सरकारले घटायो बजेटको आकार : चालु खर्च घटाएर खोप खरिद

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७८
Janardan Sharma

पोखरा । नेपाल सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न नयाँ बजेट प्रस्तुत गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा अध्यादेश मार्फत सार्वजनिक गरेको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट संशोधन गरेर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँमा खुम्च्याइएको छ । प्रतिस्थापन विधेयकमार्फत चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्बको बजेट घोषणा गरिएको हो । यस्तै, वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड, स्थानीय तहमा वित्तीय अनुदान ३ खर्ब २५ अर्ब ७५ करोड तथा पुँजीगत अनुदान ६१ अर्ब ५५ करोड हस्तान्तरण गरिने बताइएको छ । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्च पहिलेभन्दा केही बढेको हो । बजेट अध्यादेशमा पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ थियो । वित्तीय व्यवस्थातर्फ भने केही घटेको छ । वित्तीय व्यवस्थामा यसअघि २ खर्ब ७ अर्ब ९७ करोड राखिएको थियो ।
प्रदेश र स्थानीय तहलाई दिने अनुदान पनि बढाएको छ । तत्कालीन सरकारले ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेकोमा संशोधन गरी ५९ करोड रुपैयाँ बढाइएको हो । सरकारले घोषणा गरेको बजेटमध्ये अधिकांश भार राजस्वमा छ । राजस्वबाट १० खर्ब ५० अर्ब उठाउने लक्ष्य छ भने वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड, वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र आन्तरिक ऋण २ खर्ब ३९ अर्ब व्यहोर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए । नयाँ बजेटमा आन्तरिक तथा बैदेशिक ऋणको अंश ३७ अर्ब घटाइएको छ । यसले नागरिकमा ऋणभार कम हुने दाबी छ ।

सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदरको नयाँ लक्ष्य कायम गरेको छ

सरकारले चालु खर्च कटाएर खोप खरिद गर्ने जनाएको छ । बैठकभत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम लगायतमा हुने १० प्रतिशत खर्च घटाएर त्यसबाट बचत हुने ५ अर्ब रुपैयाँले कोभिडविरुद्धको खोप खरिद गर्ने नयाँ विधेयकमा उल्लेख छ । मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर र मेरुदन्ड पक्षघातका बिरामीलाई औषधी उपचारका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउने र राजनीतिक परिवर्तनको आदोलनमा बलिदान गर्ने परिवारका लागि जीवनबृत्ति वापत मासिक ३ हजार दिने सरकारी घोषणा छ ।
कोभिडबाट रोजगारी र आयआर्जन गुमाएका विपन्न, गरिबमध्ये ५ लाख परिवारलाई एक पटककका लागि १० हजार रुपैयाँ दिने र उक्त रकम असोज महिनाभित्रै हस्तान्तरण गरिसक्ने बताइएको छ । कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले तिर्ने नयाँ कार्यक्रम तय गरेको छ । यसअघि ५० प्रतिशत मात्रै प्रिमियम सरकारले व्यहोथ्र्यो । विपन्न नागरिकलाई सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाका १० ठाउँमा सुपथ र सुलभ खानाको व्यवस्था गर्ने कार्यक्रम अघि सारिएको छ । अबदेखि सहकारीले ५० प्रतिशत लगानी कृषि र उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने भएको छ ।
सरकारले आर्थिक वृद्धिदरको नयाँ लक्ष्य कायम गरेको छ । यसअघि ६.५ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएकोमा अहिले ७ प्रतिशत हासिल हुने अनुमान छ । चैतभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने र त्यसपछि आर्थिक क्रियाकलाप उल्लासमय हुने अनुमान सरकारको छ । तर घोषित लक्ष्य प्राप्ति निकै चुनौतीपूर्ण छ । सरकारी आँकडा अनुसार हालसम्म कोभिड विरुद्धको पहिलो डोज खोप लगाउने नागरिक ५७ लाख ३० हजार छन् । त्यसमध्ये पनि दुवै डोज लगाउनेहरु ५१ लाख २ हजार मात्रै छन् । यो कुल जनसंख्याको १७ प्रतिशत हो । यद्यपि हालसम्म १ करोड ३३ लाख ५९ हजार डोज खोप नेपाल भित्रिसकेको र ३ करोड डोज प्राप्त हुने अवस्थामा रहेको सरकारी दाबी छ । सरकारले कोरोना नियन्त्रण र खोप खरिदमा कुनै पनि स्रोत कमी हुन नदिने आश्वासन दिएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक भदौ मसान्तसम्म पास गर्नुपर्ने कानुनी बाध्यता छ । तर त्यो सम्भव नभएकोले नियम निलम्बनको प्रक्रियामा सरकार लागेको बताइन्छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width