विद्यालय कतै खुले, कतै खुलेनन्

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७८
school-3

दमौली  । गत आइतबारदेखि जिल्लाका कतिपय स्थानीय तहले भौतिकरुपमै पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा ल्याउँदा कतै भने अझै अन्यौल कायमै छ ।
कोरोना संक्रमण कारण वैशाख दोस्रो सातादेखि बन्द भएका विद्यालयले भर्चुअल विधिबाट पढाउँदै आएका थिए । बन्दीपुर गाउँपालिका भौतिकरुपमै कक्षा सञ्चालनको तयारी गरे पनि कहिलेबाट सञ्चालनमा ल्याउने भन्नेबारेमा अझै निर्णय गरेका छैनन् । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले सूचना निकालेर गत सातादेखि नै भौतिकरुपमा कक्षा सञ्चालन गर्न थालेका छन् ।
व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले भने, ‘गत सातादेखि नै स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर धेरै विद्यार्थी संख्या रहेका विद्यालयलाई २/३ सिफ्टमा कक्षा सञ्चालनको स्वीकृति दिइएको छ ।’
कक्षा सञ्चालनका विषयमा विद्यालय, विद्यालय व्यवस्थापन समितिलाई नै बढी जिम्मेवारी दिइएको उनले बताए । बन्दीपुर गाउँपालिका क्षेत्रभित्र रहेका विद्यालय भौतिकरुपमै कक्षा सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णयअनुसार नै अघि बढ्ने गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् ।
उनले जनस्वास्थ्य विज्ञहरुले तेस्रो भेरियन्टमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपण गरिरहेको हुँदा हचुवा भरमा विद्यालय खोल्न नसकिने बताइन् । शुक्लागण्डकी नगरपालिकाले भने राजमार्गको आसपासका ५ विद्यालय बाहेक अन्य विद्यालय खोल्न अनुमति दिएको छ । ग्रामीण भेगका विद्यालयमा एउटा बेञ्चमा २ विद्यार्थी राखेर सिफ्ट आधारमा कक्षा सञ्चालन अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width