१ सय सुपरीवेक्षक खटिए

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७८
Janagadana Photo Kaski

वालिङ । बुधबारबाट सुरु जनगणनाका लागि स्याङ्जामा १ सय जना सुपरीवेक्षक खटिएका छन् । जिल्लाका ११ पालिका मध्यनजर गर्दै जिल्ला जनगणना कार्यालयसहित ४ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । साथै १ सय जना सुपरीवेक्षकमार्फत बुधबारबाट जनगणना सुरु गरिएको जिल्ला जनगणना कार्यालय स्याङ्जाकी प्रमुख शारदा शर्माले जानकारी दिइन् ।
पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत पायक पर्ने पालिका समेटी जनगणना गरिने प्रमुख शर्माले बताइन् ।
उनका अनुसार पुतलीबजारमा स्थापना भएको स्थानीय जनगणना कार्यालयले पुतलीबजार नगरपालिकासहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा जनगणना गर्ने छ । वालिङमा स्थापना भएको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिकामा जनगणनाको कार्य गर्ने छ । गल्याङमा रहेको कार्यालयले गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा गणना गर्नेछ भने बिरुवा रहेको कार्यालयले बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्ने गरी भेग मिलाएर कार्य विभाजन गरिएको प्रमुख शर्माले जानकारी दिइन् ।
वालिङ नगरपालिकामा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटिएका छन् । त्यस्तै बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६, र हरिनासमा ५ जना रहेका स्थानीय जनगणना कार्यालय वालिङका प्रमुख पोमनारायण शर्माले जानकारी दिए । सुपरीवेक्षकको छनौट गरी उनीहरुलाई एक हप्ताको आवश्यक तालीम तथा अभिमुखीकरण गरिएको वालिङका प्रमुख शर्माले बताइन् ।
बुधबारबाट सुरु भएको जनगणना कार्यकालागि सुपरीवेक्षकले असोज १८ सम्म सूचि तयार गर्ने छन् । घरघरमा पुगेर तयार पारिएको सूचि पछि गणक माध्यमबाट अझै विस्तृतरुपमा प्रश्नावली तयार गरी त्यसैका आधारमा प्रतिवेदन तयार पारिने छ ।
२०६८ को जनगणना अनुसार जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन् । २ लाख ८९ हजार १ सय ४८ जनसंख्या छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । स्याङ्जामा २०५८ को जनगणना अनुसार ३ लाख १७ हजार ३ सय २०, २०४८ मा २ लाख ९३ हजार ५ सय २६, २०३८ मा २ लाख ७१ हजार ८ सय २४, २०२८ मा २ लाख ६८ हजार ६ सय ६ जनसंख्या रहेको थियो । यसपटकको जनगणनामा जिल्लामा कुल ६९ हजार घरधुरी रहेको अनुमान जिल्ला जनगणना कार्यालयको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width