तनहुँमा सोलारबाट विद्युत् उत्पादन

रासस
भाद्र ८, २०७८
Solar

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उहाँले भन्नुभयो, “अहिले काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।”

उहाँका अनुसार अहिले दैनिक ४० बढी कामदारले आयोजनाको काम गरिरहेका छन् । “६० प्रतिशत सोलार पाता हालिसकिएको छ, भदौ १५ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो ।

आयोजनामा १३ हजार ४९४ वटा सौर्य प्यानल जडान हुनेछन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गामा काम गरिरहेको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न रु ६० करोड अनुमान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता ९पिपिए० हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सबस्टेशनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सबस्टेशनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत् उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७।३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

भदौ १५ सम्म अहिलेकै लकडाउन निरन्तरता

तनहुँमा भदौ १५ गतेसम्म अहिलेकै लकडाउनले निरन्तरता पाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सोमबार राति १२ बजेदेखि अन्त्य भएको निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अगाडि बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ ।

सार्वजनिक तथा निजी सवारी साधनलाई जोर–बिजोर लागू गरिएको छ । जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछ । जिल्लामा बिहान ६ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ ।

प्रशासन कार्यालयले अब जिल्लामा स्मार्ट लकडाउनको तयारी गरेको छ । स्थानीय तहमा कोभिड सङ्क्रमणको जोखिमलाई हेरेर स्थानीय तहको सिफारिसबमोजिम स्मार्ट लकडाउन गरिने बरालले बताउनुभयो । “अहिले सबै ठाउँबाट तथ्याङ्क नआएकाले साविककै लकडाउनलाई निरन्तरता दिइएको छ, बीचमा स्थानीय तहले सिफारिस गरे सोहीअनुसार निर्णय हुन्छ”, बरालले भन्नुभयो ।

सरकारले गत साउन १५ गते जारी गरेर भदौ १ गतेदेखि लागू हुने गरी स्मार्ट लकडाउन कार्यविधि लागू गरेको छ । सङ्क्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।

सङ्क्रमितको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेँलो सङ्केतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात् मिनीमल लकडाउनको नियम ल्याइएको छ । तनहुँमा सोमबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३३३ रहेको छ । गत वैशाखयता तनहुँका चार हजार ९०५ जनामा सङ्क्रमण भएको छ भने चार हजार ४६६ जना निको भएका छन् । त्यस्तै १०६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width