कांग्रेसको भदौ २७ को निर्वाचन स्थगित, कार्यतालिका संशोधन

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७८
Congress Flag

पोखरा । नेपाली कांग्रेसको २७ गते हुने भनिएको पालिकास्तरको अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका संशोधन गरिएसँगै यसअघि निर्धारित समयमै अधिवेशन नहुने भएको हो ।

निर्वाचन संयोजक महादेवप्रसाद यादवले प्रेस विज्ञप्तिमार्फत मिति सरेको जानकारी गराए । भदौ १८ मा वडा अधिवेशन गरेर सुरु भएको महाधिवेशनमा केही जिल्ला छुटेको थियो । छुटेका जिल्लाका वडा अधिवेशनको मितिसँगै केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

संशोधित कार्यतालिका अनुसार अधिवेशन गर्न बाँकी २० जिल्लामा असोज ५ मा गाउँ वडा अधिवेशन हुनेछ । असोज ९ मा गाउँ/नगर अधिवेशन, १२ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ मा र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकोमा जिल्ला अधिवेशन १८ गते हुनेछ ।

यस्तै, कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width