कास्कीमा असोजमा भौतिकरुपमै पढाइ

विजय नेपाल
भाद्र २८, २०७८
school-3

पोखरा । कोरोना प्रभावका कारण लामो समयसम्म बन्द रहेका शैक्षिक संस्था बिस्तारै खुल्न थालेका छन् । देशका प्रमुख सहरका विद्यालय केही साताअघिदेखि नै सञ्चालित भई भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् भने केहीले असोज १ देखि सञ्चालन गर्ने तयारी भएको सार्वजनिक गरेका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने जानकारी सम्बन्धित प्रशासन कार्यालयले गराएको हो ।
तर, देशकै ठूलो सहरमध्ये पोखराका शैक्षिक संस्था कहिलेदेखि खुल्छन् ? भन्नेमा सबैको चासो छ । तीजपछिको पहिलो आइतबार अर्थात् भदौ २७ देखि अधिकांश ठाउँमा सम्बन्धित स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् भने केहीले दसैंपछि नै भौतिक उपस्थितिमै सञ्चालन गर्ने योजनामा छन् । असोज १ देखि निषेधाज्ञा झनै खुकुलो हुँदै जाने र देशका अधिकांश सहरमा विद्यालय खुल्ने लगायतका गतिविधि सञ्चालन हुने समाचार छ ।
पोखरा महानगर शिक्षा महाशा प्रमुख हेमप्रसाद आचार्यले पोखरामा असोज दोस्रो सातासम्म विद्यालय खोल्न सकिने बताए । उनले भने, ‘असोज १ देखि नै त सञ्चालन गर्न नसकिएला तर आवश्यक छलफल र सुझावबमोजिम असोज दोस्रो हप्तादेखि खुल्ने तयारी छ ।’ उनकाअनुसार शिक्षा महाशाखाको आह्वानमा सरोकारवाला पक्षसँग सोमबार बैठक डाकिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी जिल्लाका विद्यालय असोज सुरु भएपछि खोल्दै जानुपर्ने पक्षमा छन् । उनले भने, ‘कतिञ्जेल स्कुल बन्द गर्नू । कोरोना संक्रमण जोखिम घट्दै गएकोले असोजदेखि विद्यालय सञ्चालन गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ । त्यसअघि प्रशासनको निर्णय पनि कुर्नुपर्‍यो ।’

सरकारले विद्यालयल सञ्चालन गर्न सकिने वा नसकिनेबारे स्थानीय तहलाई अधिकार दिएको छ

एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले विद्यालय जान नपाई दिनभर घरमै विद्यार्थीलाई छोड्न उनीहरुमा नकारात्मक भावना विकास हुने भएकोले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बिस्तारै विद्यालय खोल्नुपर्नेमा जोड दिन्छन् ।
कास्कीमा प्याब्सनअन्तर्गत १ सय २, एन प्याब्सनअन्तर्गत ४५ विद्यालय सञ्चालनमा छन् । अघिल्लो वर्षको तथ्यांकमा मन्टेसरीसहित कक्षा १२ सम्म कास्कीमा कुल विद्यार्थीको संख्या १ लाख २५ हजार रहेको प्याब्सन कास्की अध्यक्ष शर्माले जानकारी दिए ।
सरकारले विद्यालयल सञ्चालन गर्न सकिने वा नसकिनेबारे स्थानीय तहलाई अधिकार दिएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरु हुँदाताका देशका प्रमुख ५ जोखिम जिल्लामा कास्कीसमेत सूचीकृत थियो । अहिले भने संक्रमण र मृत्यदर कमी हुँदै गएकोले जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा खुकुलो पार्दै लगेको छ । गत वैशाख १५ देखि सुरु निषेधाज्ञा पुनः भदौ १८ मा थपेर मसान्तसम्म कायम छ । हाल कायम निषेधाज्ञा असोजदेखि अझै खुकुलो पारिने प्रशासनको तयारी छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने, ‘अब कतिञ्जेल बन्द गर्नु । मानिस भीडभाडमा समेत मास्क लगाउन अटेर गर्छन् । कसैले मान्दैनन् । अब सबै खोलिदिने हो ।’
हाल विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन सञ्चालनमा निषेधाज्ञा छ । विश्वविद्यालय, लोकसेवा आयोग, विभिन्न परीक्षा बोर्डहरुबाट सञ्चालन हुने निर्धारित परीक्षाबाहेक अन्य परीक्षासमेत सञ्चालनमा रोक लगाइएको छ । तर कोरोनाका प्रभावले विद्यालयलगायत शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भई पठनपाठन गर्न असम्भव भएपछि अनलाइन पढाइ भने जारी छ । अनलाइनको पढाइलाई विद्यार्थी, अभिभावक एवं शिक्षाविद् स्वयंले प्रभावहीन ठानेका छन् ।
गण्डकी प्रदेशभर हाल कोरोनाका कूल सक्रिय संक्रमित संख्या १ हजार रहेकोमा कास्कीमा ९ सय हाराहारीमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width