महानगर सभापतिमा ६ जनाको भिडन्त

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७८
congress final

पोखरा  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको चुनावमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचित वडाध्यक्ष, पत्रकारदेखि जनप्रतिनिधि र व्यावसायीसम्मले शुक्रबार मनोनयन दर्ता गराएका हुन् ।
पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले मनोनयन दर्ता गराएका हुन् । लामो समय पत्रकारिता गरेपछि नगर सभापतिमार्फत सक्रिय राजनीतिमा ‘टर्न’ गर्दैछन्, गंगाधर पराजुली । अर्का पत्रकार ज्योति हमालले पनि उम्मेदवारी दिइन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे र कांग्रेस नेता मिलन तिवारी आगामी नेतृत्वको लागि प्रतिस्पर्धामा छन् ।
यस्तै, उपसभापतिमा ५ जना र सचिवमा ३ जनाको मनोनयन दर्ता भएको सभापतिका उम्मेदवार गंगाधर पराजुलीले जानकारी दिए । आधिकारिक मनोनयन क–कस्को दर्ता भयो भनी निर्वाचन समितिले नामावली उपलब्ध गराएन । पटक पटक बुझ्न खोज्दा निर्वाचन समितिका आधिकारिक व्यक्ति नै मोबाइल स्वीच अफ गरी बसेका छन् । मनोनयन दर्ता गरेर पनि अरु प्रक्रिया स्थगित गराएकोप्रति भने उम्मेदवार पराजुलीले आपत्ति जनाए । ‘तनहुँ लगायत अन्य जिल्लामा मनोनयन नै दर्ता भएन,’ उनले भने, ‘हाम्रो मनोनयन गरेर पैसा लिइसकेपछि अरु प्रक्रिया भएन ।’
निर्वाचन समितिका अनुसार महानगरमा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् । कास्कीका अन्य पालिकाअन्तर्गत माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।
पोखरा महानगरको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महानगरले बलियो नेतृत्व छान्नुपर्ने बताए । प्रदेशको राजधानीको महानगर कमजोर भयो भने यसको असर प्रदेशको अरु पालिकामा पनि पर्ने उनको भनाइ छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले महानगरको विभिन्न पदमा उम्मेदवारी दिएकालाई शुभकामन दिंदै स्वच्छ प्रतिस्पर्धा आधारमा कुशल नेतृत्व चयन गर्न आग्रह गरे ।

म नेपाली कांग्रेस गुटको उम्मेदवार : पराजुली

कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगर सभापतिमा मनोनयन दर्ता गरेका पत्रकार गंगाधर पराजुलीले विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल तीव्र पारेका छन् । उनले शुक्रबार पोखराका पत्रकारसँग छलफल गर्दै संगठनको तल्लो तहसम्म सबैलाई क्रियाशील बनाउन, सबै संघसंगठनलाई जागरुक र सक्षम बनाउन आफूले उम्मेदवारी प्रस्तुत गरेको प्रष्ट पारे । पत्रकारितालाई बिस्तारै कम गर्दै पूर्ण राजनीतिमा होमिएको पनि उनको भनाइ थियो ।
आफू कुनै गुटबाट प्रतिनिधित्व नगरेको जनाउँदै विशुद्ध कांग्रेस गुटबाट आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो । ‘मेरो गुट नै कांग्रेस गुट हो । म आफ्नो कर्मले नै यहाँसम्म आइपुगेको हो । लाभको पद लिनेहरुलाई गुट चाहिन्छ होला तर मलाई अहिले सबै नेताहरुको आशीर्वाद चाहिन्छ,’ उनले भने, ‘मलाई कसैले आशीर्वाद दिएको पनि छैन, मलाई तपाईहरुको सबैको आशीर्वाद छँदैछ ।’
उनी १२ औं महाधिवेशनमा सचिवमा झिनो मतअन्तरले पराजित भएका थिए । करिब ४ दशक पत्रकारिता गरेका पराजुली नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति भएर काम गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपालको अध्यक्ष एवं रासस सञ्चालक सदस्यसमेत बनेका थिए ।
उनी पार्टीभित्र मात्र नभै, बाहिर अन्य पार्टीका नेतालाई पनि रिझाउन सक्ने खुबी राख्छन् । कुनै समय शिक्षण पेसामा रहँदा जेल जीवनसमेत भोगेका पराजुली करिब ४ दशकदेखि पार्टीको राजनीतिमा कुनै न कुनै भूमिकाबाट सक्रिय छन् । कहिले प्रेस युनियन त कहिले ट्रेड युनियनमार्फत उनले पार्टीको राजनीति गर्दै आएका छन् । उनको समर्थकमा बिमलबहादुर कार्की र प्रस्तावमा नारायण कोइराला छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width