नेपालकै पहिलो फुटसल लिग गर्न पोखरा तयार

धनबहादुर गुरुङ
भाद्र २९, २०७८
Futsal Photo

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै पहिलो पटक पोखरामा फुटसल लिग गर्दै छ । एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले गत २५ देखि लिग गर्ने जानकारी गराएकोमा कोरोना महामारीका कारण दोस्रो पटक तय मिति पनि सार्नु परेको थियो । आगामी असोज २ देखि २२ सम्म गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा म्याट बिछ्याउनेलगायतअ आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कमिटी प्रमुख विनोद गुरुङले जानकारी दिए । ‘एन्फाको आयोजनामा पोखरामा हुन लागेको यो नेपालकै पहिलो फुटसल लिग हो,’ उनले भने, ‘पटक पटक सरेको स¥यै भयो यो पटक गर्नै पर्छ भनेर लागिरहेका छौं ।’
व्यवस्थापकीय काम सकाएर असोज १ मा बाहिरी प्रदेशका क्लबहरु आउनमात्र बाँकी रहने उनी बताउँछन् । म्याटमा प्रशिक्षण गर्ने भनेर काठमाडौंको ढुकु फुटसल हब सोमबार नै पोखराको आएको उनले जानकारी दिए । ‘तयारी पूरा भइसकेको छ, ढुकु फुटसल हब आएर ट्रेनिङ गरिसक्यो, धरानको एउटा टिम मंगलबार आउँछ,’ उनले भने, ‘हामीले प्रतियोगिता सुरु हुनु एकदिन अघि र फाइनलको एकदिनपछि व्यहोर्ने हो बाँकी क्लब आफैंले व्यवस्थापन गर्छ ।’ टिम तयारीस्वरुप उपलब्ध गराउने भनेको १ लाख प्राविधिक कारणले केही ढिला भएकाले १÷२ दिनमा क्लबको खातामा उपलब्ध गराउने पनि उनको भनाइ थियो । बाहिरबाट आउने ८ सहित पोखराको २ क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारी होटलको प्रबन्ध भइसकेको र चरक मेमोरियल अस्पतालमा कोरोना परीक्षण गराएर मात्र लिगमा सहभागी गराउने उनले बताए । यस्तै दर्शकका लागि पनि खोप लगाएकालाई प्रवेश दिने भन्ने सोच गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर मात्र निर्णय लिने बताए ।
पोखरामा आयोजना हुने प्रतियोगिताले कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र उकासिने गुरुङको भनाइ थियो । पोखरा पर्यटन परिषद् अध्यक्ष गोपिबहादुर भट्टराईले पनि खेलकुदका गतिविधि चलायमान हुँदा पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने बताए । नेपालमा मात्र नभएर विश्वमा कुनै न कुनै प्रतियोगिता हुँदा त्यसको देशको पर्यटनमा टेवा पुगेको उनी बताउँछन् । ‘नेपालमा फुटबल एकदमै लोकप्रिय गेम हो, फुटसल प्रतियोगिता हुँदा खेलाडीलगायत अफिसियलहरु एयरपोर्टबाट झरेपछि ट्याक्सीदेखि ५ तारे होटलसम्म सबैलाई बिजनेस दिएको हुन्छ,’ उनले भने, ‘खेलमात्र नभएर सपोर्टर, प्रायोजकदेखि सबैलाई धरै फाइदा हुन्छ ।’ खेलकुदको माध्यमबाट प्रचारप्रसार छिटो हुने भएकाले यस्ता खालको गतिविधि भएमा आफूहरु सहकार्य गर्न तयार रहेको उनले बताए ।
फुटसल लिगमा देशभरका १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रदेशमा छनोट भएका आएका टिमहरु लिगमा खेल्ने एन्फाले जनाएको छ । एन्फाले लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो । एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसमा प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, वागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमूल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल प्रालि र सविन मेमोरियल फुटसल क्लब प्रालि पोखराले खेल्नेछन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।
एन्फाले काठमाडौंमा गत मंगलबार खेल तालिका सार्वजानिक गर्दै मिति तय गरेको छ । ७ प्रदेशका १० टिम सहभागी हुनेछन् । लिग असोज २२ गते सकिने छ । राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ । लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।
लिगबाट एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटीको सिफारिसमा गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

‘इन्डोर’ खेलिने मिनी फुटबल
इन्डोरमा खेलिने मिनी फुटबल नै फुटसल हो । फुटबलसँग केही नियम मिल्दाजुल्दा भए पनि केही फरक नियम हुन्छन् फुटसलमा । ४० मिटर लामो र २० मिटर चौडाइ भएको मैदानमा १ टिमले गोलरक्षकसहित ५ खेलाडी लिएर खेल्छन् । २० मिनेटको २ हाफ गरेर खेलिने फुटसलमा १५ मिनेटको मध्यान्तर समय हुन्छ । यसमा खेल बराबरीमा सकिए पेनाल्टीमा धकेलिन्छ भने ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेंलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् ।
फुटबलमा खेलाडीले रातो कार्ड पाएमा उक्त खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइँदैन तर फुटसलमा रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी ल्याउन पाइन्छ । फुटसलमा गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले ५ सेकेन्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । फुटबलको प्रत्येक खेलमा सामान्यतया ३ खेलाडीमात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार हँुदैन । फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ । टाइम र स्पेस कम हुने भएकाले फुटसल खेलाडी टेक्निकल रूपमा चनाखो र फिट हुनुपर्छ ।
सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको फुटसलको इतिहास छ । फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्यान्डस आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक ५ पटकको विजेता हो भने स्पेनले २ र अर्जेन्टिनाले १ पटक जितेको छ । प्रत्येक ४/४ वर्षको अन्तरालमा हुने फिफा फुटसल विश्वकप यही वर्ष लुथेनियामा हुँदै छ । फिफाले ८ पटक विश्वकपको आयोजना गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width