गाईजात्राः मौलिक पर्व

के.वी. मसाल
भाद्र ८, २०७८
Gaijatra

नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाड पर्व र संस्कृतिमा रमाउन थालेका छन । नेपालीहरुको धर्म संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य सांस्कृतिक उत्सवहरुमा पर्यटकहरु रमाउँछन् ।
गाईजात्रा नेवार जातिको मौलिक पर्व हो । तर आजभोलि गाईजात्रामात्र नभएर अन्य जात्रा र पर्वहरु पनि पर्यटनका लागि अध्ययन, अनुसन्धान र रोमाञ्चको विषय हुने गरेको छ । गाईजात्राको सुरुआत उपत्यकाका राजा प्रताप मल्लको पालाबाट सुरुआत भएको हो । विक्रम संवत् १६४१ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगका कारण विक्षिप्त बनेकी थिइन् । रानी छोरा बितेको लामो समय हुँदा पनि पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गर्थिन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैंयन्पल्ट बुझाउन खोजे तर रानीका आँखा ओभानो भएन । राजाले एउटा जुक्ति निकाले । राजा प्रताप मल्लले छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरे ।
सुरुमा गाईजात्रा अहिलेको काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्नाजस्ता छोरा, आमा, बुबालगायत अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । गाईजात्रा नेवार जातिको धर्म संस्कृति र घटना जोडिएको छ । लाखेजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रा, इन्द्रजात्रालगायत उपत्यकामा अहिले पनि धेरै जात्राहरु हुने गर्दछन् । उपत्यकाबाहिर पनि धेरै जात्रा अर्थात् मेलाहरुको सुरुआत भुरेटाकुरे राजाहरुको पालाबाट सुरुआत भएको पाइन्छ ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरुलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एन्ड सनमार्फत् नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक भित्रिन सुरु भएको हो ।
हवाई यातायातको सुविधाले गर्दा अहिले पर्यटकहरु लन्डनमा ब्रेकफास्ट खाएर न्युयोर्कमा खाना खान भ्याउँछ । अर्को दिनमा भ्रमणकै लागि नेपाल आउन सक्छ । नेपालमा पर्यटकहरु बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, सांस्कृतिक रीतिरिवाज, चालचलन, भेषभूषाजस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले पर्यटकहरु आउने गरेका छन् । नेपाल प्राकृतिक र संस्कृतिले धनी छ । नेपाल प्राकृतिक रुपले मात्र होइन, मानव निर्मित सम्पदाबाट पनि धनी छ । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू आदि धार्मिक सम्पदा पर्यटनका क्षेत्र हुन् । त्यतिमात्र कहाँ हो र, विश्व सम्पदा सूचीमा नपरेका धेरै पर्यटकीय स्थलहरु छन् । जसलाई हामीले बाह्य पर्यटकहरुलाई चिनाउन सकेका छैनौं ।
पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रुचिपूर्वक अवलोकन गर्ने गरेका छन् । विशेष गरी काठमाडौंमा पशुपति आर्यघाटमा खुला रुपमा शव जलाएको दृष्य उनीहरुलाई अनौठो लाग्छ । त्यसैगरी मनाङ मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरुलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा पर्यटकहरु अचम्म हुन्छन् । ती क्षेत्रमा तिब्बती मुलका मानिसहरुले लामाको जोखानअनुसार केही मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने संस्कार रहेको छ । नेपालमा आउने पर्यटकहरु नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या धेरै रहेको छ । पर्यटकहरुले नेपालीले मनाउने हरेक चाडबाडलाई विशेष चासोका साथ हेर्ने गर्दछन् । हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु नेपाल आउने पनि गर्दछन् । दसैंका लागि प्याकेज बनाएर पर्यटकहरु नेपाल आउन थालेका छन् । पर्यटकहरु दुर्गा पूजा, नवमी र दशमीमा हुने पूजामा रमाइलो मानेर हेर्दछन् । कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहारमा देउसी, भैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरु हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदी बहिनी बनाएका छन् ।
फागुको रंगमा रमाउने, पन्ध्र आषाढको दिन किसानहरुसँग खेतमा गएर हिलो खेल्ने पर्यटकहरुको संख्या पनि कमी छैन । हामीले मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरुका लागि आकर्षण हुन थालेका छन् । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा, बिस्केटजात्रा, घोडेजात्रा, गाईजात्रा र लाखे नाचमा समेत पर्यटकहरु रमाउँछन् । नेपालमा मौलिक चाडपर्वहरु वर्षैभरि मनाइन्छन् । विदेशी पर्यटकहरुका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विदेशी पर्यटकको यही चासो र रुचिलाई ध्यानमा राखेर केही पर्यटन व्यवसायीले चाडपर्वको समयमा प्याकेज बनाएर पर्यटकहरु भिœयाउन थालेका छन् । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्नपर्दछ । तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । तीजको अवसरमा नेपाली पोसाक लगाएर महिला पर्यटकहरु नाचगान गर्न रुचाउँछन् । नेपाली महिलाले तीजमा गरगहना र रातो साडीमा नाचगान गर्दा महिला पर्यटकहरुले पनि त्यही अनुकरण गर्ने गरेको पाइन्छ । नेपाल घुमघाम गर्न आएका महिला पर्यटकहरुले पनि तीज पर्वमा सारी चोलो लगाएर मन्दिर पुग्ने गर्दछन् ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकाबाहेक नेवार समुदायको बसोबास रहेका बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरामा, पर्वत, बागलुङ, पाल्पा, प्युठान, सल्यान, दाङ, सुर्खेत र डोटीसम्म मनाउने गरिन्छ । यीबाहेक विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायहरुले पनि यो जात्रा मनाउने गर्दछन् । तर स्थानीय परिवेश अनुसारका गाईजात्रा फरक शैलीले प्रस्तुति हुँदै आएका छन् । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना, काठमाडौंको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरु विशेष दर्शनीय मानिन्छन् । गाईजात्रा पछिल्लो समय नेपालीहरुलाई मात्र होइन, बाह्य पर्यटकहरुका लागि पनि आकर्षक जात्राको रुपमा हुने गरेको छ ।
नेवारी भाषामा गाईजात्रालाई सापारु भनिन्छ । सपारु अर्थात् गाईजात्रा भनेर मनाउने यस पर्व नेवारहरुको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवंगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने विश्वास गरिन्छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रही आएको छ ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई सांकेतिक रुपमा व्याख्या गर्ने सुरुआत गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरुलाई समाजमा कलात्मक ढगंले चिरफार गर्ने चाड पनि हो । जुन समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यंग्यात्मक ढंगले जनताहरुले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुआत गरिएको यो व्यंग्यको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यंग्यप्रति रिसिबि र इख राख्न पाइँदैन ।
गाईजात्राको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाईजस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुकुण्डो र रंंगीचंगी पोसाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लैखाले ध्वजापताकाहरु तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्रामा हास्यकलाकारहरु आआफ्ना प्रहसन, व्यंग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चियापसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौंलगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र जमघट रहन्छ ।
नेवारहरुको मूलथलो काठमाडौं उपत्यका हो । नेवार कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होइन । नेवार एउटा भाषिक समुदाय हो । नेवारभित्र कयौं मूलजातिहरु छन् । नेवारभित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरु छन् । शैव, शात्र्र, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि रहेका छन् । नेवारभित्र ४ जात ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र यसभित्र थुप्रै उप–जातहरु रहेका छन् । जसअनुसार ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला रहेका छन् । यसैगरी नेवारभित्र मूलतः ३ नस्ल आर्य, द्रविड, मंगोल रहेका छन् । नेपालभाषा नेवारहरुको मातृभाषा हो । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपाल भाषालाई हाल आएर नेवारहरुले नेवाः भाय भन्छन भने नेपालीमा नेवारी भन्ने गरिन्छ । नेपाल भाषाको आफ्नै लिपि पनि छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको अनुमान छ ।
उपत्यकाबाट नेपालको पश्चिम क्षेत्रमा पुगेर बसोवास गर्ने नेवारहरुको मुलथलो भक्तपुर हो । व्यापारको सिलसिलाममा काठमाडौं उपत्यकाबाट नुवाकोटको त्रिशूली, गोरखा, तनहूँको बन्दीपुर, पोखरा बागलुङ, प्युठान, दाङ, सल्यान हुँदै भक्तपुरे नेवारको वंश डोटीसम्म पुगेको पाइन्छ । तर धेरै ठाउँमाका नेवार जातिहरुले आफ्नो मातृभाषा भने भुलेका छन् । तर पनि उनीहरुको सांस्कृतिक चाडपर्व, जात्रालाई भने मान्दै आएको पाइन्छ । नेवार समुदाय सांस्कृतिक रुपले निकै सम्पन्न जाति मानिन्छ । नेवार समुदायमा पेसाका आधारमा थरहरु छुट्याइएका छन् । व्यापार तथा व्यवसायलाई सधैंभरि आफ्नो पेसा अँगाल्दै आएकालाई तुलाधर, बनिया, तामाको काम गर्नेलाई ताम्राकार, काँस धातुको काम गर्नेलाई कंसाकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, अवा, माटाका साधन भाँडाकुँडाहरु बनाउनेलाई कुमाले, प्रजापति, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकर्मी, राजकर्णिकार, फूलबारीमा काम गर्नेलाई माली, मालाकार भनिन्छ ।
त्यसैगरी खेतीपातीको काम गर्नेलाई ज्यापु, महर्जन, डंगोल, सुवाल, तण्डुकार, बलामी, तोरीको तेल पेल्ने अर्थात् तेलहनका व्यवसाय गर्नेलाई सायमी वा मानन्धर, फलामजन्य कार्य गर्नेलाई नकर्मी र कौले, कपाल अथवा केश काट्नेलाई नापित, चित्र लेख्ने र कोठा रंग्याउनेलाई पुँवा, चित्रकार, लुगामा रङ लगाउनेलाई छिपा वा रंजितकार, पालकी बोक्नेलाई दली, पतवार, बाजा बजाउने र लुगा सिउनेलाई कपाली, कुस्ले, जोगी, मासुका कारोबार गर्नेलाई खड्गी, शाही, कसाईं, छालासम्बन्धी काम गर्नेलाई कुलु, सर–सफाई गर्नेलाई सुवर्णकार, पोडे, च्यामे, द्योला, हालाहुलु, बौद्ध पुरोहितलाई गुभाजु, बज्राचार्य, सुन चाँदीका गहना बनाउनेलाई बन्देजु, बरेजु वा शाक्य, हिन्दु वैदिक ब्राह्मणलाई राजोपाध्याय, ब्राह्मण, ढेवाजु, हिन्दु तान्त्रिक पूजारीलाई कर्माचार्य, आचाजु, हिन्दु मन्दिर पुजारीलाई तिर्हुतबाजे, ज्योतिषी गर्नेलाई जोशी, सरकारी र प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, कायस्थ, वैद्य, श्रेष्ठ भन्ने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width