Worldlink ads

साकार हुने चरणमा मराउँचेवासीका सपना

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७८
news 22 hemja

हेमजा । अन्नपूर्ण–३, मराउँचेका भोलानाथ पौडेल समय समयमा बिरामी भइरहन्छन् । उपचारका लागि गाउँबाट पोखरा झर्नुपर्दा सडकको दूरावस्थाले उनलाई काँडे वा पत्थरसम्म स्टेचरमा नै प्रायः बोक्नुपर्ने बाध्यता छ ।
निको हुँदा सामाजिक कार्यमा अग्रसर हुने तिनै भोलनाथको धेरैपटक सडक निर्माण गर्दा हातका नङ ढुंगाले पिसेर रगत जमेर नीलो भई झरेका छन् । तिनै भोलनाथलाई बिरामी हुँदा घर अगाडि ट्याक्सी वा एम्बुलेन्स आए चढेर उपचारका लागि पोखरा जाने धोको छ । यद्यपि यो धोका ट्रयाक्क खुलेको करिब १३ वर्ष भन्दा बढी हुँदासमेत हालसम्म पूरा हुन सकेको छैन ।
सामाजिक कार्यमा औधी रुचि राख्ने सोही गाउँका बयोवृद्घ देवीप्रसाद पौडेलको गत वर्षमात्रै निधन भयो । उनले स्थानीय तहको निर्वाचनका बेला मत माग्न गएका प्रतिनिधि समक्ष गाउँको सडक र समग्र विकास निर्माणबारे ध्यानाकर्षण गराएका थिए । त्यस बेला भोट पाइने आशमा चुनावमा होमिएका नेताहरुले मराउँचेको विकासमा महत्वपूर्ण योगदान गछौं भनेर आश्वासनसमेत दिए ।
आखिर चुनाव सकिएको करिब साढे २ वर्षभन्दा बढी देवीप्रसाद बाँचेनन् । चुनाव ताका नेताले बाटो राम्रो बनाइदिन्छु, गाउँमा बहुद्देश्यीय भवन निर्माण हुन्छ, मराउँचे हुँदै अस्ट्रेलियन क्याम्प (ठूलाखर्क) सम्म सिँढी बाटो निर्माण गरिन्छ, १ घर १ धारा हुन्छ र कम्तीमा वर्षैपिच्छे मराउँचेका केही न केही माग सम्बोधन गरिन्छ भनेर आवश्वास बाँडे, तर देवीप्रसादले त्यो आश्वासनअनुसारको विकास देख्नै नपाई धर्तीबाट बिदा भए ।
भोलानाथ र स्व. देवीप्रसाद त सो गाउँमा प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्तै प्रायः सबै गाउँलेमा देशमा संघीय व्यवस्था लागु भएसँगै गाउँविकासले फड्को मार्छ भन्ने विश्वास थियो । केही वर्ष त त्यो विश्वासमा तुषारापात जस्तै भयो । तर चालु आर्थिक वर्षमा भने प्रदेश तथा स्थानीय सरकारले उक्त गाउँलाई राम्रै सम्बोधन गरेको देखिन्छ ।
जसकारण विगत वर्षको तुलनामा यस वर्ष मराउँचेमा विकास निर्माणले तीव्रता पाउने गाउँवासीको विश्वास छ । चालु वर्ष बाटोको स्तरोन्नतिका लागि गाउँपालिकाले १० लाख तथा गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । जुन रकम सो गाउँका लागि हालसम्मकै उच्च हो ।
मराउँचे गाउँ विकासको समग्र अवस्थाबारे शनिबार बसेको गाउँवासीको भेलाले स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्यमा पत्थर मराउँचे काँडे हुँदै धम्पुस सडकको अधिकतम स्तरोन्नति गर्ने, १ घर १ धारा निर्माण गर्ने र गाउँमा क्रियाकर्म स्थल बनाउने गरी विभिन्न समिति गठन गरेको छ ।
बाटो निर्माण समिति अध्यक्षमा पुनः कृष्णप्रसाद अधिकारी चयन भए । भेलाले पार्वती पौडेललाई सचिव तथा श्रीभद्र पौडेललाई कोषाध्यक्षको जिम्मेवारी पनि दिएको छ । त्यस्तै जमुना अधिकारी, कमलराज पौडेल, बलराम पौडेल र भोलानाथ पौडेल बाटो निर्माणका सदस्य छन् ।
सोही भेलाले तिलप्रसाद पौडेलको संयोजकत्वमा नरेन्द्रप्रसाद पौडेल र जानुका पौडेल सदस्य रहेको बाटो अनुगमन तथा मूल्यांकन समिति पनि गठन गरेको छ । समितिको मातहतमा यसवर्ष पत्थरदेखि मराउँचे खण्डअन्तर्गत पर्ने राम्चे, चिप्ले बाटो, बालज्योति आधारभूत विद्यालय नजिकैको उकालो र ठूलोखोलादेखि स्थानीय प्रगतिशील युवा क्लब भवनसम्मको करिब ८ सय मिटर सडक ढलान गर्ने सोच पनि गाउँलेको छ ।
बाटोका लागि अन्नपूर्ण गाउँपालिकाबाट अघिल्ला वर्षहरुमा सामान्यतया ५ लाख विनियोजन हुँदै आएकोमा यसवर्ष १० लाख तथा प्रदेश सरकारबाट पहिलोपटक २० लाख (सांसद विकास कोषबाहेक) बजेट विनियोजन गरिएको छ । त्यसका साथै क्रियाकर्म स्थल बनाउन गाउँपालिकाले थप १ लाख ५० हजार बजेट पनि निकासा दिँदै छ ।
उक्त भेलाले गाउँपालिकासँगको साझेदारीमा यसै वर्ष गाउँमा १ घर १ धारा पनि सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि चन्द्रकान्त पौडेलको संयोजकत्वमा सुरज पौडेल, तिलप्रसाद पौडेल, कुष्मराज पौडेल र बलराम पौडेल सदस्य रहने गरी समिति गठन गरेको छ । त्यस्तै गाउँका पितृहरुको स्मृति तथा उद्घारका लागि क्रियाकर्म स्थल बनाउन डिल्लीराम पौडेल (दिलीप) को संयोजकत्वमा निर्माण समिति पनि गठन भएको छ । जसको सचिवमा सुरज पौडेल र कोषाध्यक्षमा रमा पौडेल छन् । चन्द्रकान्त पौडेल, इन्द्रप्रसाद अधिकारी, मीना अधिकारी र हरिप्रसाद पौडेल (ठूलो) लाई सदस्यको जिम्मेवारी दिइएको छ । उक्त भेलाले २०७८ लाई मराउँचे विकास वर्षका रुपमा स्थापित गर्ने निर्णय पनि गरेको छ ।
कार्यक्रममा टोलका अध्यक्ष कृष्णप्रसाद अधिकारी, बाटो निर्माण समितिका कोषाध्यक्ष भोलनाथ पौडेल, स्थानीयहरु चन्द्रकान्त पौडेल, सुरज पौडेल, कमलराज पौडेल, डिल्लीराम पौडेल (दिलीप), पार्वती पौडेल, बलराम पौडेललगायतले गाउँ विकासबारे धारणा राखेका थिए ।
उनीहरुले गाउँपालिका तथा प्रदेश सरकारको मापदण्डमा रहेर (सामग्रीको दररेट थोरै हुँदा) बजेट कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको समेत औंल्याए । निर्माण गर्दा सम्बन्धित इन्जिनियर नआउने तर पछि सोही इन्जिनियरले कामको मूल्यांकन कम गर्ने गरेकोमा उनीहरुको गुनासो छ । कतिपय अवस्थामा उपभोक्ता समितिले प्राविधिक स्टिमेट नबुझ्दा पनि विकास निर्माणमा समस्या हुने गरेको उनीहरुको अनुभव छ ।
कार्यक्रमबीच सडकअन्तर्गत अघिल्लो आव को आय व्यय विवरण पनि सार्वजनिक गरिएको छ । जसअनुसार कुल ७३ हजार ३ सय ९७ बैंक मौज्दात छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads