पोखरा महानगर सभापतिमा ६ जना उम्मेदवार

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७८
Congress Pokhara

पोखरा । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएपछि कास्कीमा पालिकास्तरीय अधिवेशन प्रक्रिया सुरु भएको छ । पोखरा महानगरसहित ५ पालिका रहेको यहाँ भदौ २७ मा पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । त्यसका लागि निर्वाचन अधिकृतको कार्यालयले पोखरामा बिहीबार नै मनोनयनको कार्यसूची बनाएको छ । ‘अन्तभन्दा पोखरामा अलि धेरै मतदाता हुनुहुन्छ । अलि छिटो तयारी गरौं भनेर कार्यसूची अघि सारिएको हो,’ निर्वाचन अधिकृत आरसी विमल (रामचन्द्र पौडेल) ले भने, ‘गाउँपालिकामा शनिबार मात्रै मनोनयन दर्ता हुन्छ ।’
पोखरा महानगरको नेतृत्व लिन हालसम्म ६ जनाले दाबी पेस गरेका छन् । निर्वाचित वडाध्यक्ष, पत्रकारदेखि व्यवसायीसम्मले आकांक्षा देखाएका छन् । पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सबैभन्दा पहिले पत्रकार सम्मेलन गरेर उम्मेदवारी सार्वजनिक गरेका छन् । वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले पनि सामाजिक सञ्जालमार्फत आकांक्षा देखाएका छन् ।
लामो समय पत्रकारिता गरेपछि नगर सभापतिमार्फत सक्रिय राजनीतिमा ‘टर्न’ गर्दैछन्, गंगाधर पराजुली । उनी कांग्रेस निकट प्रेस युनियनको केन्द्रीय उपाध्यक्षसम्म भए भने नेपाल पत्रकार महासंघको पनि केन्द्रीय उपाध्यक्ष बनिसकेका छन् । अर्की पत्रकार ज्योति हमालले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे र अर्का नेता मिलन तिवारी समेत प्रतिस्पर्धाको होडमा छन् ।
माछापुच्छ«ेमा ३ जना प्रवल दाबेदार देखिएका छन् । वडा १ का निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, हालका पालिका सभापति मधुसुदन अधिकारी र अर्का नेता रामबहादुर गुरुङ सभापतिको प्रतिस्पर्धामा छन् । रुपा गाउँपालिकामा हाल उपाध्यक्ष उठेर पराजित भएकी गीमाया गुरुङ, नेताहरु खेम गुरुङ, आनन्द सुवेदी र विमल न्यौपानेले दाबी गरेका छन् । यहाँ न्यौपानेलाई सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ । यद्यपि अहिलेसम्म सहमति जुटेको छैन ।
मादीमा अर्जुन गुरुङ र ओमप्रकाश गुरुङ उम्मेदवार बन्ने पक्का जस्तै छ । तथापि सहमतिको प्रयास भैरहेको बताइन्छ । अन्नपूर्णमा मनपति भण्डारी र तरुण दलका पालिका सभापति विजय गुरुङ लगायतले उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् । माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width