Worldlink ads

मृत्यु जितेकी मनमाया

सुनील सापकोटा
भाद्र ३०, २०७८
story manmayaa

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिरामी डिस्चार्ज तयारी भइरहेको थियो । डिस्चार्ज गर्दा अस्पतालका प्रमुखहरुको उपस्थिति आवश्यक हुँदैन, न त भर्ना गर्दा नै । बिरामी भर्ना र डिस्चार्ज सामान्य प्रक्रिया हुन् । तर आइतबार डिस्चार्ज गर्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, निर्देशक प्राडा भरतबहादुर खत्री, कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराललगायत उपस्थित थिए । सबैका अगाडि व्यास १०, दमौलीकी मनमाया गुरुङ बेस्सरी रोइन् । त्यतिबेला मनमायाका लागि दुखको कुरा भने थिएन, उनै मनमाया हुन् जो ५५ दिनसम्म उपचारपछि त्यस दिन घर फर्कन लागेकी थिइन् ।
सुरुमा मनमायालाई ज्वरो आयो । छाती पनि दुख्यो । पति विजय गुरुङले उनलाई नजिकैको मेडिकल लगे । रगत जाँचमा टाइफाइड भएको रिपोर्ट आयो । मेडिकलले ५ दिनको औषधी दिएर घर फर्कायो तर उनलाई निको हुने छाटकाँट आएन । फेरि सोही मेडिकलमा पुग्दा अक्सिजन लेभल कम भएको भनेर दमौली अस्पताल पठाइयो । गुरुङ दम्पती दमौली अस्पताल पुगे । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भयो । दमौली अस्पतालमा १ दिन राखियो तर १६ लिटरभन्दा बढीको हाइफ्लो अक्सिजन चाहिने भन्दै उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गर्‍यो । दमौली अस्पतालले नै पोखरामा बेड पाइने सुनिश्चित गरेको मनमायाका पति विजयले बताए ।
घरमा ७ वर्षीय छोरा र आमा थिए । श्रीमतीको उपचारका लागि विजय ५ साउनमा भाइसहित पोखरा आए । ‘अस्पताल आउँदा मनमायाको अवस्था क्रिटिकल थियो,’ कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले भने । २३ दिनसम्म आइसियुमा राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आयो । त्यसपछि नर्मल वार्डमा राखेर उपचार गरिएको थियो । २ महिना हाराहारीमा उपचार भइरहँदा तलमाथि केही हुने हो कि ? उनले घरमा भएका आमा र ७ वर्षीय छोरा सम्झन्थे अनि आत्तिन्थे । यहाँ नहुने भए अरु अस्पतालमा लैजान पाए ठीक हुने थियो कि जस्ता कुरा विजयको मनमा खेलिरहन्थे । उनले डाक्टरसँग यही कुरा नभनेका पनि होइनन्, ‘जहाँ भए पनि उपचार यही हो, तपाईंको खर्चमात्रै बढ्ने त हो नि,’ उपचारमा संलग्न डाक्टरको भनाइले अर्काे अस्पतालमा लैजाने उनको सोच बदलियो ।

२३ दिन आइसियु र थप ३२ दिन अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आयो

मनमायाको अवस्था देखेर उनका पति र देवरलाई उनी बाँच्दिनन् कि झैं लाग्थ्यो । उनीहरु आत्तिन्थे पनि । डाक्टरले विजयलाई सम्झाउँदै भन्थे, ‘अवस्था त जटिल नै छ तर हामी प्रयासरत छौं, आत्तिनु हुँदैन ।’ डाक्टरको व्यवहारले विजयलाई सरकारी अस्पतालको जस्तो महसुस नै भएन । चिकित्सकले निजीमा मोह राखी सरकारी अस्पताल बेवास्ता गर्ने गरेको आरोप लागिरहेका बेला यहाँ उपचारमा संलग्न डाक्टरले सरकारी अस्पतालको शान बढाएको विजयले बताए ।
मनमाया निको भएर घर फर्कने दिन भक्कानिँदै आँसु झार्दै आफू बाँच्छु भन्ने नलालेको बताएको डा. बरालले सुनाए । डा. बरालले भने, ‘भेन्टिलेटरमा राखेर मास्क लगाउँदा घाउ भएर, पाप्रा नै निस्किएको थियो, अवस्था क्रिटिकल थियो ।’ डा. बराल आफैंले दिनको ३/४ घन्टासम्म राउन्डमा हेरिरहेको बताए । उनले भने, ‘मसँगै मेडिकल अफिसर, नर्सिङ, अक्सिजन सप्लाई, सरसफाइ लगायत टिमले बिरामीको उपचारमा सघाइरहेकोे हुन्छ, सफलता मिलेको छ । मनमाया असाध्यै खुसी हुनुभएको छ ।’
मनमायाजस्तै लामो समय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाका ७६ वर्षीय वृद्धको पनि छिट्टै डिस्चार्ज गर्न सकिने डा. बरालको विश्वास छ । गत ६ असारमा भर्ना भएका वृद्धलाई अहिले १ लिटर फ्लोमा अक्सिजन उपचार भइरहेको डा. बरालको भनाइ थियो । बरालले भने,‘ उहाँको गाउँ दुर्गम ठाउँमा भएकाले पनि तत्काल डिस्चार्ज नगरिएको हो ।’
मनमायालाई अहिले सरासर हिँड्न कठिन छ । लामो समय भेन्टिलेटर र बेडमा रहेकाले खुट्टामा केही समस्या देखिएको हुन सक्ने विजयले बताए । डाक्टरले पौष्टिकयुक्त खाना खाना र सरसफाइमा ध्यान दिन र चिसोबाट जोगिन सुझाव दिएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads