गलेश्वर मन्दिरमा पित्तलको छाना

साधन राम्जाली
भाद्र ३०, २०७८
galeshwarma pittalko chhano (1)

म्याग्दी, ३० भदौ । म्याग्दीको प्र्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरको छाना पित्तलले छाएको छ । जिल्लाको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औं कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए ।
उनका अनुसार आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि ४ महिना काम हुन सकेन । साउन अन्तिम सातादेखि सुरु भएको मन्दिरको छानामा पित्तल राख्ने भदौमा सम्पन्न भएको हो ।
मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनका बुबा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख रुपैयाँ खर्चेर मन्दिर निर्माण गरेका थिए । ३१ लाख ७५ हजार रुपैयाँ लागतमा मन्दिरको छाना पित्तलले छाएको गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिए ।
छानो फेर्न कोषका कोषाध्यक्ष पुनको अध्यक्षतामा निर्माण उपभोक्ता समिति बनाएर काम गरिएको हो । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो । अहिले छानोमाथि प्लाइ र पित्तल राखिएको कोषका कोषाध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष पुनले बताए । छानो छाएर सकिएको र मन्दिरमा गजुर राख्न बाँकी रहेको उनले बताए ।
पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने स्थानीय धनिलाल गर्बुजा पुनले बताए । छानो परिवर्तन संगै गलेश्वर मन्दिरको महत्व बढ्ने उनको विश्वास छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । गलेश्वर मन्दिर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, बृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भएको छ । पछिल्लो दुई वर्षयता कोरोनाका कारण मन्दिरमा पूजाआजा नहुँदा आयस्रोत घटेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width