लोमान्थाङ र गोरखा दरबार : सम्पदा सूचीमा राख्न पुन प्रस्ताव

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७८
Lomanthang-gorkha

पोखरा । नेपालले सन् १९९६ मा गोरखा दरबारसहितका सांस्कृतिक क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न युनेस्को समक्ष प्रस्ताव गरेको थियो । त्यसबेला मुस्ताङस्थित मुक्तिनाथ उपत्यकाको गुफा र बास्तुकलालाई पनि सिफारिस गरिएको हो । १२ वर्षपछि सन् २००८ मा मुस्ताङकै लोमान्थाङ दरबार क्षेत्रलाई सूचीमा सूचीकृत गर्न प्रस्ताव गरियो । युनेस्कोले केही पटक ३ वटै क्षेत्रको अध्ययन पनि गर्‍यो । तर अहिलेसम्म सूचीकृत भएको छैन ।
तत्कालीन समयका प्रमुख दरबार विश्वसम्पदा सूचीमा राख्न पुनः छलफल सुरु भएको छ । ऐतिहासिक गोरखा दरबार र लोमान्थाङ दरबार क्षेत्र सम्पदा सूचीमा राख्न गण्डकी प्रदेश सरकारले छलफलमा ल्याएको हो । यसबाहेक तनहुँसुर दरबार क्षेत्र र कालीगण्डकी प्रशवण क्षेत्रलाई समेत सूचीमा समावेश गराउन आवश्यक पूर्वतयारी गर्ने निर्णय गरेको हो । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित सम्पदाबारे विषयले प्रवेश पाएको थियो ।
समितिले जग्गा प्राप्ति समयमा नहुँदा प्रदेश गौरवका योजना अलपत्र परेको निष्कर्ष निकालेको छ । खासगरी अस्पतालका भवन, प्रदेश सरकारका प्रशासनिक भवन, गण्डकी विश्वविद्यालयसहित विभिन्न कार्यालयका भवनसहित प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको काम जग्गा प्राप्त नहुँदा रोकिएको छ । ‘जग्गा प्राप्तिको समस्याका कारण प्रदेश गौरव लगायतका प्रदेशका प्राथमिकता प्राप्त र रुपान्तरणकारी आयोजना सञ्चालनमा आउन नसकेको हुँदा उक्त समस्या यथाशीघ्र समाधानका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो,’ समितिको निर्णयमा उल्लेख छ ।
यस्तै, संघीय निजामती ऐन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ । यसपछि हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने गरी १० वटा बुँदा तयार गरिएको छ । प्रदेश र स्थानीय तहले समाधान गर्ने समस्याहरु २२ वटा निक्र्यौल गरिएको छ । यसअघि निर्णय भएर पनि कार्यान्वयनमा नआएका केही काममा समितिले ध्यानाकर्षण गराएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width