महानगरको आइसोलेसनले बिरामी पाउनै छाड्यो

धनबहादुर गुरुङ
भाद्र २४, २०७८
Pokhara Isolation Unit Photo

पोखरा । कोरोनाको फरक फरक खालको भेरियन्ट देखिन थालेसँगै स्वास्थ्य क्षेत्र चनाखो हुन थाल्यो । पोखरा महानगर पनि महानगरवासीको स्वास्थ्य तलमाथि नहोस् भनेर तयारीमा जुट्यो । पहिलो भेरियन्टको कोरोना महामारीबीचमा महानगरले पोखरा ५ मालेपाटन र पोखरा ३३ भरतपोखरीमा आइसोलेसन बनाएको थियो । ती आइसोलेसनमा अक्सिजनको सुविधा थिएन् । दोस्रो भेरियन्टका संक्रमित धेरैजसोलाई अक्सिजन आवश्यक परेका कारण दोस्रो भेरियन्टका संक्रमितहरु महानगरको आइसोलेसनमा बस्न मन गरेनन् ।
अक्सिजन बिनाको आइसोलेसनमा संक्रमित बस्न नखोजेपछि महानगरपालिकाले १ सय बेडको कोरोना युनिट निर्माण ग¥यो । पोखरा २७ मा रहेको साविकको लेखनाथ नगरपालिकाको कार्यालयलमा पोखरा महानगरले अक्सिजनसहितको कोरोना युनिट निर्माण गरेको थियो । शिशुवा अस्पतालको मातहत रहने गरी छोटो समयमा बनेको कोरोना युनिटमा जेठको २७ गतेदेखि बिरामी भर्ना लिन सुरु भएको थियो । अस्तालमा खान बस्नदेखि उपचार र औषधी पनि निशुल्क गरिएको थियो । सुरुमा ५५ बेडबाट सुरु गरेर आवश्यक परेको खण्डमा १ सय बेड नै सञ्चालन गर्ने योजना भए पनि कहिल्यै ५५ बेड भरिएनन् । बिरामी नै नभएर बेड खाली हुनु त सकारात्मक नै हो ।
तर अस्पताल सञ्चालनताका नै कोरोनाको दोस्रो भेरियन्टका बिरामीले बेड नपाउने समस्या थियो । त्यो समयमा पनि कहिल्यै बेड भरिएनन् र अरु बेडको प्रबन्ध पनि गर्नुपरेन । अक्सिजनको प्रबन्ध गर्दा पनि महानगरको कोरोना आइसोलेसनलाई बिरामी र आफन्तले पत्याएनन् । अरु अस्पतालमा बेड नपाउँदा पनि सबै निशुल्क गरिएको आइसोलेसनले बिरामी पाउन सकेन । संक्रमणदर उच्च हुँदा पनि दैनिक २७ भन्दा बढी बिरामी भर्ना भएर नबसेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा कोइरालाले बताइन् । गएको असार मसान्तसम्मको रिपोर्टअनुसार ८६ जनाले सेवा लिएका छन् । तीमध्ये ५० जना भर्ना भएरै बसेका हुन् भने बाँकी ३६ जना आएर चेक गरेर गएको कोइरालाले जानकारी दिइन् । पछिल्ला दिनमा संक्रमण घटेका कारण दैनिक २/३ जनामात्र भर्ना हुने गरेको उनी सुनाउँछिन् । ‘पहिला एकै दिनमा २७ जनासम्म भर्ना भएका थिए,’ उनले भनिन्, ‘आजभोलि संक्रमित नै कम भएका छन्, अरु अस्पतालमा कम भएको बेलामा हाम्रोमा कम भएकै हो ।’
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल आइसियु नभएको कारण बिरामीको संख्या कम भएको बताउँछन् । ‘हामीले त्यहाँ आइसियु राखेनौं किनभने अहिले भएको जनशक्तिले व्यवस्थापन गर्न सक्दैनौं,’ उनले भने, ‘त्यसैले जसलाई ट्रिटमेन्ट चाहिने अक्सिजन आवश्यक भएको तर आइसियु आवश्यक नभएको १ सय ८० जतिलाई इन्डोर सेवा दियौं ।’ संक्रमित बढेको समयमा दैनिक २७ भए पनि आजभोलि कम नै बिरामी भर्ना हुने गरेको उनले बताए ।
छोटो समयमा अक्सिजन पाइपलाइनको व्यवस्था गरेर खोलिएको युनिटमा एचडियु र आइसियु नभएका कारण बिरामी नआएको हुनसक्ने अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट कोइरालाले जानकारी दिइन् । पछिल्लोे समय संक्रमणदर कम भएका कारण पनि अस्पतालमा संक्रमित नभएको उनी बताउँछिन् । ‘यो भनेको माइनर केसमात्र राख्ने ठाउँ हो, एचडियु आइसियु हामीले रेफर गर्न प¥यो,’ उनले भनिन्, ‘आजभोलि अरु अस्पतालमा एचडियु आइसियुमात्र प्याक, जनरल बेड खाली छ भन्ने सुनेको छु, कारण त्यो पनि हो ।’
अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि महानगरले २५ लाख रुपैयाँमा बोलपत्र नै आह्वान गरेर युनिट तयार गरेको हो । भवनबाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र आह्वान गरेको थियो । आइसोलेसन युनिटमा अन्य संघ, संस्थाको पनि सहयोग रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width