ लाख र बैंक १५ करोड ११ लाख लगानी गर्नेछ । वित्तीय कारोबार डिजिटल बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको डिजिटल पेमेन्ट्स कम्पनी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
मंगलबारदेखि व्यावसायिक रुपमा सुरु एप थप परिमार्जित गर्दै जाने उनको भनाइ छ । एपबाट अफलाइनबाटै पनि रिचार्ज गरिने सुविधा रहेको उनले बताए । प्रहरी, प्रशासन नपुग्ने ठाउँ जहाँ भाषा, भेषभूषासमेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाउने उनको भनाइ थियो ।
यसैगरी, नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको जनाएको छ । प्रदेशमा ५ सय ३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सहप्रवक्ता रैयाँले जानकारी दिए । सबै स्थानीय तहमा फोरजी पुगे पनि केही पालिकाका केही ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँको पहिचान भइसकेको छ,’ उनले भने, ‘प्रदेशका ४८ ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ । ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने व्यवस्था गर्छौं ।’ सहप्रवक्ता रैयाँले नेपाल टेलिकमको सिममध्ये टुजी भ्वाइस, थ्रिजी भ्वाइस र डाटा तथा फोरजी डाटा बेसिस रहेको बताए ।
नेपाल टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लो पटक फाइबर र फाइभजी बिस्तार भइरहेको छ । उनका अनुसार फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ । ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए । सहप्रवक्ता रैयाँले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । ४ ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width