देवचुलीका माहुरी बाजेको कथाः पाडा बेचेर मौरी, करोडको सम्पत्ति

रामकुमार श्रेष्ठ
भाद्र १३, २०७८
bee news nabalpurs

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ विशालटार निवासी ६७ वर्षीय हेमबहादुर रावलले व्यावसायिक मौरी पालन गरेको २ दशक नाघिसक्यो । जति बेला नवलपुरमा निक्कै काम मात्रामा व्यावसायिक मौरीपालन गरिन्थ्यो । त्यतिबेला नै उनले व्यावसायिक मौरी पालन सुरु गरेका हुन् ।
प्रगतिनगरमा उनीसँगै अन्य ४/५ जना किसानले पनि व्यावसायिक मौरी पालन सुरु गरेका थिए । २०५६ सालमा मौरी पालनसम्बन्धी सामान्य तालिम पाएपछि उनी मौरी पालनतर्फ आकर्षित भएका थिए ।
हेमबहादुर रावल उति बेलाको घटना सम्झदै भन्छन्, ‘मैले उतिबेला २५ सयमा पाडा बेचेर मौरीमा लगानी गरेको हो । केही अनुदान प्राप्त भएको थियो केही आफैंले लगानी गर्नुपर्ने थियो । घार, मौरी, रानी किन्न निक्कै महँगो पर्थे । सुरुमा एउटा घार किनेर सुरु गरेको हो । अहिले आफ्नै मह प्रशोधन केन्द्र पनि छ । एक घारबाट सुरु गरेको उनको मौरी पालन व्यवसाय अहिले १ सय ५० घारको हाराहारीमा छ कुनै बेला उनले झण्डै २ सय घारसम्म मौरी पुर्‍याए ।
उनले मौरी पालेर मह बेचेर आएको पैसालाई थोरै थोरै बचत गरे, बिस्तारै थोरै थोरै जग्गा किने त्यही जग्गा बेचेर अहिले पक्की घर पनि ठडाएका छन् । उनले मौरी पालनबाट कति आम्दानी गरे कुनै लेखाजोखा त छैन तर उनले नाम र दाम दुवै कमाएका छन् । मौरी बाजे उपनामले पनि चिनिने हेमबहादुर रावलले मौरीपालन गरेर मह, मौरी, रानी र मौरी घार बेचेरै १ करोड बढी सम्पत्ति जोडेका छन् । उनी भन्छन्, ‘खर्चको त लेखाजोखा नै छैन, केही जग्गा जोडेको छु । राम्रो घर बनाएको छु । दुःख पर्दा सरसापट पत्याउने भएको छु अरुलाई गाह्रो पर्दा पनि सहयोग गर्न सक्ने भएको छु ।’ रावलकै उदारहण लिने हो भने पनि मौरीपालन गरेर सजिलै जीवन धान्न सकिन्छ भन्ने प्रमाण हो यो ।
अहिले देवचुली नगरपालिकामा ४२ जना बढी व्यावसायिक मौरीपालक किसान छन् । रावल र उनी जस्तै ४/५ जना मौरीपालक किसानले गरेको उति बेलाको लगनले अहिले देवचुली नगरपालिकाभित्रको साविक प्रगतिनगर गाविस मौरी पालनको लागि पकेट क्षेत्रकै रुपमा चिनिएको छ ।

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कँडेल भन्छन् – हामी देवचुलीलाई मौरी पालन पकेट क्षेत्रमा रुपमा पहिचान गर्न सफल भएका छौं ।

दोस्रो पुस्ता पनि माहुरी पालनमा आकर्षित

नवलपुरमा मौरी पालनबाट राम्रै आन्दानी गर्ने किसानहरु बढ्दै गएपछि दोस्रो पुस्ता पनि यस व्यावसायिक मौरी पालनतर्फ आकर्षित भएका छन् । हेमबहादुर रावलका छोरा राजेन्द्र रावल पनि अहिले आफ्नै बुवाले अँगालेको पेसामा बुबालाई साथ दिन तल्लीन छन् । उनी भन्छन्, ‘यसबाट राम्रै आम्दानी हुने र बुबासँग सानैमा पछि पछि लाग्दै गर्दा यही जाने अहिले यही नै गरेको छ । रावल बाबु छोराले रावल मौरी फर्म दर्ता गरेर अनुदानसमेत लिएका छन् । उनीहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले मह प्रशोधनका लागि अनुदान दिएर मह प्रशोधन केन्द्रसमेत खोलिदिएको छ ।
नेपाल मौरीपालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कँडेल पनि बुवा नन्दलाल कँडेलकै सिको गरेर व्यावसायिक मौरीपालनमा लागेका हुन् । उनी अहिले देवचुली नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्न लागि परेको छन् ।
देवचुलीका हेमबहादुर रावल, लक्ष्मीप्रसाद रेग्मी, सुकबहादुर गुरुङ, डिलमणि चौधरीलगायतले सुरु गरेको व्यावसायिक मौरीपालनमा यहाँका युवा पुस्ता पनि बिस्तारै आकर्षित भएको यदु कँडेलले बताए ।

देवचुलीमा वार्षिक १० टन

१ हजार बढी घार माहुरी रहेको देचवुली नगरपालिकामा मात्रै वार्षिक १० टन मह उत्पादन हुने गर्दछ भने नवलपुर जिल्लामा वार्षिक ३० टन मह उत्पादन हुने गरेको नेपाल मौरीपालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कँडेलले बताए ।
जिल्लामा उत्पादित मह स्थानीय बजारका साथै नारायणगढ, बुटवल, काठमाडौं, पोखरा पनि निर्यात हुने गर्दछ । पछिल्लो समय कोरोनाको संक्रमणको बेला संक्रमितहरुले मह स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने भए पनि महको खपत स्थानीय बजारमै धान्न गाह्रो भएको उनले बताए । नवलपुरमा अहिले माहुरीको मह १ केजीको ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width