राक्षस

अल्पविराम
भाद्र १२, २०७८
Demon

हिजोआज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसानपछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।
ऊ जब मसँग सुत्न आउँछ त्यसपछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनुपर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे । उसलाई कथा सुनाउँदा सुनाउँदा एउटा सिंगो दन्त्य कथाको पुस्तक सकिइसकेको छ । आज मसँग नातिलाई सुनाउने नयाँ कथा छैन ।
‘आमा ! कथा भन्नु न !’ ऊ भने मलाई कथा भन्न कर गरिरहेको छ ।
‘मसँग आज नयाँ कथा छैन, बाबु ’ आज ज्ञानी भएर थुपुक्क सुत है मेरो राजा,’ म भन्छु तर ऊ भने ठ्याम्मै मानेकै छैन ।
ूआमा ! आमा ! ड्याडी मम्मी र आमाले भनेको नमान्ने अटेरी जिद्दी बच्चालाई समातेर खाने त्यो छ नि डरलाग्दो राक्षस, हो … त्यो कहाँ बस्छ नि ? त्यसलाई पुलिसले पक्रन सक्दैन ?’
‘सक्दैन बाबु’ सक्दैन ।
‘किन आमा ?’
नातिको जिज्ञासालाई शान्त पार्न खोज्दै मैले भनेँ, ‘किनभने बाबु, त्यो राक्षस आजभोलि मान्छेजस्तै भएर महलमा बस्न थालेको छ । आजभोलि मान्छे र राक्षस छुट्याउन गाह्रो छ ।’
‘अँ… आमा पनि के के भन्नुहुन्छ के के । हिजोको अस्तिको कथामा राक्षसहरू महेन्द्र गुफा, गुप्तेश्वर, चमेरे गुफा र अनि कुमारी गुफाजस्तो ओडारमा बस्छ भन्नुभएको हैन ?’
‘हो बाबु ! तिमीले भनेको पनि सत्य हो । पहिला पहिला सत्य युगका राक्षसहरू जंगल, गुफा र ओडारमै बस्थे तर आजभोलि कलियुग लागेपछि ती राक्षस मान्छेहरू जस्तै भएर सहर बजारमा बस्न थालेका छन् ।’
पुलिसभन्दा पनि राक्षस बलिया हुन्छन् र आमा ! पुलिसको लठ्ठी र बन्दुकले पनि केही गर्न सक्दैन ?
‘सक्दैन बाबु !’ सक्दैन ।
‘किन आमा ?’
‘किनभने राक्षसहरू नै मान्छे जस्तै ठूलाठूला ओहोदामा पुग्न सफल भएका छन् । ठूला ठूला राक्षसको एक कल फोन आयो भने पुलिस त्यसै डराउँछन् । पुलिसको लाठी र बन्दुक त साधारण मान्छे र अटेरी जिद्दी बच्चाहरूलाई तर्साउनको लागि मात्र हो ।’
‘अनि त्यसो भए त्यो राक्षसले मान्छे र बच्चा खान छोड्यो त आमा ?’ ‘अँ बाबु ! त्यो राक्षसले मान्छे खान छोडेर मान्छेको आँसु, पसिना र रगतको आहालमा नुहाउन पौडन मन पराउन थालेको छ । भ्रष्टाचारको कलात्मक पलंगमा आराम गर्छ । जिंग्रिंग ठडिएको कपाल र फुस्रो कालो रुप, दाह्रा निस्किएको नांगो शरीर, राता राता आँखा देख्दै डर लाग्दो पहिला पहिलाका राक्षसहरू आजभोलि टाई सुट लगाएका सुकिला मुकिलामा परिवर्तन भएका छन् । प्राडो, पजेरो र बलेरोमा सयर गर्न थालेका छन् ।’
‘अनि त्यसो भए के गर्ने त आमा ? त्यो राक्षसलाई कहिल्यै मार्न नसकिने भयो त ?’
‘सकिन्छ बाबु ! सकिन्छ, किन नसकिनु ? दह्रो इच्छा शक्ति र त्यागी इमान्दार नेल्सन मण्डेला र महात्मा गान्धी जस्ता थुप्रै मान्छेहरू जन्म्यो भने ती राक्षसहरू स्वतः आफैं मर्छन् ।’
उसको जिज्ञासाको उत्तर नातिले पूरा सुन्यो कि सुनेन कुन्नि ऊ त हजुरआमाको ममताको न्यानो अँगालोमा बेरिएर फ्वाँ फ्वाँ निदाउन थाक्यो । मेरो कुरा त्यसले कति बुझ्यो कति बुझेन म भन्न सक्दिनँ । मेरो नाति भोलि ठूलो भएपछि ती राक्षसहरूलाई तह लगाउने हुन्छ कि अथवा ढुंगा मुढा चक्काजामको संस्कृति मौलाएको र दिनहुँ पद्धतिको मलामी जाने तथा विधिको लक्ष्मण रेखा नाघ्ने दुश्साहसी राक्षसहरूको भिडमा मेरो नाति पनि राक्षस बन्ने हो, भन्न सकिन्नँ । दन्त्य कथाको राजकुमारजस्तै २÷४ जना युवाहरू नदेखिएको होइन तर राक्षसी भीडमा किंकर्तव्य विमुढ़ बनिरहेका छन् । भोलि मेरो नातिको लागि कुन कथा सुनाउने होला यस्तै यस्तै सोंचाइ मनमा खेलाउँदा खेलाउँदै म पनि भुसुक्कै निदाइ छु ।

Related News

सम्बन्धित समाचार

  • समता काव्य सन्ध्याको ३६७ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६७ औं शृंखला पोखरामा…
  • फल इन लभ नै किन ?

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पाेखरा । सारा संसार प्रेमको कुरा गर्छ । प्रेम चाहन्छ । प्रेममा रमाउँछ । सबैभन्दा आनन्द प्रेममा छ । ‘म…
  • खगेन्द्रले ल्याए ‘दोष कसको ?

    आदर्श समाज सम्वाददाता माघ ९, २०७९
    पोखरा । खगेन्द्रराज घिमिरेद्वारा लिखित कथा संग्रह ‘दोष कसको ?’ को आइतबार पोखरामा विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकमाथि टिप्पणी…
  • घरबेटीकी छोरी

    सुरेश बडाल फागुन २२, २०७७
    बिजुलीभन्दा तेज गतिमा निकाली डंगुरबाट सानो लुगाको टुक्रा । अनि खितिति हाँस्दै निस्किई मेरो कोठाबाट । ऊ गई मेरो मनमा…
  • सुरेश बडालको ‘रहर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
    काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक…

hero news full width