मनाङ ङिस्याङमा विवाद : गाउँपालिकाको प्रशासन हेर्न प्राविधिक

धनबहादुर गुरुङ
भाद्र २५, २०७८
Manang Photo

पोखरा । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर गएपछि नयाँ आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २० मा अधिकृतस्तर छैटौं तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको हो । यादवलाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी सुम्पेको हो ।
प्राविधिकलाई प्रशासन जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँट कर्मचारी नै असन्तुष्ट छन् । ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र काटिएको थियो । तर, उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउँछन् । सधैं उठाउने माइन्युट कपिमै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाएको उनले आरोप लगाए । उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत दीपक ढकालसहित गाउँपालिका उपाध्यक्ष, ५ जना वडाध्यक्ष र १ कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छैनन् । यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको ती जनप्रतिनिधिले बताए ।
‘भदौ १७ गते उनीहरुले निर्णय गरेको रहेछ,’ गुरुङ भने, ‘फर्जी कसरी भन्न मिल्छ भने हामीलाई कुनै किसिमको सूचना पनि भएन । हामी कुनै कार्यपालिकाको मिटिङ पनि बसेका छैनौं ।’ जनप्रतिनिधिलाई नै जानकारी आफूहरुलाई वाइपास गरी मिलेमतोमा भएको निर्णयप्रति आफूहरुको असन्तुष्टि रहेको उनको भनाइ थियो । ‘यसरी जे गरे नि भयो, भोलिका दिनमा जसले जे गर्दा पनि केही नहुने भयो,’ उनले भने । यस विषयमा मिटिङ पनि बस्न नभ्याएकाले बैठकपछि यसको विरोध गर्ने उनले बताए ।
नियुक्ति विषयमा पालिकामा कार्यरत अन्य कर्मचारी पनि सन्तुष्ट छैनन् । स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा) मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । लामो समयदेखि प्रशासन शाखामै उनीभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उनलाई नियुक्त गरिनु उपयुक्त नभएको एक कर्मचारीले बताए । ‘उनी गत वर्ष मात्र छैटौं तहमा पदोन्नति भएका हुन्, छैटौं तहमै लामो समय प्रशासनमा काम गरेकालाई पत्याइएन,’ उनले भने, ‘प्राविधिक क्षेत्र हेरिरहेका हाकिमले प्रशासन कसरी धान्ला भन्नेमा हाम्रो विमति हो ।’

नियुक्ति विषयमा पालिकामा कार्यरत अन्य कर्मचारी पनि सन्तुष्ट छैनन् ।

अहिले नियुक्त निमित्त अधिकृतको छवि राम्रो नभएको एक स्थानीयले बताए । नवनियुक्त फौजदारी मुद्दामा मनाङको चामे कारागारमा २०७७ भदौ २६ देखि मंसिर २६ सम्म फौजदारी मुद्दाअन्तर्गत अंगभंग शीर्षकमा जेलमा परेको ती स्थानीयले जानकारी दिए । छवि गलत भएको कर्मचारी पालिकामा नियुक्त भएर आउँदा नियतमै शंका रहेको उनको भनाइ थियो । यस्तो हर्कतले पालिकाका अध्यक्षमाथि नै शंका लागेको उनले जनाए । राजनीतिक विचार आधारमा पालिका अध्यक्षले मनोमानी ढंगले मन्त्रालयमा पत्र काटेको ती स्थानीयको आरोप छ । पालिकाले पटकपटक भिन्दाभिन्दै व्यक्तिलाई अधिकृत नियुक्त गर्न पत्र पठाएको उनको भनाइ छ । पालिकाले भदौ १७ गते यादवलाई नियुत्त गर्न सिफारिस गरे पनि २१ गते अर्को पत्र काटेर ज्येष्ठताको आधारमा नीलकण्ठ पौडेललाई सिफारिस गर्न पत्र काटेको थियो ।
गाउँपालिका अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताए । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उनको भनाइ छ । मन्त्रालयले चिठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उनले जानकारी दिए । यादवलाई अर्को अधिकृत नआउँदासम्म मात्र जिम्मेवारी दिएकोले नयाँ अधिकृत आएपछि हट्ने उनी बताउँछन् । पत्रमा २० गतेको मिति भए पनि २३ गते मात्र कार्यालयमा चिठी आएको अध्यक्ष घलेले जानकारी दिए । ‘अहिले काम नरोकियोस् भनेर मात्र हो उहाँलाई नियुक्त गरिएको हो,’ उनले भने, ‘उहाँ निमित्त हो । उताबाट अर्का आउने बित्तिकै त उहाँ हटिहाल्नुहुन्छ नि ।’
जिल्लाको जनस्वास्थ्य निरीक्षकमा कार्यरत यादवलाई काम गर्न सक्ने देखेर नै नाम सिफारिस गरेको उनको भनाइ थियो । हस्ताक्षर विषयमा भने वडाध्यक्षसँग आफ्नो भेट नभएको बताए । विरोध र असन्तुष्टिलाई उनले आफ्नो राम्रो हुँदासम्म सबै राम्रो, आफू अनुकूल नभएपछि नराम्रो भन्ने प्रवृत्तिको संज्ञा दिए । ‘सबै ठाउँमा त्यस्तै हो । आफ्नो ठिक भयो भने सबै ओके नभए त्यही त हो नि माथिदेखि तलसम्मै,’ उनले दिग्दारी सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width